
काठमाडौं, २५ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता तथा महामन्त्री शर्वेन्द्रनाथ शुक्लाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाभित्र छलफलै नगरी एकतर्फी रुपमा नाकाबन्दी र धर्नाको कार्यक्रम फिर्ता लिएर उचित नगरेको टिप्पणी गर्नुभएको छ ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धलमसँग कुरागर्दै महामन्त्री शुक्लाले एकतर्फी गरिएका निर्णयले रोमाञ्जित भएपनि त्यसले कसैलाई फाइदा नहुने बताउनुभयो ।
‘कसैले केही विषय बोल्नु, केही समयका लागि रोमाञ्चित होला’, उहाँले भन्नुभयो, ‘तर त्यसले संस्था र व्यक्तिलाई कहिल्यै फाइदा गर्दैन । एउटा व्यक्तिको निर्णयको पछि कोही पनि लाग्नु हुँदैन ।’
‘नाकाबन्दी संस्थाले हटाउने हो । नाकाको धर्ना पनि संस्थाले हटाउने हो’, महामन्त्री शुक्लाले भन्नुभयो, ‘व्यक्तिले हटाउन सक्दैन ।’
उहाँले अगाडि भन्नुभयो, ‘राजेन्द्र महतोले ठीक गर्नु भो, त हामीले भन्दैभन्दैनौँ । मान्छेमा गल्ती कमिकमजोरी हुन्छ । माफी माग्नु पर्छ । समीक्षा हुनुपर्छ ।’ उहाँले महतोलाई माफी माग्ने एक पटक अवसर दिइने बताउनुभयो ।
मधेसी मोर्चाको अबको आन्दोलनको स्वरुपमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । ‘फागुन र चैतमा सामाजिक चाडपर्व पर्छन् । निश्चित अबधिका लागि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । त्यसबारेमा निर्णय हुन्छ’, उनले भने ।












प्रतिक्रिया