२४ कार्तिक २०८३, मंगलबार

राप्रपा र राप्रपा नेपालबीच एकीकरण वार्ता शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapa-Lokendra Bd. Chand

काठमाडौं, ३ फागुन । पूर्वपञ्चहरुको एकता र विभाजनको नयाँ शृङ्खलाका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण वार्ता शुरु भएको छ ।

राप्रपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा आज दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच एकीकरण वार्ता शुरु भएको हो । संसद्को चौथो दल राप्रपा नेपाल र उसको माउ पार्टी राप्रपाले गठन गरेको वार्ता टोलीले एकीकरण प्रयासलाई अघि बढाएको हो ।

आजको वार्तामा दुवै तर्फका वार्ता टोलीका तर्फबाट आ–आफ्नो धारणा राख्ने काम मात्र भएको राप्रपा नेपालका वार्ता टोलीका सदस्य सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी राप्रपाका वार्ता टोलीका सदस्य सहप्रवक्ता किरण गिरीले आगामी दिनमा दुवै टोलीले ठोस प्रस्ताव ल्याएर वार्ता प्रक्रियालाई अघि बढाउने सहमति भएको बताउनुभयो ।

दुवै दलले एकीकरण वार्ताका लागि टोली गठन गरेका थिए । राप्रपा नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व उपाध्यक्ष राजीव पराजुलीले गर्नुभएको छ भने राप्रपाका महामन्त्री बुद्धिमान तामाङले आफ्नो पार्टीको तर्फबाट वार्ता टोलीको नेतृत्व गर्नुभएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपाबाट टुक्रिएर बनेको राप्रपा नेपालको संसद्मा समानुपातिकतर्फ २५ सिट पाएको थियो । माउ पार्टी राप्रपाका भने तीन प्रत्यक्षसहित १२ सांसद छन् । वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको महसुस गरेर दुवै दलले एकताको प्रयास शुरु गरेका हुन् । दुई राप्रपाबीच धर्मका विषयमा समान धारणा रहेको भए पनि संवैधानिक राजतन्त्रका विषयमा कुरा मिल्न सकेको छैन ।