काठमाडौं । गायिका दुर्गा परियारको दोस्रो गीतिसंग्रह ‘ऐना’ सार्वजनिक भएको छ । ‘ऐना’लाई आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
अभिनेत्री बसुन्धरा भुसाल, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीतकार राजु सिंहलगायतले गायिका परियारको गीतिसंग्रह ऐनालाई सार्वजनिक गरेका हुन् ।
गायिका दुर्गा परियारले आफ्नो एल्वमबाट सांगीतिक क्षेत्रमा लाग्न अवसर मिलेको बताइन् । उनले आफूलाई गायिका बनाउन सहयोग पुगाउने सबैलाई धन्यावाद दिएकी छिन् ।
‘ऐना’को समीक्षा गर्दै संगीतकार सन्तोष श्रेष्ठले एउटा पाश्र्व गायिकामा हुनुपर्ने सम्पूर्ण गुण भएको बताए । श्रेष्ठले भने, ‘गायिका परियारको स्वरलाई संगीतकार र गीतकारहरुले सुहाउँदो बनाइदिएको कारण पनि ‘ऐना’ उत्कृष्ट बन्न सफल भएको छ ।’
खोजी प्रतिभादेखि दोस्रो एल्बम प्रकाशनमा ल्याउँदासम्म दुर्गाको स्वर तीन करोड नेपालीको बीचमा समधुर बन्न पुगेको संगीतकार श्रेष्ठले बताए ।
‘ऐना’ एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ । म त हजुर, छचल्कियो, ऐना हेरेरै, किन हुन्छ्यौ ठूली, छातिमाथि शिर, नाइँ नाइँ भन्दा भन्दैजस्ता गीत रहेका छन् ।
रमेश बिजी, भुपेन्द्र खड्का, यमन सुवेदी, वसन्त सापकोटा, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापाको शब्दरचना रहेको छ । सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, हरि लम्साल, आशिष अबिरलको संगीत रहेको छ ।















प्रतिक्रिया