
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्रीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँले भ्रमणका क्रममा आफूले उठाउनुपर्ने विषयमा परामर्श गर्नुभएको हो । परामर्शमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले राष्ट्रिय हित र आवश्यकतालाई मुख्य केन्द्रबिन्दुमा राखेर द्विपक्षीय छलफल हुनुपर्नेमा जोड दिनुभएको थियो ।
पूर्वप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीको धारणा एवम् सुझावलाई सुनेपछि प्रधानमन्त्री ओलीले आफ्ना विषय सूत्रबद्ध रुपमा प्रस्तुत गर्नुभएको थियो । “नेपाल एक स्वतन्त्र र सार्वभौम मुलुक भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय पक्षसँग कुराकानी गर्छु”, प्रधानमन्त्रीले भन्नुभयो, “ भारतले सदैव नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान तथा यो स्वतन्त्र राष्ट्र रहेकाले यसले स्वतन्त्र हैसियतले निर्णय गर्न सक्ने मान्यताको स्वीकार गर्नुपर्ने विषय नै हालका लागि महत्वपूर्ण विषय हो ।”
भारतको अघोषित नाकाबन्दीपछि नेपालले राख्दै आएको स्वाभिमानको अडान कायमै राख्ने तथा भविष्यमा समेत सार्वभौमसत्ता र अखण्डता तलमाथि हुन नदिने गरी भ्रमणका क्रममा आफ्नो धारणा राख्ने प्रधानमन्त्रीको भनाइ रहेको उहाँका परराष्ट्रविज्ञ गोपाल खनालले जानकारी दिनुभयो । यस्तै पञ्चशीलको आधारभूत सिद्धान्त एवम् संयुक्त राष्ट्रसङ्घको बडापत्रानुसार नेपालले छिमेकीसँगको सम्बन्धलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले प्राप्त भएका सुझाव एवम् सल्लाहको अक्षरशः पालन गरिने दृढता व्यक्त गर्नुभयो ।
आफूले भ्रमणको तयारीका क्रममा पहिलो चरणमा प्राथमिक सुझाव लिएको बताउँदै प्रधानमन्त्री ओलीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाएर पनि थप छलफल गरिने जानकारी दिनुभयो । “नेपाली जनता, नेपालका दल, राष्ट्रिय हित र आवश्यकताविरुद्ध गएर आत्मस्वाभिमानमा चोट पुग्ने र सार्वभौमसत्तामा असर पर्ने कुनै पनि सम्झौता गर्ने छैन, हुने छैन”– प्रधानमन्त्रीको कथन थियो ।
छलफलमा सहभागीले भारतको अघोषित नाकाबन्दीपछि दुई मुलुकको सम्बन्धमा केही समस्या पैदा भएको बताउँदै त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन विशेष पहल गर्नु नै प्रमुख आवश्यकता भएको सुझाव दिनुभएको थियो । “तिक्ततापूर्ण सम्बन्धलाई पूर्ववत् अवस्थामा फर्काउने विषय नै महत्वपूर्ण हो, नयाँ आधारमा नेपाल–भारत सम्बन्ध अगाडि बढ्नुपर्छ, राष्ट्रहित र चासो नै सर्वमान्य विषय हो ।” परामर्शमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको साझा सुझाव थियो ।
सो अवसरमा उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, माधवप्रसाद घिमिरे र महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव डा मदनकुमार भट्टराई, मधुरमण आचार्यलगायतको सहभागिता थियो ।
निकट भविष्यमा हुन लागेको भारत भ्रमण अगाडि प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाइने कार्यसूचीका विषयमा चरणबद्ध छलफल सुरु गर्नुभएको छ । “भ्रमणलाई फलदायी कसरी बनाउन सकिन्छ भन्ने विषय नै महत्वपूर्ण हो”, प्रधानमन्त्रीका परराष्ट्रविज्ञ खनालले भन्नुभयो– “भ्रमणअघि सर्वदलीय बैठक समेत बोलाएर भ्रमणलाई पूर्ण रुपमा फलदायी बनाउने प्रयत्न गर्ने प्रधानमन्त्रीको चाहना छ ।” भ्रमणलाई फलदायी बनाउने हेतुले अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत भ्रमणमा हुनुहुन्छ । रासस












प्रतिक्रिया