१ कार्तिक २०८३, आइतबार

एक दशकदेखि बन्द दिपायल विमानस्थल संचालनको तयारी, उद्योगमन्त्रीले उद्घाटन गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-Airport– झलक पाली
डोटी, ११ फागुन । झण्डै एक दशकदेखि बन्द रहेको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको विमानस्थल सञ्चालनमा आउने भएको छ ।

डोटी उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन २१ गतेदेखि ३० गतेसम्म सञ्चालन हुन गईरहेको सुदूरपश्चिम क्षेत्रीय महोत्सव २०७२ को अवसर पारेर तत्कालका लागि दुई दिन यति एअरलाईन्सले उडान भर्ने जनाइएको छ ।

महोत्सवको उद्घाटनका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डे दिपायल आउने भएपछि विमानस्थल सञ्चालनमा ल्याउने तयारी भईरहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

बुधबार बिहान नेपाली सेना, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, व्यापारी, पत्रकार र स्थानीयबासीहरुको सहयोगमा विमानस्थलमा सरसफाई गर्ने तयारी पनि भईरहेको छ ।

वि.सं. २०६२÷६३ देखि बन्द रहेको विमानस्थलमा सञ्चालनमा आउन लागेकोमा स्थानीयबासिन्दा निकै हर्षित भएका छन् ।

वि.सं. २०२६ सालमा स्थापना भएको दिपायल विमानस्थल बन्द भए यता विगतमा २०६८ फाल्गुन १७ गते डोटी महोत्सवको उद्घाटनमा आएका तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले एक हप्तामै दिपायलसँगै सुदूरपश्चिमका सबै विमानस्थल सूचारु हुने बताएका थिए ।

त्यसपछि २०६८ चैत्र २६ मा पार्टीको कार्यक्रमलाई संवोधन गर्न दिपायल पुगेका एकिकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यस्तै आश्वासन दिए । त्यसपश्चात वि.सं. २०७२ असोज ११ गते वर्तमान व्यवस्थापिका सांसद एवं नेकपा एमाले डोटीका ईन्चार्ज प्रेम बहादुर आलेमगर र नागरिक उड्डयन प्राधिकरणका सिनियर इन्जिनियर बालकृष्ण रेग्मीले दिपायल विमानस्थलमै पुगेर २०७२ सालको तिहार अगावै परिक्षण उडान भर्ने आश्वासन दिएका थिए । तर सबैका बचन आश्वासन मात्रै भएका थिए ।

नेपालकै सबैभन्दा कम चार सय ५० मिटर लम्बाई भएको दिपायल बिमानस्थललाई ५ सय मिटरसम्म लम्बाई बढाउन पहल समेत भईरहेको छ । विमानस्थल सुधारका लागि ढाई करोड बजेट आफ्नो पहलबाट विनियोजन भईसकेको सांसद आलेमगरको दावी छ ।

यसैबिच ‘कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, सुदूरपश्चिम विकासको मूल आधार’ भन्ने मूल नाराकासाथ आयोजना हुने महोत्सवका लागि तयारी तिव्र पारिएको डोटी उद्योग वाणिज्य संघले जनाएको छ ।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्र खप्तड, पर्यटनको पर्खाईमा रहेको सेती नदी, शुद्ध, बुढीगंगा, शैलेश्वरी, उग्रतारा, बडिमालिका, त्रिपुरा शुन्दरी, बैजनाथ, शुक्लाफाँटा, रामारोशन, घोडाघोडी ताल, अमरगढी किल्ला, बड्डाकेदार, अश्द्वाला, अपि–सैपाल हिमाल लगाएत थुपै्र स्थानहरुको प्रचार–प्रसार गरि पर्यटकहरु भित्र्याउन सके सुपको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

स्थानीय डेउडा, भुवाँ, धमारी, चैत, फाग, गौरा, ठाडी भाका, न्याउले, पुतला, हुड्केउली, पञ्चेबाजा, कृषितर्फ जोरायलको बासमती, सायलको आलु, बोगटानको अदुवा, विभिन्न क्षेत्रमा पाईने सुन्तला, बेसार, तरकारी, खप्तडको देउल निगालो (लोक्ता) नेपाली कागज आदिको प्रदर्शनी, स्थानीय खाद्यान्न परिकारहरु, सेती नदिमा ¥याफ्टिङ्ग र विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका सांगितिक प्रस्तुतीहरु महोत्सवका आकर्षणहरु रहने बताईएको छ ।

त्यस्तै सुदूरपश्चिमका विभिन्न पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानका पोस्टरहरु प्रदर्शनी, फुड फेस्टिभल, हस्तकला प्रदर्शनी लगाएतका कार्यक्रमहरु पनि रहेको जनाईएको छ ।

महोत्सवलाई व्यवस्थित गर्न विभिन्न उप–समितिहरु गठन गरिएको र अन्य सम्पूर्ण महानुभावहरुले भूमिका खेलिदिन आयोक सँस्थाले सबैमा विशेष आग्रह गरेको छ ।

झण्डै ५० लाखको खर्च अनुमान गरिएको महोत्सवमा २ लाख बढी दर्शकहरुले अवलोकन गर्ने र दश दिने अवधीमा झण्डै ३ करोडको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।