२९ आश्विन २०८३, बिहिबार

गैरप्रहरीलाई सुराकीमा खटाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surakiकाठमाडौं, ४ साउन । नेपाल प्रहरीले आपराधिक सूचना संकलन प्रभावकारी बनाउन सर्वसाधारण र अन्य पेसाकर्मीलाई सुराकीका रूपमा खटाउने भएको छ।

गैरप्रहरी सुराकीले प्रहरीले गर्दै आएको कारबाहीबाहेक अपराध र अपराधीसँग सम्बन्धित सूचना संकलन, शान्ति सुरक्षामा प्रभाव पार्ने व्यक्ति वा समूहको निगरानी गर्नेछन्। संगठन बाहिरकालाई जासुसीमा परिचालन गर्न प्रहरी प्रधान कार्यालयले निर्देशिका तयार गर्दैछ।

यसअघि गोप्य सूचना संकलनका लागि सर्वसाधारण र अन्य पेसाकर्मीलाई सूत्र बनाएर खटाउने कानुनी अधिकार राष्ट्रिय अनुसन्धान विभागमा मात्रै थियो। विभागको सूत्र परिचालन राष्ट्रिय सुरक्षा र राज्य संयन्त्रमा जोडिएकाहरूको निगरानीमा केन्द्रित भएपछि आपराधिक समूह, तथा व्यक्तिको निगरानी र सूचना संकलन गर्न नयाँ प्रहरी नियमावलीले सूत्र परिचालनको अधिकार प्रहरीलाई समेत दिएको छ।

वैशाखमा लागु भएको नेपाल प्रहरीको नियमावली, २०७१ को नियम १९५ मा प्रहरीलाई समेत अपराध नियन्त्रण वा अनुसन्धानसम्बन्धी सूचना संकलनका लागि गोप्य रूपमा परिचालन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार प्रहरी प्रधान कार्यालयले सूत्र परिचालनका लागि इन्टेलिजेन्स महाशाखा गठनको तयारी सुरु गरिसकेको छ।

‘संगठनमा औपचारिक रूपमा नजोडिएकालाई समेत सुराकीका रूपमा परिचालन गर्ने तयारीमा छौं,’ अपराध अनुसन्धान विभागका निमित्त प्रमुख डिआइजी सुरेन्द्र शाहले भने, ‘यसले संगठनको इन्टेलिजेन्स नेटवर्क बढाउनेछ।’

प्रधान कार्यालयका अधिकारीका अनुसार सूत्र परिचालनका लागि डिआइजी प्रमुख रहने गरी अपराध अनुसन्धान विभागको मातहतमा इन्टेलिजेन्स महाशाखा गठन गरी पछि त्यसलाई निर्देशनालयमा विकास गर्ने तयारी सुरु भइसकेको छ।

यसका लागि प्रधान कार्यालयले सूत्र परिचालन निर्देशिका बनाउन गृहकार्य सुरु गरेको छ। गृहमन्त्रालयको कानुन महाशाखासँग सहकार्य गरेर निर्देशिका बनाइन लागेको हो। नागरिक दैनिकबाट