– विमल योगी
काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशन जतिजति नजिकिँदैछ त्यतित्यति राजधानीका साथै विभिन्न जिल्लाहरूमा राजनीतिक रौनकताले तीब्रता पाएको छ । राजनीतिक तीब्रतासँगै कांग्रेसका नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।
उम्मेदवारी घोषणा गर्नेहरूमा अधिकांश युवा नेताहरू देखिएका छन् । महाधिवेन प्रतिनिधिदेखि जिल्ला कार्यसमितिहरूमा यस पटक युवाहरूले नै कब्जा जमाएका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत माग्न समेत सुरू गरिसकेका छन् ।
सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयका अनुसार हालसम्म प्राप्त परिणाम र जानकारीले पनि १३औँ महाधिवेशनमा युवा पुस्ताको बर्चश्व रहने देखिएको छ ।
यसैक्रममा सभापति पदका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइरालाले उम्मेदवारीमा मुख खोली सकेका छन् ।
पदाधिकारीमा पनि केही युवा नेताहरूको नाम चर्चामा छ । महामन्त्रीमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. शशांक कोइराला, खुमबहादुर खड्का, विमलेन्द्र निधी, डा.रामशरण महत, अर्जुननर सिंह केसी, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, आदिका नाम चर्चामा रहेको बुझिएको छ । महामन्त्रीमा यिनै अनुहारबाट निर्वाचित हुने एक कांग्रेस नेताले दाबी गरे ।
त्यसैगरी उपसभपातिमा कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव आदिले दाउ ताकेर बसेका छन् । कोषाध्यक्षमा यस पटक धेरै नेताहरूको आकर्षण देखिएको छ । हालको केन्द्रीय कार्यसमितिका अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीहरूले उम्मेदवारी दिन पक्कापक्की छ ।
केन्द्रीय सदस्यमा हालका केन्द्रीय सदस्य एवम् सांसद दीपक गिरी, दाङ जिल्लाका युवा नेता तथा सांसद राजु खनाल, केन्द्रीय सदस्य बद्री पाण्डे, प्रदीप पौडेल, नयनसिंह महर, शंकर भण्डारी, पुष्पा भुसाल, अम्रेश कुमार सिंह, सीता गुरूङ, रामहरि खतिवडा, डा.डीला संग्रौला, भुपेन्द्रजंग शाही, प्रतिमा गौतमलगायतको नाम चर्चामा छन् । उनीहरू सबैले खुल्लामा वा आरक्षण केमा उम्मेदवारी दिने भनेर स्पष्ट भनेका छैनन् ।
यस पटक कांग्रेसको केन्द्रस्य सदस्य र पदाधिकारीका लागि उल्लेख्य उम्मेदवारी पर्ने देखिएको छ । त्यसमा पनि युवा नेताहरूले नै बाजी मार्ने जानकारहरूको भनाइ छ ।












प्रतिक्रिया