नेपाल हिन्दू बाहुल्य मुलुक हो । यसको पहिचान पनि हिन्दूत्वका आधारमा हुने गरेको छ । हर विवाहको मौसम होस या प्रेमलापको कसम यहाँ रहेका मठ मन्दिर र देउरालीहरुलाई साक्षी राखेर गरिन्छ । तर, जव जव अंग्रेजि महिनाका तारिखहरुका खास दिन आउने गर्छन्, मान्छेले हिन्दुत्वको तिलाञ्जली दिन्छ र त्यहि तारिखका दिनमा रमाउने गर्छ । यहाँ इमान्दारीता र पहिचान भन्दा पनि रमाइलोको बाहना चाहिएको छ, सायद ।
फेब्रुअरी १४, अर्थात प्रणय दिवस भनिन्छ । के नेपाली वर्गले पनि यसलाई प्रणय मानेर आफ्नो पहिचानलाई गुमाउने कि प्रणय दिवसको खास दिनको अवसरका रुपमा आफ्नो इतिहाँस र धर्म संस्कृतिको पहिचान बढाउने ? यो बहस यहाँदेखि सुरु गर्न चाहन्छु, यहि फेब्रुअरी १४ को मौका पारेर । हामीसँग इतिहाँसको खडेरी छैन तर विश्वभरी छरिएर पनि यो इतिहाँसलाई विश्वव्यापीकरण गर्न सकिरहेका छैनौं । हामी भ्यालेन्टाइनको कथालाई किन मानेर विश्वव्यापी बनाउने ? हामीसँग भएको हिन्दु इतिहाँसलाई कायम गर्न सक्तैनौ र ? के हामी युवा पुस्ताको यो कर्म होइन र ?
नेपालका युवा वर्गमा अहिलेदेखि नै १४ फेब्रुअरी कसरी मनाउने भन्ने सल्लाह चल्न थालेको छ । के यो सल्लाह हामी विवाह पञ्चमीको दिनलाई बनाउन सक्तैनौं ? हामी दुःखद दिनलाई प्रेम दिवस मनाइरहेका छौं, हामी सुखद दिनलाई विश्वव्यापीकरण गर्न नसक्ने हो र ?
राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रही आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-स्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ। त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ। हजारौं वर्ष पूर्व त्रेतायुगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् । यहि इतिहाँसलाई हामीले किन विश्वव्यापीकरणका रुपमा अघि बढाउन नसक्ने ?
नेपालका युवा वर्गमा अहिलेदेखि नै १४ फेब्रुअरी कसरी मनाउने भन्ने सल्लाह चल्न थालेको छ । के यो सल्लाह हामी विवाह पञ्चमीको दिनलाई बनाउन सक्तैनौं ? हामी दुखद दिनलाई प्रेम दिवस मनाइरहेका छौं, हामी सुखद दिनलाई विश्वव्यापीकरण गर्न नसक्ने हो र ?
क्रिश्चियन परम्परालाई विश्वव्यापी गर्न हामी बहुसंख्यक हिन्दु किन लागि परेका छौं ? पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
तर, यसको प्रयोग युवा जोडीहरुले खुसीका रुपमा मनाउन थालेका छन् । यो खुसी हो की दुखी दिनको सम्झना ? अनि यसमा किन खुसी मनाउने ? यो न नेपाली बहुसंख्यक समुदायको धर्मसँग सम्बन्धित छ न प्रखर उदाहरणका रुपमा छ । भगवानका पनि भगवानका रुपमा मानिने महादेवको प्रेम कहानीलाई हामी किन मान्दैनौं ? उनले सतीदेविका लागि देखाएको प्रेम आशक्ति, उनको प्रेममा लिन भएर मृत शरिर बोकेको कथालाई किन प्रचारात्मक बनाउन सकिरहेका छैनौ ?
यो सँगै उच्चतम दिनका रुपमा विवाह पञ्चमी हुनसक्ने प्रस्ताव अघि सारेको छु, अब आफ्नो संस्कृतिको पहिचानलाई अगाडी बढाऔं । जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्ने इतिहाँस, चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ। यहि समयलाई उपयोग गरौं भन्ने मेरो प्रस्ताव हो ।
आजको पुस्ता जसरी १४ फेबु्रअरीको दिनलाई भयानक रुपमा मनाउने गर्छन्, उनले नेपाली धर्म, संस्कृति र परम्परा भन्दा पनि फरक धर्मको दर्शनले देखाएको बाटोलाई आप्mनो बनाउने प्रयत्न गरेका छन् । अहिले पनि गरिरहेका छन् । प्रत्येक वर्ष युवा शक्तिको यो कर्म देखेर एक पटक सोच्न बाध्य भइन्छ, की हामी कुन दिनलाई आफ्नो बनाइरहेका छौं र आफ्नो दिनलाई किन भुलिरहेका छौं । प्रणय दिवस नमनाऔं भन्ने प्रयत्न होइन, जसरी यो दिनलाई मनाइन्छ यो भन्दा पनि उत्सवका रुपमा आफ्नो इतिहाँसको प्रचार अहिलेका लागि मौका पनि भएकाले भन्छु, भ्यालेन्टाइन डेको मौलिक पहिचान विवाह पञ्चमीलाई मनाऔं ।















प्रतिक्रिया