– हेमन्त पौडेल
धनगढी, १२ फागुन । राप्रपा नेपाल कैलालीका कार्यकताले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा बिहीवार कैलालीमा आयोजना हुन लागेको धार्मिक सभामा भाग लिन आउन लागेको कार्यक्रमको तयारीका लागि भन्दै राप्रपा नेपाल कैलालीका सचिव छत्र शाही र नगर अध्यक्ष रोम स्वारले अत्तरिया नगरपालिकाको बा १ झ २२९ नम्बरको गाडी मंगलवारदेखि प्रयोग गर्दै आएका छन् । विभिन्न बैठक र भेटघाटमा जानेक्रममा उक्त गाडीको प्रयोग भएको छ ।
विशुद्ध धार्मिक कार्यक्रममा आउन लागेका राप्रपा नेपालका अध्यक्ष थापाका नाममा गाडी लिएर प्रयोगको विषयलाई स्थानीयले आपत्ति जनाएपनि स्थानीय प्रशासन मुकदर्शक भएको छ । अघिपछि निकै प्रशासकको भूमिका निर्वाह गरेको दावी गर्ने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इंले राजनीतिक पार्टीका कार्यकर्ताले सरकारी गाडी प्रयोगको विषयमा निरिहता देखाएका छन् । सरकारी गाडी दुरुपयोग हुनु नपर्ने तर भइरहेको छ भन्दै चापागार्इं पन्छिन खोजे । सर्वसाधारण जनता र कर्मचारीका अगाडी आपूm निकै कडा प्रशासक भएको रवाफ देखाउने प्रजिअ चापागाईंले बुधवार भने ‘सबैले दुरुपयोग गरेका छन रोक्न सकिएको छैन’ भन्दै निरिहता प्रकट गरे ।
केही दिनअघि धनगढी पुगेका पर्यटन राज्यमन्त्री बलबहादुर महतले गाडी नपाएर ढाई घण्टा एयरपोर्टमा अलपत्र परेका थिए । गाडीका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दा सबै मन्त्रीलाई गाडी दिन नसक्ने जवाफ दिएका प्रजिअ चापागाईंले पार्टीका कार्यकर्ताले खुलेयाम सरकारी गाडीको दुरुयोग गर्दा समेत रोक्ने बारेमा कुनै चासो देखाएनन् ।
कैलालीका स्थानीय विकास अधिकारी केशव बिमलीको निर्देशनमा अत्तरिया नगरपालिकाको गाडी उपलब्ध गराएको नगरपालिकाका निमित्त कार्यालय प्रमुख हिरालाल चौधरीले बताए । राप्रपा नेपालका जिल्ला सचिव र नगर अध्यक्ष शाही र स्वाँर बुधवार धनगढी उपमहानगरपालिकामा बसपार्क सम्बन्धि बैठकमा जाँदा समेत सो गाडीको प्रयोग गरिएको थियो । तर, स्थानीय विकास अधिकारी बिमलीले बिहीवार आउने मन्त्रीका लागि आवश्यक परे गाडी दिन भनेपनि पहिल्यैदेखि प्रयोग गर्न नभनेको बताए ।
यसबारेमा गृहमन्त्रालय शान्तिसुरक्षा शाखाका प्रमुखका अनुसार सरकारी कार्यक्रम बाहेक अन्य कार्यक्रममा पार्टी कार्यकर्ता अथवा अन्य कसैले पनि प्रयोग गर्न नपाईने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गरेर के भएको हो बुझ्ने र दुरुपयोग भएको हो भने तत्काल रोक्न निर्देशन दिने सो शाखाले जनाएको छ ।












प्रतिक्रिया