७ कार्तिक २०८३, शनिबार

यी हुन् पैसा दिएर सांसद बन्न खोज्दा लुटिएका व्यक्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devkumar bartaulaकाठमाडौं, २९ माघ । सिन्धुपाल्चोकका कांग्रेस नेता हरिशरण श्रेष्ठलाई सभासद् बनाइदिने भन्दै ठगी गर्ने देवेन्द्रकुमार बर्तौलालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

बर्तौलाले श्रीमती सोफिलासँग मिलेर विभिन्न व्यक्तिसँग करोडौँ रकम ठगेको खुलेको छ । बर्तौलाले श्रेष्ठलाई भारत लगेर विभिन्न नेता र गुप्तचर अधिकारीबाट नेपालका नेतालाई फोन गर्न लगाएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सोही विश्वासमा परेर श्रेष्ठले बर्तौलालाई पटक–पटक गरी २० लाख रुपैयाँ दिएका थिए । तर, सभासद् नबनाएर बर्तौला भागेपछि श्रेष्ठ प्रहरीमा पुगेका हुन् । महानगरीय अपराध महाशाखाले बर्तौलालाई पक्राउ गरेको छ ।

उनकी श्रीमती सोफिला भने अझै फरार छिन् । ‘भारत पुर्‍याएर तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका राजनीतिक सल्लाहकार एचएन शर्मा र विदेश सल्लाहकार करण सिंहसँग भेट गराएर मलाई बर्तौलाले फसाएको हो,’ श्रेष्ठले भने, ‘खास ठग उसकी श्रीमती हो, तर उसलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।’

स्रोतका अनुसार करण सिंहले कांग्रेस नेता शेरबहादुर देउवालाई फोन गरी उनलाई सभासद् बनाउन आग्रह गरेका थिए । कांग्रेस सिन्धुपाल्चोककी नेतृ लीला नेपालमार्फत आफूले सोफिलालाई चिनेको र नाटकीय ढंगले विश्वासमा पारेर ठगेको श्रेष्ठले बताए ।

‘मजस्तो पढे–बुझेको नेतालाई त उनीहरूले ठगे भने सर्वसाधारणलाई कति ठगेका होलान्,’ नेता श्रेष्ठले भने, ‘उनीहरूको नेपालका ठूला नेताहरूसँग समेत निकटता छ ।’

श्रेष्ठ कांंग्रेसमा देउवा पक्षका नेता हुन् । उनी सिन्धुपाल्चोक कांग्रेसका सभापतिका आकांक्षीसमेत हुन् । कांग्रेसमा लामो समयदेखि राजनीति गरे पनि कहिल्यै टिकट नपाएपछि उनी पैसा खर्च गरेर भए पनि सभासद् बन्न खोज्दा फसेका हुन् । सुरुमा बर्तौला दम्पतीले श्रेष्ठसँग पैसाको कुरा गरेनन् ।

उच्च व्यक्तिहरूलाई भेटाएर विश्वासमा पारेपछि ५० लाख चाहिने प्रस्ताव राखेका थिए । श्रेष्ठ पनि ५० लाख तिरेर सभासद् बन्न तयार भए । दोस्रो संविधानसभा निर्वाचनलगत्तै सरकारले मनोनयन गर्ने २६ जनाको कोटामार्फत सभासद् बनाउने प्रलोभनमा श्रेष्ठ त्यसरी ठगिएका हुन् ।

श्रेष्ठलाई विश्वासमा पार्न बर्तौलाले भारतीय दूतावासका कतिपय कर्मचारीलाई भेटाए । त्यसपछि श्रेष्ठ विश्वस्त भएका थिए । सोहीअनुसार उनले पटक–पटक गरेर २० लाख रुपैयाँ दिए ।

२४ पुस ०७० मा बर्तौला दम्पती, नेता श्रेष्ठ र लीला भारत गएका थिए । त्यतिवेलासम्म सभासद् मनोनयनको टुंगो लागिसकेको थिएन । त्यहाँ विभिन्न उच्च व्यक्तिहरूसँग भेटेको श्रेष्ठले बताए ।

तर, २६ जनाभित्र नपरेपछि उनले आफू ठगिएको महसुस गरे । त्यसपछि बर्तौला दम्पती उनको सम्पर्कबाहिर गए । करिब दुई महिनाअघि पैसाको लोभले भन्दा उनीहरू कारबाहीमा परून् भनेर उजुरी दिएको श्रेष्ठले बताए ।

ठगीको मास्टरमाइन्ड देवेन्द्र नभई उनको श्रीमती हुन् । जो कांग्रेसको राजनीतिमा पनि छिन् । भारतीय दूतावासका अधिकारीसँग उनको राम्रो सम्बन्ध छ ।

भारतीय नेताहरू अरुण जेट्ली र राजनाथ सिंहसँग समेत उनीहरूको सम्बन्ध देखिएको छ । श्रीमतीको पहुँचकै आधारमा देवेन्द्रले विभिन्न आश्वासन दिएर ठगी गर्दै आएका हुन् । सोफियालाई पक्राउ नगर्न प्रहरीमाथि उच्चपदस्थ व्यक्तिहरूले नै दबाब दिएका छन् ।

विदेश पठाउने तथा केन्द्रीय विद्यालयमा निस्शुल्क भर्ना गर्ने भनेरसमेत उनीहरूले धेरैलाई ठगी गरेको खुलेको छ । भीमसेन श्रेष्ठ, कान्छा श्रेष्ठलाई क्यानडा र हस्तबहादुर श्रेष्ठलाई चेक रिपब्लिक पठाउने भनेर पनि उनीहरूले ठगी गरेको अपराध महाशाखा इन्स्पेक्टर गोविन्द पन्थीले बताए ।

विभिन्न कार्यक्रममा विदेश पठाउने भनेर पनि उनीहरूले ठगेका थिए । कतिपयसँग पैसा लिएर उनीहरूको बच्चालाई केन्द्रीय विद्यालयमा निस्शुल्क भर्ना गराएको, तर केहीलाई भने पढाउन नसकेपछि उजुरी परेको छ ।

यसअघि पनि उनलाई महाराजगन्ज प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेबित्तिकै अदालतबाट निषेधाज्ञा ल्याएर उनी छुट्ने गरेका छन् । ठगी गरेर पछिल्लो समय उनी अमेरिका भाग्न लागेका थिए ।

अमेरिकाको भिसासमेत लगाइसकेका उनले टिकट काट्दा ट्राभल एजेन्सीलाई समेत ठगी गरेका थिए । पैसा नभएको चेक दिएर उनले ठगी गरेका हुन् । त्यस्तै सापटका नाममा पैसा लिएर उनले पैसा नभएको चेक दिएर ठगी गर्दै आएका थिए ।