२४ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चामा जेपी, मातृका र गच्छदार नअटाउनुको यस्तो त छ रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaकाठमाडौं, २९ माघ । आधा वर्षको तराई मधेस आन्दोलन तुहिएपछि समस्यामा परेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई भन्दा पनि मोर्चामा अन्य दलहरुलाई समेट्ने तयारीमा लागेको छ । मधेसी मोर्चा आफ्नो आकार बढाउने कार्यमा सक्रिय छ ।

आफ्नो आकार बढाउन सक्रिय मधेसी मोर्चामा सहभागी हुने दलहरुलाई लिएर विवाद भएको छ । विशेष गरेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आआफ्नै अडानका कारण मधेसी मोर्चालाई चाहेअनुसारको आकार दिन नसकिएको पत्ता लागेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा रहेका दलहरुले मात्रै मधेसी मोर्चामा स्थानपाउने भन्दै एकतर्फी रुपमा मापदण्ड बनाएपछि तराई मधेस राष्ट्रिय अभियानका जेपी गुप्ता र नेकपा (माओवादी)का मातृका यादव मधेसी मोर्चामा नअटाएका हुन् । गुप्ता र यादवलाई रोक्नकै लागि उपेन्द्रले यस्तो मापदण्ड बनाएको स्रोतको भनाइ छ ।

मधेस आन्दोलन तुहिएपछि चिन्तित बनेका सद्भावना पार्टीका अध्यक्ष महताले मधेसी मोर्चामा मधेस केन्द्रित सबै दलहरुलाई समावेश गरी महागठबन्धन बनाउन प्रस्ताव राखेका थिए । महतोको प्रस्तावले आफूलाई राजनीतिक धक्का पुग्ने देखेपछि उपेन्द्रले संसदमा नआएका र आफूलाई मन नपरेका नेताहरुलाई मधेसी मोर्चामा प्रवेश गर्न बाटो रोकेको स्रोतको भनाइ छ ।

उपेन्द्रले जेपी र मातृकालाई रोकेपछि महतोले आक्रोश पोखेका छन् । मधेसी मोर्चामा राजकिशोर यादवको फोरम गणतान्त्रिक, शरत सिंह भण्डारी राष्ट्रिय मधेस समाजवादी पार्टी र अनिल झाको नेपाल सद्भावना पार्टीलाई मात्रै प्रवेश खुला गरेको छ । राजकिशोर, शरतसिंह र अनिल झाको संघीय समाजवादी गठबन्धनलाई टुक्र्याएर मोर्चामा बिलय गराउन मधेसी मोर्चा सफल भए पनि यसले राजनीतिक रुपमा धेरै फाइदा हुने देखिँदैन ।

यसैबीच, आज तीन बजे बस्ने मधेसी मोर्चाको बैठकको निर्णयसँगै राजकिशोर यादव, शरतसिंह भण्डारी र अनिल झाको गठबन्धन मधेसी मोर्चामा बिलय हुने छन् ।

उता, विजय गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई मधेसी मोर्चाले बाटो बन्द गरेको छ । गच्छदारले पटक पटक धोका दिएको भन्दै मधेसी मोर्चाले फोरम लोकतान्त्रिकलाई नो इन्ट्री गरेको स्रोतको भनाइ छ ।