
विक्रम सम्वत् २०५७ साल माघमा भर्खरै सशस्त्र प्रहरी बलको संस्थापक महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठलाई नियुक्त गरेपछि त्यस पदका अर्का दाबेदारका रुपमा रहेका तत्कालिन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रामकाजी बान्तवाले आफ्नो पदबाट राजीनामा दिए । त्यसपछि तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेलले एआईजी बान्तवाालाई बोलाएर सम्झाउँदै भनेछन्– ‘एआईजी साब, किन राजीनामा दिनुभयो ? राजीनामा फिर्ता लिनुस्, तपाईको लागि उपयुक्त स्थान हेर्दैछु ।’ तब बान्तवाले प्रतिप्रश्न गरेछन् ‘कुन उपयुक्त स्थान ? नेपाल प्रहरीको आईजी पनि खाली छैन्, सशस्त्र प्रहरीको आईजी पनि पूर्ति गरिहाल्नु भो, अब बाँकी भनेको एउटै छ तपाईँले ओगेटेको गृहमन्त्रीबाट तपाईँले राजीनामा दिए मात्रै मलाई उपयुक्त स्थान होला ?’त्यसपछि बान्तवा बाहिर निस्किएको प्रसंग पछिसम्म चर्चित थियो ।
प्रहरीमा एउटा सम्भावना भएका र आफ्नै क्षमताले स्थान बनाएका पूर्वप्रहरी अधिकृतहरु आफ्नो पेशागत एवं विशेषज्ञताभित्र आफ्नै किसिमले रम्ने गर्दछन् । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापश्चात भने नेपाल प्रहरीका पूर्व प्रमुखहरु राजनीतिक मैदानमा उत्रिए, त्यसमध्ये कोही पदिक हिसाबले सफल पनि भए, कोही अल्झिए । तर गणतन्त्रको लगत्तै भने नेपाल प्रहरीका पूर्व अधिकृतहरु भर्खरै जनयुद्धको धङधङीबाट मुलधारको राजनीतिमा आएका माओवादीमा क्रान्तिकारी छलाङ्गले मात्रै आफूलाई भित्र्याउने प्रयासमा लागे । एक प्रसंगमा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहले भनेका थिए- ‘माओवादीको तर्फबाट राज्यमन्त्रीस्तरीय जिम्मेवारी लिएर सरकारमा जाने प्रस्ताव आएको थियो तर प्रहरी कमाण्डरको नाताले ६१ भन्दा बढी माओवादीबाट मारिएका प्रहरी कर्मचारीको लाश बोकेको हातले माओवादीको झण्डा कसरी बोक्ने ?’ भनेर गइएन् । तर हिजो माओवादीलाई ठोक्न आदेश दिने थुप्रै माओवादीको झण्डा बोक्न गए । अहिले त्यस्तै दृश्य देखिन थालेको छ । माओवादीबाट बाहिरिएका नेताको नेतृत्वमा गठित ‘नयाँ शक्ति’ नाममा पार्टीमा फेरि पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वअधिकृत र पूर्व प्रशासकहरु सिंगारिएका छन् । भनिन्छ– यसरी सिंगारिएका पूर्वप्रहरी अधिकृत र पूर्व प्रशासकहरु सबैजसो हिजो बाबुराम भट्टराई सरकारमा रहँदा समिप्यमा रहेर काम गरेका वा केही न केही अवसर पाएकाहरु नै छन् । अवसर र सामिप्यहरुले बनाएको सान्निध्यता साँच्चै नै प्रभावशाली हुन्छन् सायद ।
पूर्वएआईजी राजेन्द्रबहादुर सिंहले भनेका थिए- ‘माओवादीको तर्फबाट राज्यमन्त्रीस्तरीय जिम्मेवारी लिएर सरकारमा जाने प्रस्ताव आएको थियो तर प्रहरी कमाण्डरको नाताले ६१ भन्दा बढी माओवादीबाट मारिएका प्रहरी कर्मचारीको लाश बोकेको हातले माओवादीको झण्डा कसरी बोक्ने ?’ भनेर गइएन् । तर हिजो माओवादीलाई ठोक्न आदेश दिने थुप्रै माओवादीको झण्डा बोक्न गए । अहिले त्यस्तै दृश्य देखिन थालेको छ । माओवादीबाट बाहिरिएका नेताको नेतृत्वमा गठित ‘नयाँ शक्ति’ नाममा पार्टीमा फेरि पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वअधिकृत र पूर्व प्रशासकहरु सिंगारिएका छन् ।
