२४ कार्तिक २०८३, मंगलबार

चुरेमा वन विनाश हुँदा तराईमा क्षति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure-forest

– केशव पन्त
महेन्द्रनगर, ११ फागुन । अविरल वर्षासँगै २०७० असार २ गते रौटेला खोलामा आएको बाढीले चुरेको फेदमा रहेको भीमदत्त नगरपालिका–१ बारकुण्डाका कमल विष्टको डेढ बिगाहा जमिन पटान गर्‍यो । रोपाई गर्न ठिक्क पारिएको खेतमा बालुवा र ढुंगा थुप्रिएपछि विष्ट परिवारले खेतमा धान लगाउन पाएनन् । सोही दिन रौटेला खोलामा आएको बाढीले बारकुण्डाकै हिरा कुँवरको १५ कट्टा जमिनमा बालुवा र ढुंगा थुप्रियो । बाढीले ४ कोठे पक्की घर समेत बगाएको कुँवरले बताए । ‘चुरेको फेदमा माटो कटान भएर रौटेला खोला थुनिएपछि खोलो वस्तीतिर पसेको थियो,’ कुँवरले भने, ‘खोला थुनिएको ठाउँबाट माटो, ढुंगा र बालुवा हटायौं । खेतको बालुवा र ढुंगा समेत हटाएर अहिले जमिनमा खेती गर्न थालिएको छ ।’

वन फडानीले चुरेमा कटान

कञ्चनपुरको उत्तरी भेगमा पर्ने चुरेको अधिकांश क्षेत्रमा जंगल पर्छ । तर, चुरे क्षेत्रमा रहेको जंगलको उचित संरक्षण नहुँदा वन फडानी हुने गरेको छ । विगत १५–२० वर्षमा चुरेमा थुप्रै पटक वन फडानी भएको छ । वन संरक्षणको जिम्मेवारी लिएको जिल्ला वन कार्यालय कञ्चनपुरसँग वन फडानीबारे एकीन तथ्याङ्क नभएपनि जिल्ला वन कार्यालयले केही व्यक्तिमाथि वन मुद्दा लगाएर कारवाही गरिरहेको छ ।

चुरे क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट जिल्ला वन कार्यालय कञ्चनपुरले सालको काठ चिरान गरिरहेको अवस्थामा २०७० फागुन १९ गते स्थानीय गणेशराम लुहारसहित ३ जनालाई पक्राउ गरेको थियो । लुहार ४ दशमलव ८१ क्वीफिट सालको चिरान काठसहित पक्राउ गरेका थिए । उक्त मुद्दा हाल विचाराधिन रहेको छ । ‘चुरे क्षेत्रबाट वन फडानी गरेर चिरान गरिरहेको अवस्थामा काठसहित ३ जनालाई पक्राउ गरिएको थियो,’ जिल्ला वन कार्यालय कञ्चनपुरको मुद्दा शाखाका नायव सुब्बा यदुराज जोशीले भने । साविकको सुडा गाविस–६ गाउजीका मोहनबहादुर चन्दको घरबाट २०६९ असार २५ गते कन्जु जातको काठ बरामद गरिएको जोशीले बताए । उनका अनुसार ५ थान बरामद गरिएको काठ २३ दशमलव ५८ क्वीफिट रहेको थियो । चुरे क्षेत्रबाट ल्याएर कृष्णपुरको गुलरियामा बिना इजाजत काठ ओसारपोसार गरिरहेको अवस्थामा कृष्णपुर–४ गुलरियाका मिन खड्कालाई २०६८ सालमा पक्राउ गरी २ हजार ९ सय २० रुपैयाँ जरिवाना तिराइएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला वन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार चुरेको ब्रह्मदेव कसाङदेखि बैतडाको पुरनपानीसम्मको वन क्षेत्रमा ४७ हजार रुख काटिएका थिए । कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्रमा पर्ने चुरेका सामुदायिक वन क्षेत्रमा जिल्ला वन कार्यालय डडेल्धुराले कटान अनुमति दिएकाले समेत चुरेमा बढी रुख काटिएका जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताए । कञ्चनपुर र डडेल्धुराको चुरे क्षेत्रमा भएको वन फडानीबारे वन मन्त्रालय, वन विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थुप्रै अनुगमन र अनुसन्धान समेत गरेको थियो । तर, वन फडानीको असर न्यूनिकरणमा कसैले भूमिका खेलेका छैनन् ।

चुरे क्षेत्रमा अवैध रुपमा वन फडानी हुने गरेका कारण चुरे क्षेत्रमा भुक्षय बढ्दै गएको छ । ‘भुक्षय बढेका कारण चुरे भएका बग्ने खोला थुनिने गरेका छन्,’ ईलाका वन कार्यालय ब्रह्मदेवका इन्चार्ज तथा सहायक वन अधिकृत जिबछ यादवले भने, ‘वर्षाको समयमा चुरे क्षेत्रमा कटान भएर चुरेमा भुक्षय बढेको छ ।’

