भनिन्छ– सही निर्णय गर्न सक्ने व्यक्तिमा मात्र नेतृत्वको गुण हुन्छ । त्यसले नै मानिसको खुबीसमेत झल्काउँछ । कतिपय निर्णय यस्ता हुन्छन् जसले भविष्यको रेखांकन मात्र गर्दैन भुतको गोरेटोसमेत कोरिरहेको हुन्छ । सही समयमा सही निर्णय लिन नसक्दा धेरै सम्भावना पनि सम्भावनामै सिमित हुन्छन् भने गलत समयमा गलत निर्णयले कतिपय उपलब्धी समेत गुम्न पुग्दछ । निर्णय लिने कुरा एक प्रकारको चुनौती नै हो । अझ राजनीतिज्ञहरुका लागि त झन् त्यो जोखिमतासँगै भविष्यको सम्भावनालाई अझ उचाइमा पुर्याउने या अस्तित्व नै गुमाउने आधार नै पनि बन्न सक्छ ।
सादगी नेता सुशील कोइरालाले राजीनामा दिए लगत्तै दोस्रो पटक प्रधानमन्त्री बन्ने चाहनायुक्त निर्णयले उनलाई आलोचनाको घेरामा उभ्यायो । समकालीन नेतामा धेरै ओझिलो गुण बोकेका सुशीललाई पुनः प्रधानमन्त्रीमा उम्मेवार बन्न सुझाव दिने व्यक्ति र निर्णय गर्न सक्ने अक्षमताले उनको शाखमा आँच पुर्यायो । भोलिका दिनमा जब उनलाई पदलोलुपता नभएको व्यक्तिको रुपमा स्मरण गर्न खोजिन्छ त्यो बेला यही विषय काँडा जस्तै बिझ्न थाल्छ ।
सही समयमा दूरगामी प्रभाव र असरको मुल्याकंन गरेर सही निर्णय लिन सक्दा मात्र त्यसले नेतृत्वकर्ताको सही क्षमताको मुल्यांकन हुन सक्दछ । जीवनमा धेरै निर्णय लिइएको हुन्छ त्यसमध्ये केही निर्णय यस्ता हुन्छन् जो उसको जीवनको महत्वपूर्ण कडी बन्न पुग्छ । निर्णय सही सावित हुँदा त्यसले उसको जीवनलाई नयाँ दिशा दिएको हुन्छ भने गलत निर्णयले पुछतो सिवाए केही हुँदैन । अझ देशको राजनीतिक बागडोर सम्हाल्ने स्थानमा रहेका नेताको निर्णय क्षमताले व्यक्तिगत मात्र होइन देशकै भविष्यको आधार सिर्जित गरेको हुन्छ । देशका धेरै विषय समाधान भइहाल्ने वा अझ समस्याको जालोमा जेलिने भन्ने कुरा नेताको निर्णय क्षमतामा भर पर्ने गरेको हुन्छ ।
देश र समाजका लागि मात्र होइन स्वयम् व्यक्तिका लागि समेत कतिपय निर्णय जीवनपर्यत्नसम्म अपाच्य ठहर्छन् । राजनीतिक जीवनमा लिएका धेरै सकारात्मक निर्णयका सामु एक निर्णय मात्रै पनि सही ठहरिन नसक्दा त्यसको भरपाई सायदै पाउन सकिएला । त्यो निर्णयले विगतका उपलब्धीमूलक पहिचानलाई धमिलाइदिने मात्र होइन भविष्यको सम्भावनालाई समेत असर गर्दछ । नेतृत्वको एउटा निर्णयले मात्रै पनि धेरै जटिल मुद्दा सल्टिएका दृष्टान्त विश्वमा छन् । नेपालमा पनि नेताको सही निर्णयका कारण शसस्त्र युद्धको शान्तिपूर्ण रुपान्तरणसँगै शान्तिपूर्ण जनआन्दोलनमार्फत् लोकतन्त्रको स्थापना भएको उदाहरण छ । नेतृत्वको सही निर्णयले आज शान्तिपूर्णरुपमा राजतन्त्रको वहिर्गमनसँगै संविधानसभाले लोकतान्त्रिक संविधान दिन सकेको छ । यसका निम्ति पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको योगदान महत्वपूर्ण छ । देशको ठूलो दलको सभापति तथा तत्कालीन सरकार प्रमुखको हैसियतले आवश्यकता अनुरुपको लचकता अपनाएर संविधानसभाबाट संविधान जारी गर्न सफल कोइरालाको योगदान सदैव स्मरणीय रहने छ ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय कोइरालाले व्यक्तिगत जीवनलाई कहिल्यै महत्व दिएनन् । कांग्रेस सभापति र मुलुककै कार्यकारी प्रमुख हुँदा पनि उनी समकालीन नेतामध्यकै सादगी जीवन बिताउने नेताका रुपमा चिनिन्छन् । जननिर्वाचित पहिलो प्रधानमन्त्री स्वर्गीय वीपी कोइराला र २०६२/६३ सालको जनआन्दोलनका कमान्डर पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका निकै नजिकका विश्वास पात्र भएर पनि सत्ता र शक्तिभन्दा टाढा बस्न रुचाउने उनको अर्को विशेषता थियो । शक्तिमा रहिरहने कोइराला परिवारका उनले चाहेको भए धेरै पहिला राज्यका धेरै लाभका पद लिन सक्थे । मन्त्री बन्न धेरै पटक गरिएको आग्रह लत्याउनु, व्यक्तिगत जीवनलाई महत्व दिएर धन आर्जन गर्ने अन्य नेताभन्दा फरक सरल जीवन जिउन रुचाउनु कोइरालाको सवैभन्दा ठूलो सम्पत्ति थियो । कांग्रेसको राजनीतिमा लागेर पार्टी र देशका निम्ति धेरै पटक यातना सहेका कोइरालाको जीवनीले उनी संघर्षको अर्को रुप भएको देखाउँछ । शक्तिभन्दा कर्ममा विश्वास राख्ने कोइरालालाई आवश्यकताले नेपाली कांग्रेसको नेतृत्वमा पु¥यायो । सभापति रहेकै समयमा गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको जिम्मेवारी उनको काँधमा आउन पुग्यो । गिरिजाको निधन अघिदेखि कांग्रेसको कार्यवाहक सभापति रहेका सुशीलले पार्टीको १२ औं महाधिवेशनबाट निर्वाचित सभापतिको जिम्मेवारी पाए । आफ्नो नेतृत्वमा पार्टीलाई मुलुकको पहिलो ठूलो दलको रुपमा मात्र उभ्याएनन्, संविधानसभाबाट संविधान जारी गर्ने सरकारको नेतृत्वसमेत गरेका थिए । उनी नेतृत्वको सरकारले करिब सात दशक लामो नेपाली जनताको चाहनालाई पूरा गराएको थियो । उनले एउटा इतिहास बनाउने अवसरसमेत पाए । पहिलो संविधानसभाको अवसानसँगै दोस्रो संविधानसभाले संविधान दिन सक्ने हो या नसक्ने भन्ने आशंकाबीच कार्यकारी सरकार प्रमुख र मुलुकको पहिलो दलको नेताको हैसियतले सुशीलको भुमिका निकै अहम् रह्यो । आवश्यकताअनुसारको व्यवहार प्रदर्शन गर्दै वेमेलको राजनीतिलाई ‘गिभ एण्ड टेक’ गर्दै सहमतीय दस्तावेजको रुपमा संविधान जारी भयो । यसले जनआन्दोलनको उपलब्धीलाई संस्थागत गराउने महत्वपूर्ण जिम्मेवारी सुशीलले आफ्नो नेतृत्वमा सरकार हुँदा पूरा गरेर सराहनीय काम गरे ।
शान्ति, लोकतन्त्र र सहमतिको कसीमा आफूलाई उभ्याउँदै आएका सुशीलले जब सरकारको नेतृत्व लिएका थिए । उनले घोषणा गरेका थिए– ‘संविधान जारी भएपछि एक दिन पनि सत्तामा बस्दिन’ । तत्कालीन समयमा उनको निर्णय सही थियो । नभन्दै उनै नेतृत्वको सरकारले संविधान जारी ग¥यो । एक वर्षभित्र मुलुकलाई संविधान दिएर बिदा हुने प्रतिबद्धता जनाएका कोइरालाले यसबीचमा गरेका अधिकांश काम खोटरहीत थिए । विपरित ध्रुवमा विभाजित दलहरुलाई एक ठाउँमा ल्याउने काम कम चुनौतीपूर्ण थिएन । तर सुशीलले त्यसलाई सहजै पूरा गरेर र संविधान जारी गरेरै छाडे । यहाँसम्म सुशीलको भूमिका व्यवहारिक, सही र प्रशंसनीय रह्यो ।
जव संविधानसभाबाट संविधान जारी भयो र नयाँ सरकार गठनको प्रक्रिया शुरु भयो । त्यसपछि भने उनको भूमिका विवादास्पद देखिन थाल्यो । उनको नेतृत्व क्षमतामा पार्टीभित्रै पनि प्रश्न उठ्न थाल्यो । संविधान जारी गर्नुपूर्व दलहरुबीच भएको भद्र सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान जारी गरेपछि प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रतिबद्धताप्रति कोइरालाले आलटाल गर्न थाले । उनले व्यक्तिगत सहमतिबाट केही नहुने र पार्टीको निर्णयअनुसार आफू अघि बढ्ने बताएर सहकर्मी दललाई टाढा पु¥याए । त्यतिमात्र नभई आफ्नै दलको केन्द्रीय समिति र पदाधिकारीको बैठकमा समेत कुनै निर्णय नगराई आफूलाई दोस्रो पटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनाए ।
सुशील कोइरालाको पुनः प्रधानमन्त्री बन्ने चाहनाले दलीय ध्रुवीकरण मात्र बढेन, संविधान कार्यान्वयनमा समेत शंका उत्पन्न हुन थाल्यो । त्यतिमात्र नभई लामो समयसम्म सहकार्य गर्दै आएका दलहरुबीच पनि राष्ट्रवादी समूह र राष्ट्रघाती समूहको रुपमा चित्रित गरिनेसम्मको वातावरण देखियो । खासमा त्यसको भित्रि पार्टो के थियो त्यो अझै प्रष्टसँग सार्वजनिक भइसकेको छैन ।
