काठमाडौ, २ साउन । कांग्रेस महामन्त्री एवं संविधानसभाको मस्यौदा समितिका सभापति महामन्त्री कृष्णप्रसाद सिटौला संविधानको मस्यौदा लेखन र व्यवस्थापिका संसदमा बजेटबारे भइरहेको छलफल छाडेर परिवारसहित बिहीबार भारततर्फ तीर्थयात्रामा प्रस्थान गरेका गरेका छन् ।
राजधानीबाट बिहीबार बिहानै विराटगनर विमानस्थलमा परिवारसहित गएका सिटौला जोगवनी हुँदै भारतको देउघरतर्फ लागेका छन् । उनले संवाददादाताहरूसित आफू देउघर जान लागेको जानकारी गराएका थिए ।
सभामुख सुवास नम्वाङले संविधान निर्माणको काम नसकी विदेशमा नजान सभापति एवं सभासदलाई गरेको निर्देशको अवज्ञा गर्दै सिटौला भारतको तीर्थयात्रामा गएका हुन् ।
सिटौलाले संविधानसभा सचिवालयलाई जानकारी नगराएकाले उनको तीर्थयात्रा कति दिन लामो हुने थाहा हुन सकेको छैन । सिटौलाले आफू देशबाहिर जाँदा सभामुखलाई जानकारीसमेत नगराएको स्रोतले उल्लेख गरेको छ ।
अघिल्लो संविधानसभामा भएका सहमतिका विषयमा मस्यौदा तयार गर्न मस्यौदा समितिले उपसमितिहरू गठन गरेको छ । उपसमितिहरूले आगामी साताभित्रै आफ्नो कार्य पूरा गरी मस्यौदा समितिमा पेस गर्दैछन् ।
उपसमितिले पेस गरेपछि मस्यौदा समितिको काम सुरु हुन्छ । सभापति सिटौलाको तीर्थयात्रा लम्बियो भने मस्यौदा लेखनको काममा ढिलाइ हुन सक्ने चिन्ता संविधानसभा सचिवालयका उच्च अधिकारीले व्यक्त गरेका छन् । कान्तिपुर दैनिकबाट















प्रतिक्रिया