चुरेमा अवैध रुपमा रुख काटिएका कारण चुरेको पहाड कमजोर हुँदै गइरहेको यादवले बताए । उनका अनुसार चुरे क्षेत्रका खनियाखोलामा ४ वटा, रौतेला खोलामा ३ वटा र कामिकाटे खोलामा ४ वटा ठूला पहिरो गएका छन् । ‘सानो पहिरोको त लेखाजोखा नै छैन,’ यादवले भने, ‘ठूलो पहिरो समेत नियन्त्रण गर्न सकिएको छैन ।’ अधिकांश खोलामा पहिरो आएर खोला थुनिएपछि खोला स्थानीय वासिन्दाको घरजग्गातिर जाने गरेका कारण तराई क्षेत्रमा खतरा बढेको यादवले बताए । ‘टाढाबाट हेर्दा चुरेमा हरियाली देखिएपनि चुरेमा धेरै ठूला रुख छैनन्,’ यादवले भने, ‘ठूला रुख नभएका कारण चुरेमा पहिरोको उच्च जोखिम छ ।’

चुरे संरक्षणका प्रयास सुस्त

वन फडानीले चुरे क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम बढेपनि त्यसको नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन । जिल्ला भूसंरक्षण कार्यालय कञ्चनपुर, जिल्ला वन कार्यालय कञ्चनपुर र चुरे संरक्षण सञ्जालले सुस्त गतिमा काम गरिरहेका छन् । ‘चुरेको पहिरो नियन्त्रणका लागि ठाउँठाउँमा पर्खाल र नदीमा तटबन्ध निर्माण गर्नुपर्छ,’ ईलाका वन कार्यालय ब्रह्मदेवका इन्चार्ज तथा सहायक वन अधिकृत जिबछ यादवले भने, ‘तर, वन कार्यालयले पर्खाल र तटबन्ध निर्माणको काम गर्दैन । वन कार्यालयले चुरे क्षेत्रमा वृक्षारोपण गर्ने काम गर्छ, जुन गरिरहेको छ ।’ वन कार्यालयले गरेको वृक्षारोपणले तत्काल प्रभाव नदेखाउने भएकाले पहिरो र बाढी नियन्त्रण हुन सकेको छैन । पर्खाल र तटबन्ध निर्माणको काम जिल्ला भूसंरक्षण कार्यालयले गर्नुपर्ने यादवले बताए ।

जिल्ला भूसंरक्षण कार्यालय कञ्चनपुरको कार्यालय चालु वर्षमा स्थापना गरिएकाले कार्यालयले हाल अध्ययन अनुगमनको काम गरिरहेको छ । विगतका वर्षमा कैलालीको भूसंरक्षण कार्यालयले तत्कालीन राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत तटबन्ध निर्माणको काम गर्ने गरेको थियो । तर, बजेट अभाव देखाउँदै केही क्षेत्रमा थोरै काम गरेर बजेट खर्च हुने गरेको थियो । ‘चुरे संरक्षणका लागि भौतिक संरचना निर्माण गर्नेबारे डिजाइन तयार भएको छ,’ जिल्ला भूसंरक्षण कार्यालय कञ्चनपुरका प्रमुख गंगादत्त जोशीले भने, ‘केन्द्रबाट बजेट प्राप्त भएबमोजिम काम गर्ने योजना छ ।’ चालु आर्थिक वर्षमा कार्यालयले २० लाख ९० हजार रुपैयाँ बजेट पाएको जोशीले बताए । उनका अनुसार प्राप्त बजेटले सबै ठाउँमा काम गर्न सकिने अवस्था छैन । ‘चालु आर्थिक वर्षमा ब्रह्मदेवको गहतारी खोला र खनियाखोलामा तटबन्ध निर्माण गर्ने योजना छ,’ जोशीले भने, ‘अन्य प्रभावित क्षेत्रमा अर्काे वर्षदेखि काम गरिन्छ ।’ भूसंरक्षण कार्यालयले सञ्चालन गरेका कार्यक्रमले चुरे संरक्षणका लागि पर्याप्त काम गर्न सकेको छैन ।

चुरे संरक्षणका लागि भन्दै गठन भएको चुरे संरक्षण सञ्जाल कञ्चनपुरले जनचेतना जगाउने काम गरिरहेको सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले बताए । सञ्जालले जनचेतना जगाउने काम गरिरहेपनि चुरेमा अवैध चोरीतस्करी रोकिएको छैन । ‘सञ्जालले समेत चोरीतस्करी रोक्न सकेको छैन,’ कुँवरले भने, ‘चोरीतस्करी नियन्त्रणमा वन कार्यालयले बढी भूमिका निर्वाह गर्नुपर्छ ।’ वन कार्यालयले संरक्षणमा स्थानीय वासिन्दालाई सहभागी गराउन सञ्जाल गठन गरेको थियो । अध्यक्ष कुँवरका अनुसार ब्रह्मदेवको झिलमिला, कसाङ, खल्लामसेट्टी, दैजीको मुसेपानी, गैरीखान, हात्तिथला, पुरनपानी, बगुन, बैतडा लगायतका क्षेत्रबाट बढी काठ तस्करी हुने गरेको छ ।

