शिक्षा एक परिचय
शिक्षाका विषयमा विभिन्न परिभाषा छन् । हिन्दु दर्शनले शिक्षालाई अज्ञानताबाट मुक्ति र मोक्ष प्राप्तिका रुपमा प्रस्तुत् गरेको छ । बुद्ध दर्शनमा चार आर्य सत्य (दुखको उत्पति, परिभाषा, अनुभव र निर्वाण प्राप्ति) तथा ज्ञान, शील र समाधि प्राप्तिलाई शिक्षा मानिएको छ ।
शिक्षा के हो ? यो प्रश्नको प्राचिन दार्शनिकदेखि विभिन्न चिन्तकका लागि छलफल कै विषय रहँदै आएको छ । किनभने यसको अर्थ निकै व्यापक छ । शिक्षाको उत्पत्ति र विकासलाई विचार गर्दा प्राचिनकाल, मध्यकाल र आधुनिककाल गरी तिनै खण्डका दार्शनिक, शिक्षाविद्, मनोवैज्ञानिक, जीवशास्त्री, राजनीतिज्ञ, शिक्षक, ब्यापारी आदि सबैले आ–आफ्नो ढंगले यसलाई परिभाषित गरेका छन् ।
शिक्षा शब्द सिक्ष धातुमा ‘आ’ प्रत्यय जोडिएर बनेको हो । यसको अर्थ सिक्नु÷सिकाउनु भन्ने हुन्छ । शिक्षाको शाब्दिक अर्थ ‘विद्या र ज्ञान’ हुन्छ । पूर्वीय सन्दर्भमा विद्या शब्द संस्कृतको ‘विद्’ धातुमा ‘य’ + ‘आ’ प्रत्यय लागेर बनेको हो । जसको अर्थ ‘जान्नु’ भन्ने हुन्छ । यसरी ‘विद्या’को अर्थ ‘ज्ञान’ भन्ने हुन्छ । तसर्थ शिक्षाका शाब्दिक अर्थहरुबाट शिक्षा भनेको ज्ञान प्राप्ति वा शिक्षण कला, सीप, प्रवृत्ति र बानीहरुको विकास हो ।
शिक्षाका विविध पक्ष
शिक्षा व्यक्तिगत, सामाजिक तथा आर्थिक विकासको सशक्त माध्यम हो । त्यस्तै शिक्षा ज्ञानको मुहान, व्यक्ति, समाज र राष्ट्रको दीगो विकासको बाटो हो । यसै प्रकारले शिक्षा शक्ति, चेतनाको मार्ग र समाज विकासको संवाहक हो । शिक्षा भनेको कुनै ज्ञान वा सीप सिक्नु, कुनै पनि नयाँ कुरा सिक्नु, नयाँ अनुभव प्राप्त गर्नु तथा व्यक्तिमा हुने प्रत्येक व्यवहारिक परिवर्तन हो । नयाँ अनुभवले जीवनमा परिवर्तन ल्याउँछ र अनुभव प्राप्त गर्ने प्रक्रिया अटुट एवम् जीवन्त प्रक्रिया हो । दार्शनिकका दृष्टिमा शिक्षा दर्शनको व्यवहारिक पक्ष हो, अर्थशास्त्रीको दृष्टिमा शिक्षा व्यक्तिको उत्पादनशीलताको विकाश हो । मनोवैज्ञानिकका अनुसार शिक्षा सिकाइको एक प्रक्रिया हो भने शिक्षाविद्का अनुसार व्यक्तिमा जे जति परिवर्तन एवम् परिमार्जन हुन्छ त्यो नै शिक्षा हो । राजनीतिज्ञहरुका अनुसार शिक्षा व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउने प्रक्रिया हो ।
शिक्षालयहरुले शिक्षा दिने काम गर्दछन् । शिक्षा भनेको एक प्रक्रिया हो । यस प्रक्रियाबाट ज्ञान वितरण गरिन्छ । हामी ज्ञान दुई प्रकारले प्राप्त गर्दछौं । पहिलो प्रकृतिलाई हामीले अनुकुल बनाउने प्रक्रियामा प्राप्त गरेका अनुभवहरु हुन् । दोस्रो समाज निर्माण गर्ने क्रममा प्राप्त गरेका अनुभव हुन् । प्रकृतिलाई अनुकुल बनाउने प्रक्रियामा र समाज निर्माण गर्ने क्रममा जम्मा गरिएका अनुभवहरुको मूल कोणलाई ज्ञान भनिन्छ । त्यो ज्ञानलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियाको माध्यमलाई हामी विद्यालय, कलेज वा शिक्षालय भन्छौं ।
