काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले न्यायालयमा भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गर्ने सरकारी तयारीप्रति आपत्ति जनाएको छ ।
आसन्न १३ औं महाधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति गर्न नहुने निर्णय गरेको हो ।
बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले सरकारले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गर्न लागेको भन्दै त्यसको विरोध गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । आचार्यको प्रस्तावमा अर्का केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले समर्थन गरेर सर्वसम्मत रुपमा पारित गरिएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसलाई अध्ययन गरेर आगामी १३ गते बस्ने बैठकमा आउन केन्द्रीय सदस्यहरुलाई बाँडिएको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा भने अनुपस्थित हुनुहुन्थ्यो ।












प्रतिक्रिया