
भैरहवा, ४ फागुन । सत्तारुढ दल नेकपा एमालेले २ लाख जनतालाई भैरहवामा उतार्ने योजना सार्वजनिक गरेको छ ।
एमाले रुपन्देही जिल्ला कमिटीको सोमबार भैरहवास्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन १४ गते भैरहवास्थित सिद्धार्थ रंगशालामा वृहत जनसभा गर्ने र सो सभामा लुम्बिनी अन्चलका ७ वटै जिल्लाका जनताको अधिकतम सहभागिता गराउने तयारी पार्टीले गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षता एवं केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य एकराज विकको आतिथ्यतामा सम्पन्न बैठकले यसअघि फागुन ८ गते गर्ने भनि गरिएको तयारी प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानेभएको हुँदा मिति सारि फागुन १४ गतेलाई तय गरेको हो ।
पार्टीले यसअघि फागुन ८ गते कार्यक्रम गर्ने तय गरी सोही अनुसार प्रचारप्रसार पनि गरेको थियो । प्रधानमन्त्रिको भारत भ्रमणको कारण सभालाई सारिएको पार्टिका रुपन्देही सचिव तुलसी प्रसाद चौधरीले जनाए ।
सचिवालय बैठकले सम्पुर्ण रुपन्देहीबासीलाई सभामा सहभागी हुन आग्रह समेत गरेको छ । पार्टीले रुपन्देहीबाट १ लाख र अन्य नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाची र गुल्मीबाट गरी १ लाख गरी कम्तिमा २ लाख जनता भैरहवामा उतार्ने तयारी गरेको हो ।
सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, बरिष्ठ नेताद्वय पुर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल लगायतका पदाधिकारीले सम्बोधन गर्ने एमाले रुपन्देहीले जनाएको छ ।
लुम्बिनी अन्चल स्तरीय सभाले नेपालको संविधान २०७२ लाई संस्थागत गर्नमा ठूलो भूमीका खेल्ने एमालेले अपेक्षा लिएको छ ।












प्रतिक्रिया