जीवनको लडाईंमा हाम्रा अगाडि अनेकौं प्रतिकुलता, जटिलता र चुनौती आउँछन् त्यो बेला ती जटिलता र चुनौतीलाई चिर्न सक्ने सामथ्र्य शिक्षालयले निर्माण गर्छ कि गर्दैन ? त्यही नै ज्ञान हो जो भविष्यमा अरब वा अमेरिकामा गएर काम गर्नुपर्ने हुन सक्छ, देश नै चलाउनुपर्ने हुन सक्छ, नीति निर्माण गर्ने स्थानमा पुग्नुपर्ने हुन सक्छ । व्यक्तिले त्यो सामथ्र्य विकास ग¥यो कि गरेन हामीले शिक्षामा हेर्नुपर्ने कुरा यही नै हो ।
सम्प्रेषणको प्रक्रियाका रुपमा शिक्षा एवम् अभिभावकको भूमिका
जसरी जैविक रुपमा जीवन सम्प्रेषण (ट्रान्समिसन) प्रक्रियाको माध्यमबाट कायम रहन्छ, त्यसरी नै समाज पनि सम्प्रेषण कै माध्यमबाट अगाडि बढ्छ । यो सम्प्रेषण उमेरमा ठूलाबाट आफूभन्दा कम उमेरकामा काम गर्न, सोच्न र अनुभूति गर्ने बानीको विकास हुन्छ । यसरी विचार र परम्पराको सम्प्रेषणद्वारा लगातार नयाँ सिराबाट समाजको ताना–बाना बनिने गर्दछ । शिक्षाको क्षेत्रमा पनि यही लागु हुन्छ ।
परापूर्व कालमा जीवनको सुरुआत भोक मेटाउने र परिवारको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले भयो । व्यस्तताबद्ध श्रमको प्रारम्भ अरुलाई दास बनाउने मानसिकताका कारण भयो । आज हाम्रो जीवन औद्योगिक भएको छ, जसरी मानवीय सहचर्यबाट विश्वको कार्य चल्ने गर्दछ । श्रमसिलता र मितब्ययीता आदि गुणप्रति हुने प्रतिक्रिया छाडेर त्यसप्रति हुने बौद्धिक र भावनात्मक प्रतिक्रियाप्रति कम ध्यान दिने गरिन्छ । यसको विपरित भौतिक परिणाम तिर अपेक्षाकृत धेरै ध्यान दिने प्रवृत्ति संसारमा बढेको छ ।
यी प्रक्रिया सिधै प्रशिक्षणस्थल अर्थात् विद्यालय शिक्षाबाट नै सुरु हुने गर्दछ । कुनै पनि व्यक्ति सफल हुनुमा बिद्यालय कलेजका शिक्षक, कर्मचारी, घर परिवारका सदस्य जो अहोरात्र खटेर आफ्ना छोरा–छोरीले राम्रो गरुन भनेर दुःख जति सबै आफूले बोकेर मिहिनेत गर्दछन् त्यसैका कारणले नै सन्तानले शिक्षा प्राप्त गर्ने वातावरण बन्दछ । तसर्थ अभिभावकहरु सन्ततिको शिक्षा आर्जन गर्ने प्रक्रियामा धेरै ठूलो हकदार हुन्छन ।
पास र फेल मापदण्ड
हाम्रो शिक्षा प्रणालीले पास र फेल हुने विधिको जुन विकास गरेको छ, त्यसलाई गहन रुपमा विचार विमर्स गर्नुपर्ने हुन्छ । तीन घण्टाको जाँचका आधारमा पास र फेल गर्ने मूल्यांकनको परिपार्टी गलत छ । यसलाई ग्रेडिङ सिस्टम मुल्यांकनको बिधिद्वारा समाधान गरिनुपर्छ । हाम्रो शिक्षालयको हालत हामी सबैलाई थाह छ, पूर्वाधार हुँदैन, एकै वर्षमा पटक–पटक शिक्षा अधिकारीहरु परिवर्तन हुन्छन । तसर्थ फेल भन्ने शब्दलाई हामीले झिक्न जरुरी छ । हाम्रो औसत मापदण्डका कारणले मात्र हो, नत्र अनुतिर्ण भनिएका एसएलसी भन्दा कम अध्ययन गरेकाहरु खाडी मुलुकमा काम गरिरहेका छन्, एक ढंगले अगाडि रहेका छन् । वास्तवमा मानिस सफल छ कि छैन भन्ने कुरा उ उत्पादनशील नागरिक हो कि होइन, उ उत्पादन गर्न सक्छ कि सक्दैन, उ आफ्नो जिविकाको समस्या हल गर्न सक्छ कि सक्दैन भन्ने कोणबाट हेर्न जरुरी छ ।
