काठमाडौं, ७ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले गठन गरेको राजनीतिक समितिका विषयमा आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महतोले सरकारले बनाएको राजनीतिक समितिका विषयमा अनभिज्ञता प्रकट गर्नुभएको हो । ‘राजनीतिक समिति सरकारले बनाएको विषयमा मलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘बनेको भए त्यसमा हाम्रो कुनै साथ र समर्थन हुँदैन । मधेसी मोर्चाको सहभागिताविनैको राजनीतिक समिति कस्तो होला र ?’
बिहीबार राति बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक समिति बनाएको थियो । समितिका सदस्यहरू भने खालि राखिएको छ ।
उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक समिति बनेको कुरा तपाईलाई थाहा छैन ? भन्ने जिज्ञासामा अध्यक्ष महतोले भन्नुभयो, ‘ए हो र ? त्यस्तो समिति पनि बनेको रहेछ ? मधेसी मोर्चालाई यो विषयमा कुनै जानकारी छैन ।’
उहाँले सरकारले मधेसी मोर्चाको सहमतिविना बनाउने कुनै पनि समितिको औचित्य नहुने उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्रीफेरि अर्को षड्यन्त्रमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘सरकारले षड्यन्त्र गरेको छ । दुनियालाई ढाँट्ने कुरा हो । संयन्त्र त मधेसी मोर्चाको सहमतिमा बनाउने हो । विश्वासघातको जवाफ जनताले दिन्छन् । प्रधानमन्त्रीले फेरि विश्वासघात गरे ।’












प्रतिक्रिया