७ कार्तिक २०८३, शनिबार

कांग्रेसका यी केन्द्रीय नेताहरुलाई बन्यो बुथ अप्रिय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagकाठमाडौं, १९ माघ । महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र नगरका कार्यकर्ताले असफल बनाइदिएका छन् ।

जिल्ला, केन्द्रको राजनीतिमा राम्रै प्रभाव बनाएका केही नेता, पूर्वसांसद र  पूर्वमन्त्री महाधिवेशनसम्म पुग्ने भर्‍याङको रूपमा रहेको बुथ प्रतिनिधि हुनबाटसमेत वञ्चित भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केन्द्रीय सदस्यले प्रस्तावक पाएनन्

वर्तमान केन्द्रीय समितिका आमन्त्रित केन्द्रीय सदस्य केशव सिंहले गृहजिल्ला डडेलधुरामा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थक नै पाएनन् । वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रस्तावक र समर्थक बस्ने नपाएपछि उनी उम्मेदवार नै बनेनन् । आमन्त्रित केन्द्रीय सदस्य बुथ समितिबाटै आउनुपर्ने प्रावधान कांग्रेस विधानमा छ ।

पूर्वमन्त्री र सांसद जो वडामै पराजित भए

०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ऊर्जाराज्यमन्त्री रहेका चन्द्रसिंह भट्टराई कैलालीको क्षेत्र नं.१ मा पर्ने टीकापुर नगरपालिकाको वडामै पराजित भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

०५६ को प्रतिनिधिसभामा कैलाली–१ की सांसद तथा ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी सुशीला स्वाँर पनि टीकापुर नगरपालिकाको वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका वेला ०५६ मा राष्ट्रिय सभाको सांसद बनाइएका हीरादत्त भट्ट पनि कैलालीमा वडाबाटै पाखा लागेका छन् ।

०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फकी सभासद् उर्मिला थापा तनहुँको घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएकी छिन् । ०४८ मा कञ्चनपुरबाट प्रतिनिधिसभाको सांसद जितेका गंगादत्त जोशी इकाइमै पराजित भए । उनी किसान संघका पूर्वसभापति हुन् ।

०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट जितेका गंगाबहादुर कुँवर क्षेत्र नम्बर–१ को बुथमै पराजित भएका छन् । ०५६ मा बाँके–३ बाट प्रतिनिधिसभा सदस्य जितेका कैलाशनाथ कसौधनले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गर्न नै पाएनन् ।

भवानीयापुर बुथ इकाइमा उनलाई उम्मेदवारी दर्ता गर्नै दिइएन । नेपालगन्ज–४ का बासिन्दा कसौधनले भवानीयापुरमा क्रियाशील सदस्यता सारेर क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेपछि उनलाई कार्यकर्ताले रोकेका हुन् ।