२८ आश्विन २०८३, बुधबार

माधव नेपाल एमालेको सम्पत्ति हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishor-Pokhrelसर्वप्रथम तपाईँ नेकपा एमालेको भर्खरै सम्पन्न नवौँ महाधिवेशनबाट पुन: महासचिव पदमा निर्वाचित हुनुभएकोमा बधाई छ ।

धन्यबाद, नवौँ महाधिवेशनबाट पनि म पुन: महासचिव निर्वाचित भएको छु । म सबै भन्दा पहिला नेकपा एमालेका २ लाख ५६ हजार पार्टीका संगठित सदस्य र ती सदस्यको प्रतिनिधित्व गरेर आउने २ हजार १ सय ७६ जना प्रतिनिधि साथीहरू जसले सुजबुझ तरिकाले भूमिका खेल्नुभयो । त्यसका लागि उहाँहरूलाई म धन्यबाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु ।

नवौँ महाधिवेशनमा सहभागी २ हजार १ सय ७६ जना प्रतिनिधिको भूमिकाले बेलाबेलामा नेतृत्व तहबाट असन्तुलित भूमिकामा प्रस्तुत भए पनि एमालेका कार्यकर्ता जहिले पनि सचेतकको भूमिका खेल्छन भन्ने पुष्टि गरेको छ । त्यति मात्र होइन कार्यकर्ताले असन्तुलित हुन खोजेको एमालेलाई सन्तुलित बनाउँछन भन्ने कुराको समेत पुष्टि प्रतिनिधि कमरेडहरूले गर्नुभएको छ । उहाँहरूले नेतृत्व चयनका सन्र्दभमा मात्र होइन नीति, विधिविधान पारित गर्ने कुरामा पनि सकारात्मक भूमिका खेल्नु भयो । आगामी दिनमा पनि नेकपा एमालेलाई सन्तुलित भूमिकामा अघि बढाउन सन्तुलित भूमिका खेल्न सक्नुहोस भन्ने मेरो कामना छ ।

नेकपा एमालेको भर्खरै सम्पन्न नवौँ महाधिवेशन र त्यसको परिणामलाई तपाईँले कसरी लिनुभएको छ ?

लोकतान्त्रिक अभ्यासलाई हामीले नवौँ महाधिवेशनका सन्र्दभमा अझ उचाईमा पुर्‍याउने काम गर्‍यौ । लोकतान्त्रिक अभ्यासलाई अघि बढाउन खोज्ने सन्र्दभमा केही नकारात्मक कुरा पनि देखा परे । यी कुरालाई समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ । २ लाख ५६ हजार पार्टीका संगठित सदस्य र ती सदस्यको प्रतिनिधित्व गरेर आउने २ हजार १ सय ७६ जना प्रतिनिधि कमरेडहरूले महाधिवेशनमा विवेकको मत प्रयोग गर्नुभयो । मैले माथि पनि उल्लेख गरे नीति र विधिविधान पारित गर्दा होस वा नेतृत्व छनोट गर्दा नै किन नहोस्, उहाँहरूले जुन ढङ्गले विवेक संङ्गत निर्णय गर्नुभएको छ । त्यसको म उच्च सम्मान गर्छु ।

महाधिवेशन अघि नेकपा एमाले भित्र नेता–नेता र कार्यकर्ता–कार्यकर्ता बीचमा जुन खालको तिक्ततापूर्ण व्यवहार रहेको थियो, त्यो व्यवहार महाधिवेशनपछि रहन्छ कि रहँदैन ?

महाधिवेशन सम्पन्न भए लगत्तै त्यो कोर्स सकिएको छ । जुन कोर्स महाधिवेशन अघि र विभिन्न खालका प्यानलबन्द्धी बनाउँदा र निर्वाचनमा मत हाल्दासम्म थियो । महाधिवेशनलाई केन्द्रित गरेर बनाएको कोर्स अहिले समाप्त भएको छ । अहिले नयाँ कोर्सको आरम्भ भएको छ । नयाँ कोर्स महाधिवेशनले पारित गरेका नीति, विचार, सिद्धान्त, संगठनात्मक पद्धतिलाई आधार बनाएर अघि बढ्नुपर्छ । महाधिवेशनका जिम्मेवार प्रतिनिधिले निर्वाचित गरेको नेतृत्वको निर्देशनमा यो कोर्स अघि बढ्नुपर्छ । म महासचिवको हैसियतले भन्न चाहन्छु, महाधिवेशन अघि हामीले जानेर वा नजानेर जुन खालको कोर्स अघि बढायौँ । अव त्यो कोर्सको अनिवार्यरुपमा अन्त्य गर्नुपर्छ ।

अध्यक्ष पदमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रनु भएका नेता माधव नेपाललाई दिने जिम्मेवारी र गर्ने व्यवहार कस्तो हुनेछ ?

