२४ कार्तिक २०८३, मंगलबार

अचानक किन काठमाडौं आइन् भारतीय विदेशमन्त्री ? कोइरालाको निधन ठूलो मौका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल आएको भारतीय प्रतिनिधीमण्डल
नेपाल आएको भारतीय प्रतिनिधीमण्डल

काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न छोटो भ्रमणमा नेपाल आएको भारतीय टोलीको उद्देश्य अर्कै भएको खुलासा भएको छ ।

दिल्ली स्रोतका अनुसार स्वराजको भ्रमण नेपाल र नेपाली जनतालाई फकाउनका लागि गरिएको बुझिएको छ । यद्यपी भारतीय प्रतिनिधीमण्डलले कोइरालाप्रति काठमाडौंको दशरथ रंगशाला पुगेर श्रद्धाञ्जली व्यक्त गरिसकेको छ ।

तर, कोइरालाको निधन भारका लागि ठूलो अवसर र श्रद्धाञ्जली दिनु नेपाल छिर्ने निहुँ मात्रै रहेको बुझिएको छ । पाँच महिना लामो नाकाबन्दीले भारतसँग रिसाएका नेपाली जनता र नेताहरुलाई श्रद्धाञ्जलीको निहुँमा भारत नजिक छिमेकी रहेको सकारात्मक सन्देश प्रवाह गर्न भारतीय टोली नेपाल आएको हो ।

भारतीय टोलीको नेतृत्व विदेशमन्त्री सुष्मा स्वराजले गरेकी थिइन् । कोइरालाको निधनको मौका छोपेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजसहित विपक्षी नेताहरुलाई पनि आग्रह गरेर नेपाल पठाएको खुल्न आएको छ ।

नेपाल आएको भारतीय प्रतिनिधीमण्डलमा विदेशमन्त्री स्वराज, भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम योचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल रहेका छन् ।

अकस्मात भारतीय टोली नेपाल आउनुका चार कारण

१) कोइरालालाई श्रद्धाञ्जली दिनः
बाहिर प्रचार गरिएअनुसार भारतीय प्रतिनिधीमण्डल पूर्वप्रधानमन्त्री कोइरालालाई श्रद्धाञ्जली दिन काठमाडौं आएको हो । यद्यपी श्रद्धाञ्जली दिन मात्रै भारतीय टोली नेपाल आएको भने होइन् । श्रद्धाञ्जली दिनु भारतको कर्तव्य पनि थियो जून पुरा गर्यो । किनकि कोइरालाले भारतका लागि धेरै गरेका छन् ।

२) नेपाल-भारत सम्बन्ध सुधारः
नेपालको संविधानमा असहमति जनाउँदै भारतले पाँच महिनासम्म अघोषित नाकाबन्दी गर्यो । कारण मधेसी जनतालाई देखायो । मधेस आन्दोलन देखायो र संविधान संशोधनका लागि प्रस्ताव समेत पठायो । जून प्रस्ताव कोइराला सरकारले नै संसदमा पेस गर्यो । अन्तिममा त्यही पारित भयो । तर, यो बीचमा नेपाली जनता भारतप्रति निकै रुष्ट भए । अब नाकाबन्दी हटेपनि नेपाली जनताको मनमस्तिष्कमा भारतप्रति रहेको घृणा, नकारात्मक विचार र भारतविरोधी गतिविधी रोक्नु भारतका लागि ठूलो चुनौति छ । त्यसलाई मत्थर पार्न मोदीले अकस्मात आफ्नो प्रतिनिधी मण्डल नेपाल पठाएका हुन् । जसअनुसार भारतीय टोलीले कांग्रेसका पदाधिकारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेको छ ।

३) संविधान संशोधनः
मधेसका माग सम्बोधनका लागि अन्ततः कोइराला सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव संसदबाट पारित भयो । जून भारतले चाहेको बताइन्छ । उक्त संशोधन प्रस्तावले मधेसीका केही माग पनि पुरा भए र भारत पनि सन्तुष्ट भयो । फलस्वरुप नाकाबन्दी हटायो । यसले के देखाउँछ भने आफूले चाहेको अनुसार कोइरालाले संविधान संशोधनका लागि भुमिका खेलेको बुझाइ भारतमा रहेको र श्रद्धाञ्जली अपर्ण गर्नु कर्तव्य ठान्यो । श्रद्धाञ्जली दिन आएको भारतीय टोलीले पनि स्व कोइरालाले नै नेपालमा संविधानसभाबाट संविधान ल्याएको बताउँदै संविधानमा सबैको अपनत्व गराउन कोइराला नेतृत्वको सरकारले नै संविधानको पहिलो संशोधनमा प्रस्ताव दर्ता गराएको स्मरण गरेका थिए ।

४) चीनसँग नेपालको व्यापार सम्बन्ध बढ्न नदिनुः
आजको भारतीय प्रतिनिधीमण्डलको भ्रमणको मुख्य उद्देश्य नेपालसँग आफू नजिक हुनु र चीनलाई विस्थापन गर्नु रहेको देखिन्छ । नाकाबन्दीले पछिल्लो समय नेपालमा चीनको गतिविधी बढ्न थालेपछि दिल्ली चिन्तित थियो भने विपक्षी दलका नेताहरुले त भारतीय संसदमै मोदी सरकारमाथि प्रश्न उठाएका थिए । हुन पनि नाकाबन्दीका कारण नेपालको इन्धन व्यापारमा एकलौटी राज गर्दै आएको भारतलाई काउन्टर दिँदै नेपालले पहिलोपटक चीनसँग इन्धन व्यापार सम्झौता गरेको थियो । यसलाई अगाडि बढ्न नदिन भारतले थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । उसो त भारतले नाका खोलेपछि नेपाल सरकारले चीनसँग व्यापार सम्झौता गर्नमा ढिलाइ गरिरहेको छ ।