काठमाडौं, २५ माघ । मधेसी मोर्चाभित्रको विवादले सोमबारदेखि नयाँ चरण सुरु गरेको छ । झण्डै आधा वर्षको संयुक्त आन्दोलन गर्दै आएको मधेसी मोर्चाका घटक दलहरुका शीर्ष नेताबीचको टकरावले नयाँ रुप लिएको हो ।
मधेसी मोर्चाको सोमबार राजधानीमा बसेका गोप्य बैठकहरुले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई चेतावनी दिँदै आइन्दा आन्दोलन विरोधी अभिव्यक्ति नदिन चेतावनी दिएपछि विवादले नयाँ रुप लिएको हो ।
मधेसी मोर्चाको बैठकपछि जारी गरिएको भनिएको प्रेस विज्ञप्तिमा महतोले हस्ताक्षर गरेका छैनन् । सो विषयमा सोधिएको जिज्ञासामा सद्भावना पार्टीका महासचिव मनीष सुमनले विज्ञप्तिको ४ नम्बर बुँदामा असमति रहेकाले अध्यक्ष महतोले हस्ताक्षर नगरेको बताएका थिए ।
सुमनको सो अभिव्यक्तिलाई काउन्टर दिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले सोमबार दोस्रो पटक बसेको मधेसी मोर्चाको बैठकले महतोलाई जथाभाव नबोल्न निर्देशन दिएको दाबी गरेका छन् ।
प्रेस संयोजक चौरसियाले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर भनेका छन्, ‘राजेन्द्र महतोको आन्दोलन विरोधी पछिल्लो क्रियाकलापबारे साझा धारणा तय गर्न आइतबार साँझ नै महन्थ ठाकुर निवासमा बसेको मोर्चा बैठकले महतोसँग स्पष्टीकरण सोध्ने तयारी गरेको थियो । तर, एक पटक महतोजीलाई बोलाएर उनको पनि कुरा सुनौं भनेर सोमबार बिहान महतोसहितको बैठक बस्यो ।‘
‘जसमा माफी नमाग्ने महतोले अडान लिए तर स्पष्टीकरण दिनु पर्ने अडान बाँकी तीन नेताको । सोमबार दिउँसो पुनः बैठक बस्यो । र, आउँदा लिखित स्पष्टिकरण लिएर आउन महतोलाई निर्देशन पनि भयो । दिउँसो बैठक त बस्यो तर महतो आएनन्, न त उनको माफीनामा । र, महतोको प्रतिक्रिया समेतमाथि छलफल गर्दै बाँकी तीन जना नेताको संयुक्त निर्णय एवम् हस्ताक्षरमा विज्ञप्ति जारी भयो ।’, चौरसियाले अगाडि भनेका छन्, ‘तर, सद्भावना पार्टीका महासचिवले विभिन्न मिडियामा भ्रम सिर्जना गर्दै भनेका छन्, ‘एक जना मान्छे विज्ञप्तिमा हस्ताक्षर गरिदिनु प¥योभन्दै हामी कहाँ आएका थिए । एउटा बुँदामा हाम्रो असहमति भएकोले हस्ताक्षर गरेनौं ।’ सपाका महासचिवलाई सोध्न चाहन्छु, तपाई भ्रम सिर्जना गर्ने गरी मनगढन्त झूठो कुरा गर्नु भएको होइन भने विज्ञप्तिमा हस्ताक्षर गराउन तपाईहरु कहाँ आउने मान्छेको नाम भन्न सक्नु हुन्छ ? महतोजीलाई विज्ञप्तिमा हस्ताक्षर गर्न न कसैले आग्रह गरेको हो, न कोही हस्ताक्षर गराउन उनी कहाँ गएको हो । झूठको पनि हद हुन्छ ।’
सोमबारको विज्ञप्तिको ४ नम्बर बुँदा र त्यसपछिको राजनीतिक घटना क्रमले अन्ततः मधेसी मोर्चाको गठबन्धन टुटेको स्पष्ट संकेत देखिएको छ । योसँगै अब मधेसी मोर्चा नजुट्ने गरी टाढिएका छन् ।












प्रतिक्रिया