काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि थाइल्याण्डको बैंकक जाने भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमले पाउनुहुने भएको छ ।
नवौं महाधिवेशनपछि गौतम वा भीम रावलमध्ये को वरिष्ठ उपाध्यक्ष भन्ने प्रश्न उब्जिरहेका बेला ओलीले गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन लाग्नुभएको हो । यसअघि पनि उपाध्यक्ष भइसकेको र कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेकाले ओलीले गौतमलाई नै कार्यबाहकको जिम्मेवारी दिइने निर्णय गरेको स्रोतले बतायो ।
उहाँको दायाँ हात सुन्निने समस्यामा कुनै पनि कमी नआएपछि फलोअपका लागि बैंकक जान लाग्नुभएको हो । ओलीका निजी सचिव इन्द्र भण्डारीका अनुसार अन्य समस्या नभए पनि हातको संक्रमण बढ्दै गएकाले उपचारका लागि जानुपर्ने अवस्था आएको हो ।
आगामी साउन २५ गते केन्द्रीय कमिटिको दोस्रो बैठक बोलाएकाले त्यस अघि नै उहाँ उपचार गराएर स्वदेश फर्किनु हुनेछ ।













प्रतिक्रिया