जे होस् सुशीलको पुनः प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय आत्मघाती ठहरियो । जीवनभर पदको लालचा नभएको नेताको उनको छवी धमिलिन पुग्यो । उनको उम्मेदवारी नपर्ने वातावरण भएको भए राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने थियो । सरकार वलियो वन्ने मात्र नभई उनी पनि राष्ट्रप्रमुख बन्ने अवस्था थियो । तर त्यसो भएन । बरु उनले जीवनभर कमाएको स्वच्छ नेताको छवि उपमा धमिलिन पुग्यो ।
मुलुकको ठूलो दलले सरकारको नेतृत्व लिन खोज्नु कुनै नौलो थिएन । तर संविधान जारी गर्नुअघिको भद्र सहमति पालना नगर्नु उनको एउटा गल्ती थियो । त्यति मात्र नभई उनले ठूलो दलले नै सरकारको नेतृत्व लिन पाउनुपर्छ भन्ने दाबी गरेको हो भने पनि कांग्रेसकै अर्को नेतालाई अघि सार्न सक्थे । यो भन्दा पहिला हार्ने निश्चित हुँदाहुँदै रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेकै थिए । अहिले किन त्यो सम्भावना रहेन वा गराइएन ? चाहेको भए संसदीय दलको नेता परिवर्तन गर्न पनि सकिन्थ्यो । मुख्य कुरा यो थिएन यसको पछाडि धेरै आयामहरु लुकेको थियो जसले सुशीललाई उम्मेदवारी दिन प्रभाव र दवाव दुवै दिएको थियो । सुशीलले उम्मेदवारी दिने निर्णय गरेलगत्तै संविधानसभा छाडेको घोषणा गर्ने मधेस केन्द्रित दलका सांसद एकाएक संसद्मा प्रवेश गरेर मतदानमा सहभागी भए । यो संयोग पक्कै थिएन ।
आफ्नो नेतृत्वमा संविधान जारी गरेर सुशीलले आफ्नो उचाई जुन ठाउँमा पु¥याएका थिए, पुनः प्रधानमन्त्रीका लागि दाबेदार गरेर आफ्नो छवि धुमिल बनाए । उनले आफूलाई पार्टीभित्र र बाहिर आलोचनाको घेरामा पारे । समकालीन नेतामध्ये धेरै ओझिलो गुण बोकेका सुशीललाई त्यो उम्मेदवारी दिनुपर्ने भनी सल्लाह दिने व्यक्ति र निर्णय लिने उनको त्यो कदमले उनको शाखमा आँच पु¥यायो । भोलिका दिनमा जब जब उनलाई पदलोलुपता नभएको नेताको रुपमा सम्झिन खोजिन्छ त्यो घडीमा यो विषय पनि काँडा जस्तै बिझ्नेछ । उनीबाट सिक्ने कुरा तमाम रहे पनि अन्तिम निर्णयको रुपमा रहेको त्यो कदमले उनलाई भावी सन्ततिले दिन सक्ने एउटा उपमा खोसेको छ । हुनतः उनी कांग्रेसको आसन्न महाधिवेशनमा फेरि सभापतिमा चुनाव लड्ने चर्चा रहे पनि उनीबाट न त त्यसको आधिकारिक घोषणा नै भयो न त कुनै प्रक्रिया नै अघि बढेको अवस्था रह्यो । यस अर्थमा प्रधानमन्त्रीको उम्मेदवार बन्नु नै उनको जीवनमा सबैभन्दा ठूलो भुल थियो । संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पुरा गराउने रथका सारथी सुशीलले यदि अन्तिम घडीमा त्यो निर्णय नगरेको भए नेपालका नेल्सन मण्डेला बन्ने अवसर थियो ।
नोवेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकाका जनताले सदैव राष्ट्रपिताको रुपमा सम्झिरहने छन् । भौतिक शरीर नरहे पनि मण्डेलाको योगदानको अफ्रिकी जनताले मात्र होइन आज विश्वले सम्मान गरिरहेको छ । तत्कालीन समयमा दक्षिण अफ्रिकाको आवश्यकता अनुरुप राष्ट्रपतिसमेत भएका मण्डेला चाहेको भए मृत्यु नहुँदासम्म राष्ट्रपति नै बन्न सक्थे । उनीप्रति सम्मान मात्र होइन त्यहाँका जनताको विश्वास पनि थियो, तर उनले त्यसो गरेनन् । अफ्रिकालाई स्थिरतातर्फ लगेर विकासको अभिभारा अरुलाई सुम्पिए जो उनको त्याग मात्र थिएन उनीप्रति सदैव त्यहाँका जनताले गर्ने सम्मानको प्रतिविम्व थियो । जसले उनलाई पदमा नरहे पनि सदैव राष्ट्रपिता बनाइरह्यो । त्यो अवसर सुशील कोइरालामा पनि थियो । तर उनी चुके ।












प्रतिक्रिया