काठमाडौं, २८ माघ । झण्डै आधा वर्षदेखि तराई मधेसमा आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गतिविधिहरु शिथिल भएका छन् । सामान्य कार्यक्रम गर्नेभन्दा ठूदा प्रदर्शन गर्न नसकेको मधेसी मोर्चाले सरकारसँग सम्झौता पनि गर्न सकेको छैन ।
मधेसी मोर्चाको आन्दोलनका विषयमा तराई मधेस लोकतान्त्रिक पार्टी महामन्त्री जितेन्द्र सोनलले आन्दोलनका बेला शीर्ष नेतृत्वबाट केही त्रुटि भएको स्वीकार्नु हुन्छ । ‘आन्दोलनमा केही न केही त्रुटि भएको छ । राज्यले पनि दमनको नीति लियो’, उहाँले भन्नुभयो, ‘हामी आन्दोलनमा छौँ । आन्दोलनका सफ्ट कार्यक्रम यथावत छन् ।’
महामन्त्री सोनलले अब जनतासँग माफी मागेर आन्दोलनका विषयमा उनीहरुलाई बुझाएर कडा आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
सरकारले कार्यदलस्तरमा सहमतिको प्रस्ताव बनाउने तयार भएको थियो ।
तर मधेसी मोर्चाको नाकामा धर्ना बस्ने कार्यक्रम फिर्ता भएपछि सरकारी पक्षबाट कार्यदलमा समेत मागका विषयमा छलफल हुन छाडेको छ । शीर्ष तहमा हुँदै आएका वार्ता पनि लामो समयदेखि बस्न सकेका छैनन् ।
मधेसी मोर्चाका शीर्ष नेताहरुलाई जिल्लाबाट कार्यकर्ताले आन्दोलनका विषयमा विभिन्न खाले कडा प्रश्नसमेत गर्न थालेका छन् । मधेसी मोर्चाका शीर्ष नेतृत्वलाई आन्दोलनका विषयमा स्पष्ट जवाफ दिन हम्मेहम्मे परेको एक नेताले बताए ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले पनि आन्दोलनलाई उचाइँमा पुगाउनुभन्दा अर्को विकल्प नरहेको बताउनु हुन्छ । ‘हामी आन्दोलनमा छौँ । मधेसी मोर्चामा विभाजन आएको छैन । सामान्य खटपट मात्रै भएको हो’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाको पछिल्लो विज्ञप्तिमा ४ नम्बर बुँदामा रहेको विषयमा मात्रै सद्भावनाको आपत्ति छ ।’ ४ नम्बर बुँदामा सद्भावना अध्यक्ष राजेन्द्र महतोलाई मधेस आन्दोलनका विषयमा आइन्दा जथाभावी नबोल्न सचेत गराइएको थियो ।
यसैबीच, मधेसी मोर्चाका दुई शीर्ष नेताहरु राजधानी बाहिर गएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर विराटनगर जानु भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादप बारामा हुनुहुन्छ । उहाँहरु छिट्टै राजधानी फर्किएपछि आन्दोलनका विषयमा समीक्षा हुने जनाइएको छ ।
सद्भावना पार्टीका अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने राजधानीमा हुनुहुन्छ ।












प्रतिक्रिया