काठमाडौं, ३ साउन । सभासद रीता शाही जेठ अन्तिम साता पुरानो बानेश्वरको डेराबाट संविधानसभा भवन आउन शंखमूल जाने टेम्पो चढिन्।
टेम्पो गुड्न नपाउँदै उनलाई सँगै बसेको युवकको हात र शरीरको चालढाल असजिलो लाग्न थाल्यो। त्यसैबीच उनको फोनको घन्टी बज्यो। जसै उनी फोनमा कुराकानी गर्न व्यस्त भइन्, युवकले मौका छोपेर उनको सुरुवालको खल्तीमा हात घुसाउन खोज्यो।
शाहीले तुरुन्तै उसलाई रोकिनन्। सायद यसले युवकको मनोबल बढ्यो। उसको नियत त्यतिमै चुप लाग्ने देखिएन। केही छिनमै उसले ब्यागमा हात घुसाउन खोज्यो। शाहीलाई सही नसक्नु रिस उठ्यो। तर, सभासदजस्तो मान्छेले जे पायो त्यही बोल्न मिलेन।
उनले अलि खरो आवाजमा भनिन्, के गरेको, तपाईंमा अलिकति अनुशासन छैन
कुरा त्यत्तिकैमा सकिएको भए त हुन्थ्यो तर त्यो केटा निकै बदमास रहेछ। नयाँबानेश्वर चोक आइपुगेपछि ऊ ओर्लियो। उनी पनि ओर्लने उपक्रममा थिइन्, केटाले एक्कासि उनलाई थप्पड हान्यो।
शाहीले त केही देखिनन्। दिउँसै अन्धकार भयो। गालै सुन्नियो। धन्न, एक सभासदले देखेछन्। हत्तपत्त उनलाई सम्हालेर संविधानसभा भवनभित्र लगे। युवक पनि भाग्न भ्याएन। चड्कन खाने महिला सभासद रहेको थाहा हुनेबित्तिकै त्यहाँ उपस्थित सर्वसाधारणले उसलाई समाएर प्रहरीको जिम्मा लगाए।
ती युवक रामेछापका टीकाराम सुन्दास हुन्। अहिले उनी आफूले गरेको अपराधको सजाय काट्दै छन्।
सुन्दासले सजाय पाउँदैमा रीता शाहीको मनस्थिति परिवर्तन हुन सक्दैन। अचेल सार्वजनिक यातायात चढ्नु उनका लागि सजायभन्दा कम हुँदैन। सँगै बसेको पुरुष हल्का चल्यो भने पनि उनलाई डर लाग्छ। एक्लै ट्याक्सी चढ्नसमेत डराउन थालेकी छन् शाही।
सभासदजस्तो व्यक्तिलाई त काठमाडौंको सार्वजनिक यातायातमा त्यति सास्ती र समस्या हुन्छ भने बोल्न नसक्ने, आफैंलाई दोष आउला भनेर हच्किने, लजाउने र डराउने महिलाको सकस बयान गरिसाध्य छैन। ५० हजार सवारीसाधन चल्ने र तिनले दैनिक १० लाख मान्छे बोक्ने यस नगरीमा अधिकांशले भोक, रोग र शोकजस्तै सवारीसाधनका पीडा पचाउने गरेका छन्।
नागरिकले सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीबारे विभिन्न व्यक्तिसँग गरेको कुराकानीमा मुख्य पीडित महिला यात्रु नै हुने निष्कर्ष निकाल्न सकिन्छ।
महिलालाई पुरुषले शारीरिक दुःख दिने, कतिले दुर्नियतसाथ क्वारक्वार्ती हेर्ने, सँगै बसेको यात्रुले ठेल्ने, हातमाथि हात राखिदिनेजस्ता अनेक समस्या देखिएको छ।
कतिपय ठाउँमा कन्डक्टरले बढी भाडा मागेर सताउने, कहिले कन्डक्टरले नै जिस्क्याउने समस्याबाट पनि महिला यात्रु पीडित छन्। नागरिक दैनिकबाट















प्रतिक्रिया