काठमाडौं, १ फागुन । आधा दर्जनको संख्यामा रहेका माओवादी पार्टीहरूले आज २१औँ जनयुद्ध दिवस मनाउँदैछन् । उनीहरूले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउन लागेका हुन् ।
पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजे सानो कार्यक्रम राखेको छ । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले पनि सामान्य कार्यक्रम राखेको बुझिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भने राजधानीमा मार्चपासको कार्यक्रम राखेको छ । ‘विप्लव’ माओवादीले मध्यान्ह रत्नपार्क केन्द्रित विशेष कार्यक्रम राखेको स्रोतले जनाएको छ ।
कार्यक्रममा आफ्नो जनस्वयं सेवकलाई रातो ड्रेसमा उतार्ने बुझिएको छ । राज्यलाई चुनौति बन्दै आएको ‘विप्लव’ माओवादीले अरु माओवादीलाई देखाउन कै लागि पनि मार्चपास गर्न लागेको हो । मार्चपासका लागि सम्पूर्ण तयारी गरेको स्रोतले जनाएको छ ।

यसैबीच, विभिन्न माओवादी निकट विद्यार्थी संगठनहरूले २१औँ जनयुद्ध दिवसका अवसरमा राजधानीमा प्रभात फेरी गरेका छन् । सीमितको संख्यामा रहेका विद्यार्थीले फुटेका माओवादीहरू एक हुने पक्षमा नारावाजी गरेका थिए ।












प्रतिक्रिया