२९ आश्विन २०८३, बिहिबार

डिभी परेका सयौं नेपालीको अमेरिकाको ढोका बन्द, अमेरिका पुग्ने आशाको अवशान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dv-lottery-results

किशोर पन्थी / न्युयोर्क

जुलाई महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले ९ हजार ५ सयसम्म केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु मात्र अमेरिका आउन पाउने भन्दै अगस्त महिनाका लागि भिसा नम्बर तोकिदियो । त्यतीबेला धेरै डिभी विजेता नेपालीहरुले अगस्त महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले सेप्टेम्बरका लागि भिसा नम्बर जारी गर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुलाई पनि भिसा नम्बर उपलब्ध गराउने आशा गरेका थिए । तर अमेरिकाले सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुका लागि भिसा उपलब्ध नहुने भन्दै भिसा बुलेटिन जारी गरेपछि ९ हजार ५ सय भन्दा माथि डिभी लोटरीको केस नम्बर हुने डिभी विजेता नेपालीहरुको अमेरिका आउने ढोका पूर्ण रुपमा बन्द भएको छ ।

अब उनीहरुको डिभीमार्फत अमेरिका आउने आशा पूर्णरुपमा मृत भएको छ । ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेताहरु ६ सयको हाराहारीमा रहेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष डिभी लोटरी पार्न सफल ६ हजार ८२ जनामध्ये कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन भने नपाउने निश्चित छ । गत मे महिनामा सन् २०१५ को डिभी लोटरी पार्न सफल ४ हजार ९ सय ९१ नेपालीहरु मध्ये पनि कम्तीमा १४ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ ।

     चालु आर्थिक वर्षका लागि ६ हजार ८२ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । डिभी लोटरीको परिणाम आउँदा नै थाहा थियो, डिभी लोटरी परेका सबैजना अमेरिका आउन पाउनेछैनन् । किनभने अमेरिकाले डिभी लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेको छ । किनभने डिभी लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी भिसा नम्बर दिने स्पष्ट पारेको छ । जस अनुशार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।

