काठमाडौँ, २६ माघ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानसभाबाट संविधान जारी गर्न नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
एमाले गोकर्णेश्वर नगरपालिका वडा नं १२ को प्रथम अधिवेशनको आज गोकर्णमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“उहाँलाई संविधान जारी नगर्न धेरै दबाब परेको थियो, कोइरालाले चाहेको भए संविधान रोकिन्थ्यो, यसैले समयमै संविधान जारी गर्न कोइरालाले ठूलो योगदान दिनुभएको छ”– नेता नेपालले भन्नुभयो ।
कोइराला लामो समय बिरामी हुँदा मुकाबिला गरेर रोग निको पारी अहिले अप्रत्याशित रुपमा निधन भएको उहाँले सुनाउनुभयो ।
सांसद रामेश्वर फुँयालले वागमतीको दायाँबायाँ सोलार बत्ती राख्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र सांसद विकास कोषको बजेटबाट काम थालनी भएको जानकारी दिनुभयो । पहिलो चरणमा नारायणटारपुलदेखि माथिको वागमतीमा सोलार बत्ती राख्ने गृहकार्य गरिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा एमाले काठमाडौँका कावा अध्यक्ष कृष्ण राईलगायत वक्ताले वागमती सफाइको काममा मुहानदेखि नै अभियान जारी राखिनुपर्नेमा जोड दिनुभयो । रासस












प्रतिक्रिया