२४ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियुको निर्वाचन प्रक्रिया सुरु, लामा र गौतम प्यानलबीच कडा प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lama-Deepak-Gautam

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले)को भातृ सङ्गठन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया हुनेछ । मतदान प्रक्रिया भने मङ्गलबारबाट हुने बताइएको छ ।

निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि पार्टीका सचिव गोकर्ण विष्टको संयोजकत्वमा बसेको बैठकले निर्वाचन प्रभावित पार्ने गरी प्रचार गर्न नपाइने, विवादका विषयलाई निर्वाचन कमिटीले आपसी समझदारीबाट टुङ्गो लगाउने निर्णयसमेत गरेको सचिव राधिका खतिवडाले जानकारी दिनुभयो ।

निर्वाचनलाई व्यवस्थित बनाउन सम्मेलनमा सहभागी प्रतिनिधिका लागि परिचयपत्र वितरण तथा व्यवस्थापनको कार्य समेत पूरा भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा आजसम्म कार्यक्रम स्थल लिइएकामा भोलि हुने मतदानको कार्य पनि सोही प्रतिष्ठानको परिसरमा गर्नका लागि व्यवस्था मिलाइएको छ ।

सङ्गठनको नेतृत्वका लागि मङ्गलबार बिहानबाट मतदान प्रक्रिया सुरु हुने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । अनेरास्ववियुको नेतृत्व लिन संस्थापनतर्फबाट नविना लामा र नेपाल पक्षबाट दीपक गौतम प्यानल मैदानमा उत्रिएको छ । दुबै पक्षबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

गत बिहीबारदेखि सुरु भएको सम्मेलन विवादका कारण मङ्गलबारसम्म लम्बिएको छ । सम्मेलनमा देशभरबाट एकहजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । रासस