हामीले इतिहास हे¥यौं भने कयौं प्रसिद्ध साहित्यकारले औपचारिक शिक्षाको कुनै डिग्री लिएका छैनन् । डिग्रीले मानिस कति ज्ञानी हो भन्ने कुरा निर्धारण गर्दैन । डिग्री त आजकाल छिमेकी मुलुकका विभिन्न स्थानमा बिक्री भइरहेको पाइन्छ । कुनै पनि विद्यालय वा विश्वविद्यालयको डिग्रीले विध्वता आर्जन गर्दैन । शिक्षाले वास्तवमा मानिसभित्र रहेका प्रतिभालाई प्रस्फुटित गर्न खोज्नुपर्छ । शिक्षाले उसलाई क्षमतावान बनाउने कोसिस गर्नुपर्छ । उसलाई सक्षम नागरिक बनाउने प्रक्रिया शिक्षा हुनुपर्दछ । संसारको जुनसुकै कुनामा काम गर्दा पनि उसले त्यहाँको प्रतिकूलतालाई चिर्दै जीवन यात्रा अगाडि बढाउन सकोस् त्यसो मान्छे बनाउने प्रक्रिया शिक्षा हुनुपर्दछ ।
यो कोणबाट हेर्दा हामीले हाम्रो शिक्षा प्रणालीका विषयमा नया ढंगले बहस गर्न जरुरी छ । अहिले सार्वजनिक, सामुदायिक शिक्षालयहरुको स्तर निकै खस्कँदो छ । किन कि यी संस्थालाई भन्ने बेलामा राज्यको मातहतमा राखिएको छ, तर राज्यले दिनुपर्ने न्युनतम कुरा पनि दिएको छैन । यो स्थितिमा सार्वजनिक तथा सामुदायिक शिक्षालयहरु गुज्रिरहेका छन् ।
शिक्षक, संगठन र भौतिक सम्पदा सम्बन्धमा
शिक्षक, शिक्षाका संगठन र शिक्षा क्षेत्रमा काम गरेकाहरुलाई थाह छ– सामुदायिक शिक्षालयभित्र १९ प्रकारका शिक्षक छन् । विद्यार्थीको पठन–पाठनका लागि एकै प्रकारका शिक्षकहरु हुनुपर्दछ । शिक्षक बन्ने व्यक्ति गौरवान्वित हुनुपर्ने हो तर त्यो नभएर जागिर खाने मानसिकता मात्र देखिने गरेको छ । शिक्षक भर्ती गर्दा पनि योग्यता र क्षमतालाई भन्दा पूर्वाग्रहलाई आधार बनाइने गरेको छ । शिक्षकका न्यूनतम् मापदण्ड पूरा नभएकाहरुले अध्ययन गराउँदा परीक्षाफल पनि राम्रो आउन सक्दैन ।
नयाँ अध्ययनले नयाँ करारका शिक्षक नियुक्त गरिएको स्थानमा परीक्षाफल राम्रो आएको देखाएको छ । तर पूराना र स्थायी क्षिक भएका ठाउँको शैक्षिक गुणस्तर खस्कँदै गएको छ । यो अध्ययन प्रतिवेदन ठीक छ कि छैन त्यसमा पनि नयाँ शिराबाट बहस र छलफल हुनु जरुरी छ । नेपालका केही यस्ता शिक्षालयहरु छन् जहाँ शौचालय, पुस्तकालय, प्रयोगशालालगायतका सामान्य पूर्वाधारहरु नै छैनन् । शिक्षालय भन्न लायकको केही पनि नहुँदा पनि त्यहाँ विद्यार्थीहरु पठनपाठन गरिरहेको अवस्था छ ।
शिक्षा नीति सम्बन्धमा
नेपालमा शिक्षा क्षेत्रसँग सम्बन्धित ४४ वटा ऐन छन् । त्यस्तै शिक्षा नीति, नियमावलीहरु, मन्त्रालयका निर्णयहरु छन् । एकपछि अर्को निर्णयहरुले गर्दा काम अगाडि बढ्न सकेको छैन । यी सबै कुराको जड शिक्षा नीतिमा रहेको छ । शिक्षा नीति बन्दा निजी क्षेत्रका शिक्षालयलाई केन्द्रित गरी बनाइन्छ । सार्वजनिक र सामुदायिक शिक्षालयको कुरा सुनिँदैन, निजी क्षेत्रको कुरा पहिले नै मिलेमतोमा गरिन्छ । हाम्रा संरचनाहरु यसरी नै चलिरहेका छन् । म निजी शिक्षालयको विरोधमा छैन । म उनीहरुको बिरुद्धमा पनि छैन तर निजी क्षेत्रका सक्षम शिक्षक र सुविधा सम्पन्न शिक्षालय जस्तै हाम्रा सार्वजनिक र सामुदायिक शिक्षालय किन नबनाउने ? के कारणले उनीहरुलाई चाहिने जति बजेट विनियोजन नगर्ने ?
