७ कार्तिक २०८३, शनिबार

सुशील’दा को निधनमा मुस्काराएका अनुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौं, २८ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्बप्रधानमन्त्री सुशील कोइरालाको सोमबार राति १२ बजेर ५० मिनेटमा निधन भएको खवर मुलुकभर भाईरलको रुपमा फैलिँदा उनका कार्यकर्तादेखि शुभेच्छुकसम्मलाई भावुक तुल्यायो ।

कोइरालाको आकस्मिक निधनपछि उनका लाखौं कार्यकर्ता तथा उनको सादगी र साधरण जीवनपद्धतिप्रति श्रद्धा राख्ने शुभचिन्तकहरु भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरिरहँदा कांग्रेसका केही नेतामा भने मन्द मुस्कान देखिएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

कोइरालालाई सुशीलदाको नामबाट पुकार्नेहरु मेचिदेखि महाकालीसम्मका कांग्रेसीहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहँदा कांग्रेसका केही नेतामा मन्दमुस्कान मात्र होइन, अट्टाहास हाँसोले कतिपय कार्यकर्तालाई घोचेको पनि थियो ।

कतिपय केन्द्रीय सदस्य र सांसदहरु सुशीलदाको पार्थिव शरिरप्रति श्रद्धासुमन अर्पण गर्नुभन्दा पहिले गोजीबाट मोबाईल झिकेर तस्वीर खिच्न र सेल्फीमा हान्नमै व्यस्त देखिन्थे ।

मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाउँदा होस वा आर्यघाटमा श्रद्धाञ्जली दिँदा नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको अनुहारमा एक खालको खुसी र चमक झल्कन्थ्यो ।

तर, सुशीलदाको श्रद्धाञ्जली कार्यक्रम होस वा पदयात्रा हरेक स्थानमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको अनुहारमा भने एक किसिमको निरासा, भावुकता र चिन्ता झल्कन्थ्यो ।

सुजाता कोइरालाले त मंगलबार भारतीय बिदेशमन्त्री सुष्माराज स्वराजको टोलीलाई ‘रिसिभ’ गर्दा निरासा त परै जाओस् खुसीले गदगद भएझै गरी मुस्कान छाडीरहेकी थिइन् ।

उनले अन्तिम श्रद्धाञ्जली दिँदा आर्यघाटमा समेत मन्द मुस्कान दिन छाडिनन् । त्यस्तै खुसीको मुस्कान पौडेलले पनि व्यक्त गरेका थिए । विदेशी पाहुना होस वा राजनीतिक दलका नेता हुन, उनीहरलाई रिसीभ गर्न जाँदा सुजाता मुस्कुराई रहेकी थिइन् ।

कोइरालाको निधनपछि निकट भविश्यमा हुने पार्टीको महाधिवेसनमा आफुलाई सभापतिको लागि बाटो खुलेको वा अबरोध हटेको मानसिकताले ति नेतामा अट्टाहास हाँसो आएको हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

आगामी फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने पार्टीको १३ औं महाधिवेसनमा बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र नेतृ सुजाता कोइराला भने सुसिलदाको सभापतिमा पुन उम्मेदवारी हुन सक्ने भन्ने त्रासमा थिए । पौडेल र सुजाता दुबैले सुसीलदाको बिरासत आफुहरुले धान्ने भनेर पार्टी नेतृत्वको दाबी गर्ने गरेका छन् ।

यता देउवा पनि विगतको संसदीय दलको चुनावमा र पार्टी महाधिवेसनमा सुशिल कोइरालसँग बारम्बार पराजित भएको घटनाबाट तर्सिने गरेका छन् । सुशीलदाको निधनपछि उनले पनि आफुलाई सभापति बन्ने बाटो खुलेको अनुभव गरेको हुनसक्छन् ।

त्यस्तै, गिरिजापुत्री सुजातालाई सुशीलदाको कृपाकै कारण कोइराला परिवारभित्रका सम्भावित उत्तराधिकारी भनेर चर्चामा आएका नोना पुत्र डा. शेखर र बीपी पुत्र डा. शसांकलाई सुशिलदाले बढी स्पेस दिएको अनुभव र आशंका हुनसक्छ ।

त्यसैले होला सुशीलदाको अवसानमा सुजाताले आफ्नो उन्नती देखेकी होलीन् । सायद अन्तस्करणबाट उनले सोचेकी होलिन अब सुशीलदा डा. शसांकको घरलाई निवास बनाएबापत अब बिशेष प्रिभिलेज अब डा. शसांकले पाउने छैनन् ।

त्यस्तै, नोना पुत्र डा. शेखरले पनि राजनीतिक बार्गेनिङ गरी सुशिलदालई तर्साउने छैनन् । त्यही बुझेर होला सुजाताको हाँसो वा अनुहारमा चमक बनावटी नभएर स्वतस्फुर्त अभिब्यक्तिको रुपमा बाहिर आएको ।

कोइरालाको निधनसँगै साँझ आ आफ्ना सीमित कोटरीमा बसेर महाधिवेसन प्रतिनिधिहरुको लेखाजोखा गरिरहका देउवा, पौडेल र सुजातालाई भित्र भित्रै खुसी लागेको हुनसक्छ । सुशीलको भौतिक शरिर नैं यो धर्तीमा नरहेको बेला उनको राजनीतिक अबसान त भयो भनेर बुझ्नेहरुले नैं आफ्नो उन्नती ठान्न थालेका छन् ।

तर दुनियाँले बुझ्नु पर्ने कुरा के छ भने बिगतमा सुशीलदा यो दिनु भएन र त्यो गर्नु भएन भनेर गनगन गर्ने रामचन्द्र पौडेल हुन वा सुजाता र सँधै केही नपाएको भनेर गुनासो मात्र गर्ने शेरबहादुरहरुलाई सुशीलदाको निधनले त्यो अवसरबाट भने पक्कै मुक्त गरेको छ ।

अबका दिनमा पार्टीलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर कुनैं राजनीतिक योजना, कार्यदिशा वा रणनीति सम्म बनाउन नसक्ने र संविधान कार्यान्वयनका लागि कम्युनिष्ट बाहुल्य संसदमा कांग्रेसको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर चिन्तनसम्म गर्न नसक्ने देउवा, पौडेल र सुजाताको महत्वकांक्षाले पार्टीलाई कहाँ पु-याउला यसै भन्न सकिन्न ।

संस्थापन पक्षबाट सँधै अवसर लिइरहने तर संकटको बेला संस्थापन पक्षलाई सत्तोसराप गरी हिंड्ने नेताहरु आज गिरिजाप्रसाद कोइरालाले देखाएको राजनीतिक कार्यदिशालाई नेतृत्व दिन्छु भनेर हिड्दा पुराना कांग्रेसी कार्यकर्तालाई लज्जाबोध हुन थालेको छ ।

छोरालाई जागिर, नजिकलाई मन्त्री र व्रिफकेसमा प्राप्त भए जस्तोसुकै बिषयमा पनि सम्झौता गर्न सक्ने कमजोर मानसिकता भएका कांग्रेसका नेतामा पार्टी नेतृत्व कथंकदाचित गयो भने ‘भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, तर काँध थाप्न सकिन्न’ भने झैं कांग्रेसको भविश्य पनि प्रजापरिषद्को पथमा नजाला भन्न सकिन्न् ।