तर एउटा प्रश्न भने उत्रिरहन्छ- तीन दशक स्वतन्त्र र राजनीतिबाट टाढा बसेर सेवा गर्नुपर्ने संस्थामा आफ्ना उर्बर दिनहरु बिताएर बाहिरिएको सप्ता दिन पनि नपुग्दै राजनीतिक रथको एउटा सारथी हुन तयार रहनु भनेको ठूलै छलाङ हुँदै हो । प्रहरीभित्र यस्ता यस्ता विज्ञहरु पनि छन्, जो आफ्नै विज्ञतालाई स्वाभिमानका साथ सदुपयोग गर्न चाहन्छन् । तर, ती कुराहरु प्रहरीबाट अवकाश सँगसँगै अवसरको पर्खाईमा भौतारिएर नै खिइँदै गएको देखिन्छ । त्यसैले होला रामचन्द्र पौडेललाई चुनौति दिएर पदबाटै राजीनामा दिने पूर्वएआईजी रामकाजी बान्तवा धनुकाण्ड सम्बन्धि खेलकुदमा नै सीमित छन् । बाँचेकाहरु अच्युत, बालकृष्ण खरेलहरु मनिङ्ग वाकमा मन्दिर धाएर नै दिनहरु बिताउँदै गइरहेका छन् । कुनै पूर्वप्रहरी अधिकृत फेसबुक र विपश्यना ध्यान केन्द्रमा नै सीमित देखिन्छ । प्रहरीभित्र विद्धतामा राम्रो छाप छाड्न सफल डा. गोविन्दप्रसाद थापा, कुमार कोइरालाहरु सकारले दिनसक्ने र दिनुपर्ने स्थान नपाएपछि आफ्नै बलबुतामा आफूलाई स्थापित गर्ने क्रममा छन् । २३-२४ वर्षमा आफूले प्रहरी सेवा सुरु गर्दै विभिन्न अध्ययन, तालिम, अनुभव संगाल्दै तीस वर्ष बिताएर प्रहरी जीवनबाट बाहिर आउँदा ५३-५४ वर्षमा ती वर्ष पश्चात प्रहरीबाट बाहिरिँदा उस्तै उर्जा, ज्ञान, सीप, अनुभव स्वतन्त्र तबरले त्यसलाई सदुपयोग गर्ने आशा राखेर बस्दा बस्दै जीवन वित्दै जान्छ । त्यस बीचमा आफ्नै किसिमको तिक्तता, अनुभव गर्दै जीवन बुढ्यौलीतर्फ अगाडि बढ्दै जान्छ । तर पनि सरकारको पर्याप्त ध्यान पुग्दैन् । बढ्दो सीमा अपराध, आतंकवादी गतिविधि, साइबर क्राइम, राजनीतिक अस्थिरता, सीमा सुरक्षा, दैवी प्रकोप व्यवस्थापन जस्ता घटनाहरुसँग सम्बन्धित कुराहरुमा यी पूर्व प्रहरीका लामो अनुभव, अध्ययन, विशेषताहरुलाई प्रयोग गर्ने सम्बन्धमा सरकार र सम्बन्धित पक्षको थोरै पनि ध्यान पुगेको देखिँदैन् । सायद त्यही भएर होला प्रहरी जीवनबाट बाहिरिएको एक साता पनि नबित्दै राजनीतिको मैदानमा हाम फालेको ।
सरकार एवं सम्बन्धित पक्षले सोच्नैपर्छ, तीस वर्षसम्म सक्रिय रुपमा अपराध व्यवस्थापनमा बिताएर बाहिरिएका अनुभवी व्यक्तिहरुलाई उपयुक्त भूमिका र स्थान दिनैपर्छ । जसबाट सरकार र समाजले सजिलै तर प्रभावकारी कार्य गर्न र गराउन सक्छ । सरकारले यस सम्बन्धमा राम्रारी र संगठित रुपमा अध्ययन अनुसन्धान गरेर वा गराएर यसरी प्रहरी संगठनबाट लामो समय सेवा गरी अवकाश प्राप्त गरेकाहरुको अध्ययन, ज्ञान, अनुभवलाई सदुपयोग गर्न सान्दिर्भिक छ । होइन भने, तीस वर्षपछि फुकेको राँगो जस्तै बुर्कसी मार्न बाध्य हुन्छन् । र कहिल्यै नहिँडेको बाटो हिड्दा ठाउँ ठाउँमा ठक्कर खाँदै सिंगै फुकालेर फेरि आफ्नै थान्कोमा थन्किन बाध्य हुन्छन् ।












प्रतिक्रिया