२४ कार्तिक २०८३, मंगलबार

मुलुक विखण्डन गर्न खोज्नेमाथि सरकारले कडा कारबाही गर्नेः मन्त्री यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umesh-yadav-2

लहान, ९ फागुन । सिँचाइमन्त्री उमेशकुमार यादवले स्वतन्त्रताको नाममा मुलुकको विखण्डन गर्न खोज्नेमाथि सरकारले कारबाही गर्ने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले भन्नुभयो“ असाधारण परिस्थितिको फाइदा उठाएर केही तत्वहरू देश विखण्डन गर्न खोज्दै छन्, तर राज्य त्यस्तो तत्वहरुमाथि कारबाही गर्न पछि पर्दैन ।”

सीमाङ्कनको विषय टुङ्गो लगाउन हालै गठित उच्चस्तरीय संयन्त्रको संयुक्त लोकतान्त्रिक मोर्चाले विरोध गर्न उचित नभएको जिकिर गर्दै एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री यादवले मोर्चाका नेतालाई संयन्त्रमा सहभागी हुन आग्रह गर्नुभयो ।

मन्त्रालयद्वारा सञ्चालित समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रम र जलउत्पन्न तथा नदी नियन्त्रण लगायत कार्यक्रम निरीक्षण गर्ने क्रममा गृह जिल्ला सप्तरी आइपुग्नुभएका मन्त्री यादवले नदी नियन्त्रणको कामसँगै सडक निर्माणलाई पनि प्राथमिकता दिइने बताउनुभयो ।

खाँडो, बलान र पश्चिम राप्ती नदी नियन्त्रणका लागि भारतलाई प्रस्ताव गरिसकिएको जानकारी दिँदै उहाँले सप्तरीको बेल्ही भन्सार अगाडि भारतको कुनौली जोड्ने पुल निर्माणका लागि पनि आफूले भारतीय पक्षसँग प्रस्ताव गरेको जानकारी दिनुभयो ।

सप्तरीमा हालै घोषणा गरिएको सिँचाइयुक्त गाविस र नगरपालिकामा ३६५ दिन नै सिँचाइ रहने हुँदा त्यसका लागि विशेष कार्यक्रम दिन जिल्लास्थित सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । रासस