१ कार्तिक २०८३, आइतबार

यसरी खोस्यो डिभीले खुसी…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dv-lottery-results

भैरहवा, ५ साउन । अमेरिकाको डीभी धेरैका लागि गजबको सपना हो। चाहेरमात्र हुँदैन, संयोगले जुर्छ यो अवसर। तर सिद्धार्थनगर ७ की ४१ वर्षीया सविता आचार्यको सबै खुसी भने डीभीले नै छिनेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

डीभी नपर्दा पनि सवितालाई केही कमी थिएन। २०५१ सालमा नवलपरासीको सुक्रौली गाविस ८ निवासी विश्वनाथ शर्मासँग वैवाहिक सम्बन्ध सुरु गरेकी सविताको जीवन रमाइलोसँग बितेको थियो। विवाह भएको दुई वर्षपछि छोरा जन्मियो। त्यसपछि उनको परिवारमा खुसी थपियो। विवाहपछि सविताको परिवारले उनका नाममा घरजग्गासमेत किनिदिएको थियो। २०६३ सालमा सवितालाई डीभी पर्‍यो। त्यसपछि उनको परिवारमा खुसी अझै थपियो।

डीभी परेपछि उनी पतिसँगै अमेरिका त पुगिन् तर उनका पति विश्वनाथले सवितालाई अमेरिकी रहनसहनअनुसार चल्न नसकेको आरोप लगाउँदै मानसिक यातना दिन थाले। सविताकी आमा लोचना आचार्य भन्छिन्, ‘अमेरिका पुगेको एक वर्षपछि पागल भएको भन्दै विश्वनाथ सवितालाई माइती पक्षलाई जानकारी नै नदिई काठमाडौंको सुन्दरीजलमा रहेको सुधारगृहमा छाडेर अमेरिका फर्केका थिए।’

यता माइती पक्ष भने छोरी अमेरिकामै रमाएकी होलिन् भन्दै खबरको आसमा बसे। पछि छोरी काठमाडौंमै रहेको थाहा पाएपछि माइती पक्षले उद्धार गरेर उनलाई भैरहवा लगेको थियो। ‘छोरी घरमा आउँदा उनको अवस्था खराब थियो। मानसिक रूपमा उनी विक्षिप्त थिइन्’ बुबा कृष्णप्रसाद आचार्यले भने।

भैरहवा जनकपथमा बस्दै आएकी सविताको उपचार तथा हेरचाहको काम अहिले माइती पक्षबाट भइरहेको छ। कृष्णप्रसादका अनुसार विश्वनाथले सविताका नाममा रहेको घरजग्गा नेपालमा रहेका देवर रवीन्द्रनाथ शर्माका नाममा अधिकृत वारेसनामा गरिदिएका छन्। छोरीमाथि भएको अन्यायका विरु द्ध आफूहरू विभिन्न स्थानमा धाउँदासमेत न्याय नपाएको आचार्यले बताए। विश्‍वनाथ भने दोस्रो विवाह गरेर अहिले अमेरिकातिरै मस्त छन्। सविताको उपचारमा मात्र अहिलेसम्म ३५ लाखभन्दा बढी खर्च भैसकेको आमा लोचना बताउँछिन्। अमेरिकामै रहेका सविताका कान्छा भाइले उनको उपचार गरिरहेका छन्।