काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको एजेण्डाको विषयमा कुनै निर्णय गर्नुअघि सबैसँग छलफल गरेर मात्रै धारणा बनाउनु पर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री समग्र नेपालको नेतृत्व लिएर भारत भ्रमणमा जानु पर्नेभन्दै भारतले पनि नेपालको जटिलता र स्वाभीमानलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
कांग्रेस नेता केसीले भारतसँगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्नेभन्दै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य राजन भट्टराईले सन् १९५० सहितका असमान सन्धी, सम्झौत र सीमा विवादका कुरा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा उठाउनु उपयुक्त नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले गठन गरेको प्रबुद्ध ब्यक्तित्वहरूको समूह सन् १९५० देखिका असमान सन्धी पुनरावलोकनसहित नेपाल–भारत सम्बन्ध २१ औँ शताब्दी सुहाउँदो बनाउन सुझाव दिन गठन भएको हो । त्यसले प्रक्रिया अगाडि बढाइसकेको छ । दुई नेतावीच यस्ता कुरा गर्नु उपयुक्त हुँदैन ।’
भट्टराईले प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा राजनीतिक र दीर्घकालीन प्रकृतिका विषयहरू भएको भन्दै दुई देशवीचको ब्यापार सहज बनाउने, नेपालको आर्थिक विकासमा भारतको सहयोग लिने, विगतमा सहमति भएका तर कार्यान्वयन नभएका योजनालाई छिटो अगाडि बढाउने र पुनःनिर्माणकोलागि भारतले घोषणा गरेको सहयोग कुन–कुन परियोजनामा खर्च गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।
एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले भारतले नेपालमाथि गरेको नाकाबन्दीको विषयमा जवाफ दिनु पर्नेभन्दै त्यसपछि मात्रै सम्बन्ध सुमधुर बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
परराष्ट्रविद् डा.निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सूची बोकेर जानुभन्दा पनि पूरा नभएका पुराना एजेण्डा नै कार्यान्यवयनमा जोड दिनु पर्ने बताउनुभयो ।












प्रतिक्रिया