काठमाडौं, ६ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले इन्डियन आयल कर्पोरेशनले माग अनुसारको इन्धन नदिएको आरोप लगाउनुभएको छ ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कार्यकारी निर्देशक खड्काले भारतले नाकाबन्दी खोले पनि इन्धन आपूर्तिमा रोक लगाएको बताउनुभयो । ‘भारतको इन्डियन आयल कर्पोरेशनले ५० प्रतिशत मात्रै तेल दिएको छ’, उहाँले भन्नुभयो, ‘हामीले माग गरे अनुसारको तेल पाएका छैनौँ ।’
आइओसीको डिपोहरूमा नेपाली ट्याङ्कर लाइनमा बसेको उहाँले बताउनुभयो । तेल र ग्यास दिनका लागि आइओसीलाई आग्रह गरे पनि माथिको आदेशभन्दै थोरै मात्र इन्धन दिएको खड्काको भनाइ छ ।
‘जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीसँग सहकार्य गरेर तेल बाँडिएको छ’, उहाँले भन्नुभयो, ‘काठमाडौंमा हामी आफैले बाँडेका छौँ । एक एक थोपा तेलको हिसाव किताव छ । दुरुपयोग भएको छैन । कालोबजारी भएको छैन ।’
‘डिपोबाट जसले मूल्य तिरेर लिन्छ उसलाई तेल दिएका छौँ’, कार्यकारी निर्देशक खड्काले भने, ‘तेल कसैले अपचलन गर्छ भने त्यो त उसको पनि दायित्व हो । तेलको अपचलन भएको छैन । तेलको अनुगमन भइरहेको छ । अरुसँग समन्वय गरेर अनुगमन गर्नुपछ । कालोबजारी रोक्ने भनेको सरकारले हो ।’
निगमका कार्यकारी निर्देशक खड्काले आवश्यक्ताअनुसार सप्लाइ गर्नेवित्तिकै कालोबजारी आफै हटेर जाने बताउनुभयो । ‘नाका खुल्दैमा हुँदैन । आइओसीले ५० प्रतिशत मात्रै तेल दिएको छ । भारतले जति दिने हो त्यति तेल दिएको छैन । लगातार कुराकानी भएको छ । हामीलाई ५० प्रतिशतभन्दा बढी नदिनु भनेको छ भनेर जवाफ पाउँछौँ । हाम्रा ट्याङ्करहरू निगमका डिपोहरूमा छन्’, खड्काले भन्नुभयो ।
कार्यकारी निर्देशक खड्काले खाना पकाउने ग्यासको पनि समस्या अझै उस्तै रहेको बताउनुभयो । भारतले नै तेल र ग्यास रोकेको उहाँको भनाइ छ ।
बजारमा कालोबजारीमा तेल र ग्यास पाइएको विषयमा खड्काले स्पष्ट केही बताउनु भएन ।












प्रतिक्रिया