
काठमाडौं, २८ माघ । पाँच महिनादेखि आन्दोलन गरेर अहिले विवादमा फसेको संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको विस्तार हुने भएको छ ।
संघीय समावेशी गठबन्धनमा आबद्ध तीन राजनीतिक दललाई मधेशी मोर्चामा समाहित गर्ने औपचारिक निर्णय गरिएको छ । तमलोपा पार्टी कार्यालय विजुलीबजारमा आज बसेको बैठकले मोर्चालाई विस्तार गरि अगाडि बढ्ने निर्णय गरिएको सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो । जारी मधेश आन्दोलनलाई निर्णायक बनाउनका लागि मोर्चालाई विस्तार गरिएको कर्णले बताउनु भयो ।
तमलोपाको कार्यालयमा बसेको बैठकमा मधेशी मोर्चाको तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव हुनुहुन्थ्यो भने मधेशी गठबन्धनको तर्फबाट नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झा थिए ।
मोर्चा विस्तारको औपचारिक घोषणा भोलि तीन बजे पत्रकार सम्मेलनद्वारा गरिने जानकारी बैठकमा सहभागी रामसपा प्रवक्ता केशव झाले दिनु भएको छ । सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनलाई निर्णायक बनाउन महागठबन्धन बनाउने प्रस्ताव राखिए संगै यसको लागि गृहकार्य शुरू भएको थियो । गठबन्धनमा आबद्ध तमरा अभियानका जेपी गुप्तालाई पनि मोर्चामा आबद्ध गर्न सदभावनाको प्रस्तावलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेका थिए । मोर्चाको शीर्ष नेताहरूको गत सोमबार बसेको बैठकले मोर्चा विस्तार गर्ने सहमति भएपनि जेपी गुप्ता र मातृका यादवलाई मोर्चामा कुनै हालतमा समावेश नगर्ने बताएका थिए ।












प्रतिक्रिया