काठमाडौं, ८ साउन । पर्यटकीय हिसाबले महत्व बोकेको गोदावरी क्षेत्रमा स्थानिय सहकारी संस्थाले केवलबार निर्माण गर्ने भएको छ । सिद्देश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २ दशमलब ९० किलोमिटरको मोनो केवलकार बनाउन लागेको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव जगन्नाथ घिमिरेले हालैमात्र यसको निर्माणका लागि अनुमति दिइएको जानकारी दिए । ‘जमिनका लागि सम्बन्धित पक्षले बन मन्त्रालयसंग प्रक्रिया पुरा गर्नेछ,’ उनले भने ।
काठमाडौंबाट घुम्न जाने आन्तरिक पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न लागिएको हो । संस्थाका सचिव रवि आचार्यका अनुसार केबलकारको शुरु बिन्दुनेर रहेको बोटानिकल गार्डेनमा मात्र वाषिर्क ३ लाख ६० हजार घुम्न आउँछन् ।
त्यसबाहेक गोदावरी क्षेत्रमा मात्र घुम्न जानेहरुको संख्या पनि उल्लेख्य भएकाले केवलकार सन्चालनबाट फाइदा हुने आचार्यको भनाई छ । ‘विस्तृत सम्भाव्यता अध्ययन गर्दा यसबाहेक काठमाडौंको जनसंख्यालाई पनि आधार बनाइएको छ,’ उनले भने ‘अबको एक वर्षमा निर्माण कार्य शुरु भइसक्ने छ ।’
शुरु विन्दुको उचाई समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर र अन्तिम बिन्दु फुल्चोकीको डाँडा २ हजार ६ सय २० मिटर रहेको छ । यो आयोजनाको लागत १ अर्व ४१ करोड रुपैयाँ रहेको आचार्यले जानकारी दिए ।
सहकारीले केबलकार निर्माणका लागि सिभिल बैंक र सनराइज बैंकसंग ऋण लिने तयारी गरेको छ । योजनाको अध्ययनले सन्चालनमा आएपछि आगामी २५ वर्षमा सरकारले करिब साढे ९४ करोड रुपैयाँ राजस्व कमाउने देखाएको छ । यो आयोजनाको लगानी फिर्ता हुने अवधी सन्चालनमा आएपछि ५ वर्षको राखिएको छ ।
त्यसपछि संस्थाले नै फुल्चोकीमा पार्क निर्माण गर्ने तथा रिर्सोट सन्चालनमा ल्याउने योजना बनाएको छ । पर्यटकीय दृष्टिकोणले नै यसअघि थानकोट-चन्द्रगिरीका लागि पर्यटन मन्त्रालयले अनुमति दिई निर्माणका लागि प्रारम्भिक काम शुरु भइसकेको छ । कान्तिपुर दैनिकबाट















प्रतिक्रिया