२०४६ सालको निजीकरणको प्रक्रियापछि त्यस्तो लाइन ल्याइएको छ, जसका कारण दुई खालका शिक्षालय र शिक्षाको प्रक्रिया चलिरहेको छ । के अहिलेको परिपेक्षमा सार्वजनिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाले बुढानीलकण्ठ, सेन्ट जेभियर्स जस्ता विद्यालयमा परीक्षा दिएर उत्तीर्ण गर्न सक्छन् ? यसरी हेर्दा एकातिर सफलता र अर्कोतिर विफलता देखिन्छ । तसर्थ वर्तमान मोडलअनुसार जसरी विद्यार्थी उत्पादन गरिँदै छ, त्यो मिलेको देखिँदैन । २०४६ सालपछि २०६२ र ६३ हुँदै अहिले २०७२ सालसम्म आउँदा युगान्तकारी राजनीतिक परिवर्तन भएका छन् । तर यी परिवर्तअनुसारका शैक्षिक नीति बनेका छैनन् । संरचनाहरु बनेका छैनन् । तसर्थ हामीले शिक्षाको विकासका विषयमा १० वर्षे, २० वर्षे, ३० वर्षे र ५० वर्षे कार्ययोजना बनाएर वृहत् बहस गर्नु जरुरी छ ।
व्यवस्थापन समितिको भूमिका
विद्यालय व्यवस्थापन समितिको कुरा गर्दा जुन समिति विद्यार्थीको भविष्यलाई आफ्नो भविष्य ठानेर, आफ्नो काम ठानेर काम गरेका छन्, ती शिक्षालय राम्रा छन् । शिक्षालयमा व्यवस्थापन समितिको अध्यक्ष अभिभावक हुनुपर्दछ तर हामीले धेरै विद्यालयमा हे¥यौं भने ती अध्यक्षहरु अभिभावक छैनन् । विद्यालय व्यवस्थापन समितिको चुनावका बेला प्रतिस्पर्धा गर्ने र फर्केर विद्यालय पनि नजाने परिपाटीले विद्यालयको विकाश र विद्यार्थीको भविष्य निर्माणमा गम्भीर असर पारेको हुन्छ । विद्यालयको विकासमा विद्यालय व्यवस्थापन समितिको भूमिका पनि महत्वपूर्ण हुने भएकाले हामीले यस पाटोमा पनि सोच्न जरुरी छ । जनसापेक्ष शिक्षा नभएको, देशले माग गरेको शैक्षिक नीति नभएका बेला विद्यार्थी, शिक्षक र सम्पूर्ण कोणबाट सोच्न जरुरी छ । यहाँका समस्या यही शिक्षाका कारण आएका हुन् । शिक्षाको बारेमा लोकतान्त्रीकरणको यो प्रक्रियामा राज्यको दायित्वका विषयमा बृहद मन्थन हुनु जरुरी छ । शिक्षक, प्राचार्य, बुद्धिजीबी, समाजसेवीहरुले समेत नेपालको शिक्षा नीतिका विषयमा नयाँ ढंगले आफ्ना दृष्टिकोण सार्वजनिक गर्नु जरुरी छ ।
तसर्थ शिक्षालय निर्माणको कुरा राष्ट्रिय एकता निर्माणसँग जोडिएको हुन्छ । उच्च शिक्षामा समावेशीताको कुराले मात्र सबै कुरा हल हुन सक्दैन । त्यहाँ एक स्तरको निर्धारणसमेत गर्नुपर्छ । हामी त्यस्तो शिक्षालयको निर्माणमा लाग्नु पर्दछ जसले भोलि देश चलाउने, अन्तर्राष्ट्रिय क्षेत्रमा गएर काम गर्ने सामथ्र्यवान नागरिकहरु उत्पादन गर्न सकियोस् ।
विद्यार्थी संगठनको भूमिका