जिल्लाभरि नै बाढीको खतरा

चुरे क्षेत्रमा भएको वन फडानीपछि आएको पहिरो र बाढीले कञ्चनपुरको पुरै तराई क्षेत्र प्रभावित भएको छ । चुरे भएर बग्ने नदी र खोला धार परिवर्तन गरेर तथा क्षेत्र विस्तार गरेर तराईमा बग्दा खेतियोग्य जमिनमा क्षति पुग्ने गरेको छ । जसबाट किसान समस्यामा परेका छन् । चुरे पहाड कमजोर हुँदै गएसँगै कञ्चनपुर जिल्लामा बाढीको खतरा बढ्दै गएको छ । हरेक वर्ष वर्षाद्मा नदी र खोला आसपासका वासिन्दाले बाढीको खतरा सोच्दै रातदिन बिताउनुपर्ने बाध्यता रहेको छ । ‘बढी वर्षा हुने बित्तिकै चिन्तित हुनुपर्ने अवस्था छ,’ भीमदत्त नगरपालिका–१ बारकुण्डाका हिरा कुँवरले भने ।

जिल्ला प्रकोप उद्दार समिति कञ्चनपुरले जिल्लाका दोधाराचादनी नगरपालिका, भीमदत्त नगरपालिकाको भुजेला, ऐरी, बडैपुर, पिपरैया, जिमुवाको श्रीलङ्काटोल, बह्मदेव, बेल्डाडी, शंकरपुर, रैकवारविचवा र देखतभुली गाविस लगायतका क्षेत्रलाई बाढी, डुवान र कटानको उच्च जोखिममा राखेको छ । यस्तै, समितिले सुडा, झलारी, दैजी, कृष्णपुर र भीमदत्त नगरपालिका–३, ९, १०, १८, पिपलाडी, देखतभुली र शंकरपुर गाविसलाई उच्च कटान हुने क्षेत्रमा राखेको छ । चुरे भएर बग्ने नदी र खोलाले क्षेत्र विस्तार गर्दै गएका कारण कटान र डुवानको खतरा बढ्दै गएको छ ।

बाढी, कटान र डुवानले खेतियोग्य जमिन बढी प्रभावित हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरसँग बाढीले पु¥याएको क्षतिबारे एकीन विवरण नभएपछि कार्यालयले केही किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७१/७२ मा भीमदत्त नगरपालिका–९ बस्ने तेजबहादुर चन्द लगायतको ८ जनाको २ हेक्टर जमिन कटान पटान भएपछि जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले क्षतिपूर्ति दिएको वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए । उनका अनुसार मटैनाका जयबहादुर चन्दको १५ कट्टा, साविकको सुडा गाविस–५ देवबहादुर थापासहितका ५ जनाको ४३ कट्टा, भीमदत्त नगरपालिका–९ का भवानीदत्त जोशीको १२ कट्टा लगायत जिल्लाभरिका ८० जना किसानको जमिन कटान र पटान भएकाले क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

चुरे क्षेत्रमा मानव वस्ती
चुरे क्षेत्रमा मानव वस्ती बस्न योग्य नभएपनि कञ्चनपुरको चुरे क्षेत्रका केही भूभागमा मानव वस्ती समेत रहेका छन् । भीमदत्त नगरपालिकाको खल्ला र टुँडिखेल क्षेत्रमा ५ सयभन्दा बढी घरधुरीको बसोबास रहेको चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले बताए । उनका अनुसार खल्ला र टुँडिखेलमा २०५७ सालदेखि बसोबास गरिएको छ । ‘भीमदत्त नगरपालिका–८ बतासेमा २ घर, दैजीको दोभानमा २ परिवार घरसहित खेतिपाति गरेर बसेका छन्,’ कुँवरले भने । चुरे क्षेत्र भएर जाने दैजी–जोगबुढा सडक खण्ड आसपास समेत पछिल्लो समयमा खोकाछाप्रा र घरटहरा निर्माण भइरहेका छन् ।

चुरे गतिशील पर्वत भएकाले मानिसको बसोबासका लागि उचित नभएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ एवम् चुरेमा अनुसन्धानरत डा. दिनेशराज भुजुले बताए । उनका अनुसार चुरेमा मानव वस्ती बसोबास गरेमा चुरेको विनाश बढी हुन्छ । ‘चुरेमा बस्दा फाइदाभन्दा बेफाइदा बढी छन्,’ भुजुले भने । चुरेको संरक्षणमा मानिसले बढी ध्यान दिनु सके पहिरो र तराईको भूभागमा बाढीको खतरा कम हुने जनाइएको छ ।

Chure-Forest (1)
खनिया खोलामा गएको पहिरो
Chure-Forest (2)
खनिया खोलामा गएको पहिरो
Chure-Forest (3)
कामेकाटी खोलामा गएको पहिरो
Chure-Forest (4)
आगामी वर्षका लागि योजना बनाउदै चुरेको फेद रौटेला खोलामा सरोकारवाला निकाय
Chure-Forest (5)
चुरेमा तारवार गरिएको क्षेत्रमा नयाँ विरुवा पलाउदै