महाधिवेशनको परिणाम आएपछि मात्र होइन मैले महाधिवेशनको चर्चा हुनु अघिदेखि नै पनि माधव नेपाल नेकपा एमालेको सम्मानित र शक्तिशाली नेता बन्नुपर्छ भनेर भन्दै आएको छु । उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजाने भूमिका खेल्नुपर्छ भनेर मैले महाधिवेशन अघि पनि भन्दै आएको थिएँ । प्रमुख कार्यकारी पदमा नरहेको सम्मानित र शक्तिशाली नेता माधव नेपाल बन्नुपर्छ भनेर मैले पहिला पनि भनेको थिएँ । अहिले पनि म त्यही भन्न चाहन्छु । यो पार्टीले अगुवाई गरेको आन्दोलनमा उहाँको निरन्तर योगदान रहँदै आएको छ । उहाँ पार्टीको सम्पत्ति पनि हो । त्यसैले उहाँलाई सम्मानित जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता छ ।

नेकपा एमालेको नेतृत्वले आगामी दिनमा जिम्मेवारी दिने सन्दर्भमा गुट–उपगुटको प्रभावलाई पछ्याउँछ कि पछ्याउँदैन ?

जिम्मेवारी दिने सन्र्दभमा हिजोको कोर्ससँग गाँसेर अघि बढ्ने कुनै संभावना छैन । नयाँ जिम्मेवारी दिने सन्दर्भमा व्यक्तिको योग्यता, क्षमता, रुचि र पार्टी र संगठनको आवश्यकतालाई आधार मान्नुपर्छ । केन्द्रीय कमिटीको दोस्रो बैठकमा यी कुरालाई ख्याल गरेर नै प्रस्ताव लगिने छ ।

नेकपा एमालेलाई एकढिक्का बनाएर लैजाने सन्दर्भमा तपाईको भूमिका कस्तो हुनेछ ?

पार्टी र संगठन संस्थागत ढङ्गले चल्नुपर्छ । म सधैँ यही मान्यता राख्दै आएको छु । गुट वा प्यानलको हिसाव गरेर पार्टी र संगठनलाई तलदेखि माथिसम्म हेरिनु हुँदैन भन्ने कुराको पक्षमा म सधैँ दृढ भएर लाग्ने छु । गुण–दोषलाई आधार मानेर पक्ष–विपक्ष हुनसक्छ । तर, व्यक्तिलाई केन्द्रित गरेर तिक्ततापूर्ण व्यवहार गर्नुहुँदैन । म हिजो पनि त्यही भन्थेँ । आज पनि त्यही भन्छु र भोलि पनि त्यही कुरामा दृढ रहने छु । पार्टीलाई संस्थागत ढङ्गले सञ्चालन गर्ने कुरामा मेरो सधैँ ध्यान जाने छ । जित्ने एमाले र हार्ने अर्को पार्टी होइन । आन्तरिक प्रतिस्पर्धामा कसैले जितियो कसैले हारे । भएको यत्ति हो । त्यसलाई त्यही बिर्सनुपर्छ । समूहबद्धता पार्टीमा किमार्थ रहने छैन ।

अहिले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम कि भीम रावल भन्ने कुराको बिबाद चरम बनेको छ । यो सन्दर्भमा तपाईंको भनाइ के छ ?

बाहिर सञ्चार माध्ययममा आएको जस्तो बिबाद हामीबीचमा छैन । हामी केन्द्रीय कमिटीको दोस्रो बैठकमा यी सबै कुराको समाधान गरेर अघि बढ्ने छौँ । वरियताको विषयलाई लिएर अनावश्यक बिबाद गर्नुपर्ने कुनै कारण छैन । हामी वैद्यानिक व्यवस्था र प्रचलित अभ्यासलाई आधार मानेर वरियताको टुंगो लगाउँछौँ ।

नेकपा एमालेको निर्वाचित नयाँ नेतृत्वसँगै सरकार फेरवदलका कुरा पनि बाहिर आएका छन नि ?

लोकतान्त्रिक र अघिकत्म अग्रगामी संविधान निर्माण गर्ने हाम्रो लक्ष्य र उद्देश्य हो । त्यो लक्ष्य र उद्देश्य पुरा गर्न हामी लाग्नुपर्छ । त्यसैले हामीले लोकतान्त्रिक र अग्रगामी संविधान जारी नगरुञ्जेल यो सम्वन्ध कायम रहने छ । सरकार वा मन्त्री बदल्ने भन्ने भन्दा पनि एमालेको अहिलेको ध्यान लोकतान्त्रिक संविधान जारी गर्नेमा नै केन्द्रित रहेको छ । यो संयुक्त सरकार हो । संयुक्त सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । त्यसकारण एमालेको सरकारमा त्यही अनुरुपको भूमिका रहने छ ।

अहिले एकथरीले नेता केपी शर्मा ओली संसदीय दलको नेता र पार्टी अध्यक्ष दुबैमा निर्वाचित भएपछि एमालेको विगतमा लाग्दै आएको ‘ढुलमुले’ चरित्र पनि समाप्त हुनेछ भनेर व्याख्या गर्न थालेका छन् नि ?

नेकपा एमाले विगतदेखि नै दुबै खाले अतिवादको विपक्षमा उभिदैँ आएको पार्टी हो । त्यसैले एमालेले विगतमा पनि सन्तुलनको भुमिका खेल्दै आउको थियो । सन्तुलनकारी भूमिकामा उभिएर नै अहिलेको राजनीतिलाई अघि बढाउन सकिन्छ भन्ने एमालेको निष्र्कष रहँदै आएको छ । कित्ता–कित्तामा राजनीति गर्न पल्केकाहरूले हामीलाई आरोप लगाएका मात्र हुन् । वास्तवमा एमाले त्यस्तो थिएन । छैन र हुने पनि छैन् ।