
दाङ, ८ फागुन । दाङमा नेपाली कांग्रेसका तीन उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि आजफेरि मतदान हुँदैछ ।
जिल्ला सभापतिका लागि तीन समूहले उम्मेदवारी दिएका थिए । अबेर राति प्राप्त मत परिणामअनुसार केन्द्रीय सदस्य खुमबहादुर खड्का समूहका कीर्तिबहादुर बस्नेतले ३ सय ४ मत प्राप्त गरी आफूलाई अगाडि देखाएका छन् । अन्य उम्मेदवारको तुलनामा खड्काका उम्मेदवार बस्नेत अलि बलियो देखिए ।
उनलाई वरिष्ठ नेता शेरबहादुर देउवा समूहका युवा नेता कमलकिशोर घिमिरेले पच्छ्याएका छन् । घिमिलेले १ सय ६० मत पाए । तेस्रो नम्बरमा संस्थापन समूहकी अनिता देवकोटा परेकी छिन् । उनले जम्मा १ सय ५४ मत पाइन् ।
दाङ कांग्रेसमा ६ सय ३७ मत छन् । हिजो शुक्रबार भएको मतदानमा ६ सय २८ मत खसेका थिए ।
राजनीतिक दाउँपेचका कारण खड्काले आफ्ना उम्मेदवारलाई जिताउन हदैसम्मको तयारी गरेको आरोप छ । उता घिमिरे र देवकोटालाई पराजित गर्न आफ्नै समूहबाट खुलेरै केही जिल्ला नेता र सांसदहरू लागेको स्रोतको भनाइ छ । उनीहरू आफू खुसी मतदान गर्न मतदाताहरूलाई आग्रह गरेको जनाइएको छ ।

यसैबीच, युवा नेता घिमिरेलाई जिताउन युवा समूहहरू सक्रिय भएर लागेको छ । लालमिटया गाविसका युवा नेता लालमोहम्मद मियाँले यस पटक दाङ कांग्रेसमा युवाको बर्चश्व रहेको बताउनुभयो । ‘दाङ कांग्रेसमा युवा समूहको बर्चश्व देखिएको छ’, उहाँले भन्नुभयो, ‘सभापतिमा युवा नेताले नै जित्नुपर्छ । यसका लागि कमलकिशोर घिमिरे उपयुक्त पात्र हुन् ।’
युवा नेता घिमिरेलाई संस्थापन समूहकी सांसद अनिता देवकोटाको समर्थन खुलेर आएको छ । पहिलो चरणको निर्वाचनमा तेस्रो नम्बरमा परेकी देवकोटाले घिमिरेका पक्षमा खुलेरै मतदान गर्न दाङ कांग्रेसमा आह्वान गरेकी छिन् ।
दाङ कांग्रेसका अर्का नेता खगराज पाण्डेले पनि घिमिरेलाई समर्थन गरेका छन् । स्रोतका अनुसार खड्काको डरले पाण्डे घिमिरेको पक्षमा खुलेर बाहिर देखिएका छैनन् ।
दाङ कांग्रेसमा जोडदार प्रभाव राख्ने केन्द्रीय सदस्य दीपक गिरी, सांसद राजु खनाल, सांसद पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरे, वीरकेश्वरी गौतम, किरणकिशोर घिमिरे, किरण रेग्मी, विपुल पोखरेललगायतले पनि युवा नेता घिमिरेलाई समर्थन गरेका छन् ।
उता, बस्नेतलाई कांग्रेसका केन्द्रीय खड्काका साथै खनश्याम रेग्मी, सांसद डिल्ली चौधरी, बुद्धिराम भण्डारी, महादेव शाह, अर्जुन श्रेष्ठ, जानकी बस्नेतलगायतको समर्थन रहेको छ ।
यसैबीच, दाङ कांग्रेसको मतदान बिहान ११ बजेदेखि सुरू हुनेछ । आज अबेर रातिसम्म दाङको नतिजा आउने जनाइएको छ ।












प्रतिक्रिया