       यसैबीचमा गत महिना जुलाई महिनाको भिसा बुलेटिन जारी गर्दै अमेरिकाले ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दै अमेरिकाले डिभी लोटरी विजेता नेपालीहरुमाथि सिमाबन्दी तोकिदिएपनि  ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने झण्डै ६ सय डिभी लोटरी नेपाली विजेताहरुले झिनो आशा भने मरेको थिएन । किनभने अगस्त महिनामा जारी हुने भिसा बुलेटिनमा सेप्टेम्बर महिनाको लागि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेका लागि पनि अमेरिकाले भिसा नम्बर उपलब्ध गराइदिने झिनो आशा बाँकी थियो । तर अमेरिकाले मंगलबार भिसा बुलेटिन जारी गर्दै सेप्टेम्बर महिनाको लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई अमेरिकाको भिसा नदिने स्पष्ट पारेपछि अमेरिका आउने आशा गरेर बसेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको अन्तिम आशा पनि मरेको छ । डाइभर्सिटी भिसामार्फत अमेरिका आउन पाउने उनीहरुको ढोका मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । अमेरिकाले भिसा बुलेटिनमार्फत ९ हजार ५ सयभन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई डाइभर्सिटी भिसा नदिने घोषणा गरेपछि पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ । धेरै नेपालीहरु अमेरिका आइसकेको भन्दै अमेरिकी सरकारले पहिलोपल्ट नेपालका लागि छुट्टै नम्बरमा डाइभर्सिटी भिसा सिमित गरेकाले एसियाका अन्य देशका १३ हजार ३ सय ५० सम्म केस नम्बर भएकाहरुले भिसा पाउने भएपनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर भएका नेपालीहरुले भने भिसा नपाउने भएका हुन् । अमेरिकाको विदेश मन्त्रालय अन्तरगतको ब्युरो अफ कन्सुलर अफेयर्सले मंगलबार जारी गरेको भिसा बुलेटिन नै सन् २०१४ को डिभी लोटरीका लागि अन्तिम भिसा बुलेटिन हो । डिभी लोटरी २०१४ का विजेताहरु भनेका सन् २०१२ मा डिभी चिठ्ठा भरेर सन् २०१३ मा परिणाम प्राप्त गर्नेहरु हुन् । डिभी लोटरी २०१४ का लागि छनौट भएका व्यक्तिका लागि अमेरिकाले अक्टोबर १ २०१३ देखि सन् २०१४ को सेप्टेम्बर ३० सम्म भिसा उपलब्ध गराउनेछ । यो अवधिमा भिसा नपाएकाहरु डिभी लोटरी परेपनि स्वत अयोग्य हुनेछन् । गत वर्ष डिभी लोटरी भरेर यो वर्ष परिणाम प्राप्त गर्नेहरु सन् डिभी लोटरी २०१५ का विजेताहरु हुन् । उनीहरुका लागि भने अक्टोबरबाट  मात्रै अमेरिकी सरकारले भिसा उपलब्ध गराउनेछ । डिभी लोटरी २०१५ को पहिलो परिणाम अनुशार ४ हजार ९ सय ९१ जना नेपालीहरु छनौट भएका थिए । गतवर्ष डिभी भरेर यो वर्ष परिणाम हात पारेकाहरुले भने सन् २०१४ को अक्टोबर १ बाट भिसा पाउन थाल्नेछन् । तर उनीहरुमध्ये पनि ३५ सयको हाराहारीमा मात्र डाइभर्सिटी भिसा पाउने भएकाले कम्तीमा १४ सय विजेताहरु अमेरिका आउन नपाउने निश्चित छ । डिभी लोटरी परेको भन्दै कैयन नेपालीहरु अमेरिका आउनका लागि तयार भएका बसेका थिए ।  कैयनले आफ्नो पढाई छाडेर बसेका थिए भने  कैयनले घरबार बेचेर बसेका थिए । कैयनले त छँदाखाँदाको जागिर छाडेर बसेका थिए ।  तर ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा नपाउने अमेरिकाको अन्तिम घोषणापछि उनीहरुले अब आफ्नो बिचल्ली हुने बताएका छन् । डिभी परेर पनि अमेरिका आउन नपाएका अमर जोशी भन्छन् –“अन्तिममा डिभी पीडित भइयो । मेरो जिन्दगी नै डामाडोल भयो । १४ महिनासम्म कुरेर अन्तिममा अमेरिका जान नपाउँदा निकै पीडा महसुस भएको छ । म अत्यन्तै नर्भस भएको छु । ” डिभी परेर अमेरिका आउन नपाएपनि उनले दुखेसोसँगै भविश्यप्रतिको आशा भने मारेका छैनन् । उनी भन्छन् –“ अब मज्जाले पढ्छु । कुनै टेन्सन भएन । तर छोरो अमेरिका जाँदैछ भनेर सोंच्नुभएका बुबाआमाले के सोंच्नुहोला भन्ने चिन्ताले पिरोलेको छ । ” त्यस्तै डिभी परेर पनि अमेरिका आउन नपाएका डायमण्ड शर्मा भन्छन् –“हाम्रो लागि अमेरिका सपना हुने भयो । अमेरिकाले डिभी परेकालाई पनि अमेरिका जान नदिएर गल्ती गरेको छ । तर अमेरिकामात्र सबैथोक होइन । यति लामो समय कुरेर अमेरिकाले भिसा नदिदा आशाको पीडादायी अन्त्य भएको छ । मलाई त विश्वास नै गर्न मुस्किल परिरहेको छ । ” डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् । अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ । युएससीआईएसले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि युएससीआईएसले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।