हामीले गौतम बुद्धको जीवनी पढेका छौं । राजपरिवारमा जन्मेका बुद्धले घर छाड्नुभयो, ज्ञान प्राप्त गर्नुभयो । ज्ञान प्राप्तिपछि उहाँले के विचार गर्नुभयो भने, मैले प्राप्त गरेको ज्ञान मसंग मात्र राखेर हुँदैन तसर्थ ज्ञान अरु समक्ष पनि पु¥याउन थाल्नुभयो । त्यसो नगरेको भए उहासँग रहेको ज्ञान उहाँमै सिमित हुन्थ्यो । उहाँले त्यो ज्ञान दिएर मात्र नहुने रहेछ ‘संघम् शरणम् गच्छामी’ भनेर त्यस्तो किसिमका संस्थाहरु निर्माण गर्नुभयो जसले ती प्राप्त भएका ज्ञानलाई सम्प्रेषण गरुन् । हामीले पनि प्राप्त ज्ञानलाई संगठनको माध्ययम द्वारा संगठित भएर आउँदो पुस्तालाई सम्प्रेषण गर्न जरुरी छ ।
जीवनका सुन्दर पक्षलाई अनुभव गर्दै, खराबीको अन्त्यका लागि एवम् शिक्षालाई सुन्दर, श्रेष्ठ र जीवनोपयोगी बनाउनका लागि युवा विद्यार्थीले संगठित हुँदै संघर्ष गर्नुपर्दछ । युवा विद्यार्थी बाटाका किनारमा बसेर दर्शक भएर हैन, परिवर्तनको बाहकको रुपमा सहभागी हुनुपर्दछ, संयमित एवम् एकाकार हुनुपर्छ । कुनै पनि देशका आधार स्तम्भ युवाहरु नै भएकाले शिक्षाका यी यावत् समस्याका समाप्त गरि वैज्ञानिक, व्यवसायिक एवम् जीवन उपयोगी शिक्षा प्राप्तिका लागि युवा विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
अन्त्यमा
हाम्रो पठन पाठन सूचना संकलनमा मात्र आधारित छ । इन्टरनेटको प्रयोगको सीमा बढाउन सकेमा यो सूचना झन् बढी प्राप्त गर्न विद्यार्थी सफल हुनेछन् । शिक्षालयहरु आम नागरिक बनाउने कारखाना हुन् । हामीकहाँ ब्रिटिशहरुले भारतमा चलाएको शिक्षा अझसम्म प्रचलनमा छ । लर्ड म्याकेनलेद्वारा प्रतिपादित यो शिक्षाको मुख्य उद्देश्य आज्ञापालक कामदार निर्माण हो । सम्झना गर्न नसक्दा फेल हुने थोत्रो परिपाटीबाट हाम्रो शिक्षा ग्रसित छ । यो सूचनाबाट प्राप्त हुने शिक्षालाई हल गर्न ज्ञानलाई निर्माण गर्ने अर्को मोडलमा जान जरुरी छ । सूचनालाई केन्द्रित गरी ज्ञान प्राप्त गर्ने दिशामा जान जरुरी छ । शिक्षा भनेको कल्चर पनि हो । शिक्षालय एउटा विद्यार्थीलाई अनुशासित, मर्यादित बनाउने एउटा मन्दिर पनि हो । यी कुरा पाठ्यपुस्तकले मात्र निर्धारण गर्दैन । शिक्षकले विद्यार्थीको क्षमता जागृत एबम् प्रस्फुटित बनाउनुपर्दछ । शिक्षकले कल्चरका बारेमा पुराना तथा नयाँ, सम्बन्ध र समयका बारेमा अझ बढी मिहेनत गर्नुपर्दछ । अनि मात्र सक्षम देश निर्माण गर्ने नागरिक बन्नेछन् ।
मानवीय जीवनको सफलता–असफलता, उन्नति–अवनति र सार्थकता–निरर्थकता शिक्षाद्वारा निर्धारित हुन्छ । असल शिक्षा व्यवस्थाले मानिसलाई सुख, शान्ति, सम्पन्नता, प्रसन्नता र आनन्दतपÞर्m डोहो¥याउँछ भने खराब शिक्षा व्यवस्थाले उसलाई दुख, अशान्ति, निरासा र गहन पीडातपÞर्m धकेल्छ । राष्ट्रको परिभाषा र शिक्षाको मिलित स्वरुप खिचिएको छैन । संस्कार, इतिहास र अर्थतन्त्र मिलाइएको चित्र बनेको छैन । तसर्थ बहुपक्षीय मिलनको खोजी गरी शिक्षामा आमुल रुपान्तरण गर्न बृहत् छलफल गरी युग सुहाउँदो शिक्षाको मोडेल विकाश गर्न जरुरी छ ।
(लेखक नयाँ शक्ति निर्माणका निम्ति विद्यार्थी अभियानका केन्द्रीय अभियन्ता हुन्)















प्रतिक्रिया