काठमाडौं, ४ साउन । नवौं महाधिवेशन सकिएलगत्तै एमाले मा नेताहरूको मर्यादाक्रम कसरी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ। महाधिवेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ।
धेरै मत ल्याएकालाई पहिलो नम्बरमा राख्ने कि संगठनमा काम गरेका आधारमा वरीयता दिने भन्ने विषयमा नेताहरुका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।
धेरै मत ल्याएका आधारमा वरीयता तोक्ने हो भने भीम रावल पर्छन् भने संगठनमा काम गरेको आधार बनाउँदा स्वाभाविक रूपमा वामदेव गौतम नै उपाध्यक्षको नम्बर एक मर्यादाक्रममा रहन्छन्।
विगतमा भने पार्टी संगठनको कामलाई आधार बनाउने गरिएको थियो। आठौं महाधिवेशनमा तीन उपाध्यक्षमध्ये अशोक राईले सबैभन्दा धेरै मत ल्याए पनि वरीयता निर्धारण गर्दा वामदेव गौतमलाई पहिलो नम्बरमा राखिएको थियो। र, कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि गौतमलाई नै दिने गरिएको थियो।
माधवकुमार नेपालले प्रधानमन्त्री पद छाड्नुपर्छ भनेर गौतमले विज्ञप्ति निकालेपछि एकपटकबाहेक तत्कालीन अध्यक्ष झलनाथ खनालले आफ्नो अनुपस्थितिमा गौतमका साटो राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्न पाउने भएकाले अहिले पनि यो विषय पेचिलो बनेको हो।
अहिले पार्टीअध्यक्ष केपी शर्मा ओली पक्षधरले पार्टीमा पुर्यानएको योगदानका आधारमा वरीयता निर्धारण हुनुपर्ने मत राख्छन् भने लोकप्रिय मतका आधारमा वरीयता तोक्नुपर्ने नेपाल पक्षको तर्क छ।
नवौं महाधिवेशनमा रावलले १ हजार १ सय ४३ मत ल्याएका थिए भने गौतमको मत १ हजार १ सय ३८ थियो। नागरिक दैनिकबाट















प्रतिक्रिया