अर्को वर्ष अझै कम डिभी लोटरी विजेता नेपालीहरुले मात्र भिसा पाउने सम्भावना छ खगेन्द्र क्षेत्री, कानुन व्यवसायी, न्युयोर्क अमेरिकाले अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दा डिभी लोटरी परेका नेपालीहरुलाई ९ हजार ५ सय केसनम्बरमा सिमित गरेको थियो, सेप्टेम्बर महिनाको भिसा नम्बरको अवस्था के छ ? सेप्टेम्बर महिनाको लागि पनि डिभी परेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने नेपालीहरुले भिसा नपाउने भएका छन् । किनभने अगस्तमा जस्तै सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुले भिसा नपाउने गरी संख्या तोकिएको छ । अहिलेको अवस्था हेर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुले भिसा नपाउने भएका छन् । गतवर्षजस्तै यसपटक पनि सबै डिभी लोटरी विजेता नेपालीहरुका लागि भिसा करेन्ट हुने आशा गरिएको थियो । तर यसपटक अमेरिकाले नेपालका लागि मात्रै संख्यामा सिमित गरेको छ । ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेताहरु यसपटकको डिभी कार्यक्रमबाट सम्पूर्णरुपमा आउट भएका छन् । ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुका लागि अरु कुनै कानुनी बाटो छ कि ? भिसा नम्बर नै उपलब्ध नभएका कारण केस फाइल गर्दा पनि केही हुनेवाला छैन । त्यसको कुनै कानुनी वा अन्यबाटो छैन । ९ हजार ५ सय भन्दा माथिका नेपाली डिभी लोटरी विजेताहरुले भिसा पाउने सम्भावना छैन । तर ९ हजार ५ सय भन्दा तल भिसा नम्बर हुने नेपालीहरुले पनि भिसा नपाएको खण्डमा भने कारण हेरेर कानुनी बाटो लिन सकिन्छ । ९ हजार ५ सय भन्दा तल केस नम्बर हुनेहरुले पनि तीब्र गतिमा केस ह्याण्डल गर्नुपर्ने हुन्छ । त्यो कुरा दूतावासलाई पनि थाहा छ । त्यसैले दूतावासले नै सकेजति तीब्र गतिमा काम गर्छ । सेप्टेम्बर ३० को डेडलाइन भन्दा अगाडि नै सबैकाम सकाउनका लागि दूतावासले छोटो समयमा अन्तरवार्ताको लागि सुचना दिन सक्छ । तर ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुले कानुनी बाटो खोज्नु वा अरु गतिविधि गर्नु समयको बर्बादी मात्र हो । एसियामा नेपाललाई मात्र किन ९ हजार ५ सय केस नम्बरमा सिमित गरेको होला ? डाइभर्सिटी भिसाको कार्यक्रम नै अमेरिकामा विविधता कायम गर्नका लागि हो । नेपालबाट धेरै नेपालीहरु अमेरिका आइसकेका छन् । अमेरिकाले नेपालबाट आएका नेपालीको संख्या हेरेर सानो घेरामा सिमित गरेको हो । घरबार बेचेर, पढाई छाडेर बसेकाहरु अब अमेरिका आउन नपाउने भए नि त ? डिभी पर्यो भन्दैमा घरबारै बेचेर, पढाई छाडेर बस्नु राम्रो थिएन । भिसा नआएसम्म पहिलो लेटर आउँदैमा घर बेच्ने, नयाँ योजना बनाउने काम गर्नु उचित हुदैनथ्यो । तर घर बेचे वा पढाई छाडे भन्दैमा अमेरिकी सरकारले आफ्नो घोषणा र नीतिमा परिवर्तन गर्ने सम्भावना देखिन्न । डिभी लोटरी परेर अमेरिका आउनेहरुलाई आउनुभन्दा अगाडि के सुझाव दिनुहुन्छ ? अमेरिकामा काम लाग्ने दक्षता नेपालमा नै सिकेर आएमा धेरै राम्रो हुनेछ । अमेरिकामा बढी माग भएको जागिरसँग सम्बन्धित प्रमाणपत्रहरु लिएर आएमा काम पाउन सजिलो हुनेछ । ब्युटी पार्लरमा काम गर्ने महिलाहरुले त्यो काम नेपालमा सिकेर आएमा धेरै फाइदाजनक हुनेछ । त्यस्तै पुरुषहरुले पनि प्राविधिक काम सिकेर आएरमा तुरुन्त जागिर पाउन सजिलो हुनेछ । डिभी अमेरिका आउने बाटोमात्र हो । यसले अमेरिकामा बस्ने र काम गर्ने अनुमतिमात्र दिने हो । आफैले दुख गरेर काम गर्नुपर्छ । अर्को वर्ष अझै कम डिभी लोटरी विजेता नेपालीहरुले मात्र भिसा पाउने सम्भावना भएकाले डिभी पर्दैमा अमेरिका आउन पाइन्छ भनेर ढुक्क नहुनुहोला । (अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकबाट)