काठमाडौं, ८ साउन । चपलीस्थित स्नोल्यान्ड रेनग लाइट अफ एजुकेसन स्कुलका प्राचार्य कृष्ण लामासहितका विद्यालय सञ्चालकले कक्षा १० का विद्यार्थीलाई चरमयातना दिएका छन्।
विद्यालयभित्र रहेको प्राचार्य लामाको मोटरसाइकलमा मंगलबार चोर लेखिएको देखेपछि रिसले चुर भएका लामाले कक्षा १० का सबै विद्यार्थीलाई जम्मा पारेर एक हजारपटक उठबस गर्न लगाएका हुन्। लामाले कक्षा १० का विद्यार्थी श्याम तामाङले ‘चोरु लेखेको शंकाका आधारमा उनलाई मंगलबार राति ८:३० बजे छात्रावासबाट निकालिदिएका थिए।
झमझम पानी परिरहेका बेला छात्रावासबाट निकालिएपछि डोल्पा स्थायी घर भएका तामाङ सहयोगका लागि बूढानीलकण्ठ प्रहरी वृत्तमा पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ ।
घटनाबारे थाहा पाएपछि राति नै विद्यालय पुगेका प्रहरीले प्राचार्य लामा र विद्यार्थी निकाल्न सहयोग पु्र्याउने विद्यालयका सञ्चालक सदस्य युवराज राईलाई नभेटेपछि तामाङलाई छात्रावासमै राखेर फर्किएका थिए।
प्रहरीमा खबर गर्न उक्साएको भन्दै प्राचार्य लामालगायतका सञ्चालकले बुधबार दिउँसो कक्षा १० का सबै १८ जना विद्यार्थी र होस्टेल वार्डेन मनी महर्जनलगायतलाई कुटपिट गर्दै उठबस गर्न लगाएका हुन्।
वार्डेन महर्जनले भने, ‘प्राचार्यलगायतले कक्षा १० का विद्यार्थीलाई कुटपिट गर्दै एक हजारपटक उठबस गर्न लगाए। विद्यार्थी उक्साएको आरोप लगाउँदै मलाई पनि हातपात गर्दै कोठाबाट निकाले।’
महर्जनका अनुसार करिब सात सयपटक उठबस गरिसकेपछि विद्यार्थी रन्थनिएर उठ्न नसक्ने अवस्थामा पुगेकाले छोडिदिएका थिए। उनले भने, ‘उठबस गर्दागर्दै नसकेर सुरुमा केटीहरू भुइँमै बस्न थाले। त्यसपछि केटाहरू पनि थाकेपछि सबैलाई एकएक थप्पड हानेर कोठाभित्र लगिएको हो।’















प्रतिक्रिया