२९ आश्विन २०८३, बिहिबार

इख र उत्साहको अभिव्यक्तिः ‘पशुपति प्रसाद’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-parsad

दार्शनिक, फिल्मविज्ञ स्लाभोज जिजेकले भनेका छन्–‘अन्तत सिनेमा विपरित कला हो । यसले तपाइले चाहेजस्तो दिँदैन । यसले भन्छ, तपाइले कसरी इच्छा प्रकट गर्ने ।’

दर्शकको चरम आशाहरुलाई केन्द्रमा राख्ने, चलनचल्तीको कथालाई अगाडी सारेर बहुमत दर्शकको मन जित्नेमात्र होइन, सामान्य कथालाई असामान्य प्रस्तुतीका आधारमा दर्शकको मनभित्र अनेकथरी अपेक्षाहरु, परिकल्पनाहरुको प्रश्न छाड्दै अन्त्य हुने फिल्महरु पनि बलिया प्रस्तुती हुन् भन्ने उदाहरण फिल्मले दिनसक्नुपर्छ ।

शुक्रबारदेखि नेपाली बजारमा रिलिज दिपेन्द्र के खनाल निर्देशित फिल्म पशुपति प्रसाद, पशुपति मन्दिरको वरिपरिको दैनिक कथाको प्रतिविम्बका रुपमा आएको छ । सिनेमा घर छाडेपछि दर्शकका मनमा अनेकथरी अन्त्यका विकल्पहरु सोच्न बाध्य बनाउने क्षमता यो फिल्ममा छ । एउटा सामान्य परिवारको इखालु सोझो गाउँले केटो बाबुआमाको ऋण साहुलाई तिर्ने लक्ष्यमा कमाउनका लागि काठमाडौं छिरेपछिको कथा हो, पशुपति प्रसाद ।

कथासार

लेखक
लेखक

नेपालीले भोगेको कहालीलाग्दो महाभूकम्पलाई कथाबस्तुका रुपमा उठान भएको फिल्ममा पशुपतिप्रसाद खकुरेल (खगेन्द्र लामिछाने)को काठमाडौं प्रवेश, उसले जीवनमा लिएको ऋण तिर्ने लक्ष्य, लक्ष्यउन्मुख यात्रामा बुनु (वर्षा सिवाकोटी)सँगको नयनप्रेम, मित बुवा तिलबहादुर बानियाँ (प्रकाश घिमिरे)को आडमा काठमाडौंमा उभिने लक्ष्य, नामी मध्यस्तरको व्यापारी बन्ने महत्वकांक्षा, समाजसेवी भएर आमाको माया पाउनका लागि बृद्धाश्रममा बसेकी बृद्धालाई खुसी राख्ने लक्ष्यमा पशुपतिप्रसादको यात्रा दौडिएको फिल्म हो । पशुपति परिसरमा जीवनको भविष्य खोज्नका लागि वागमतिमा सुन खोजेर व्यापार गर्ने सपना बोकेको पशुपति प्रसाद खकुरेल दयालु भाव, प्रतिस्पर्धी चरित्रमा उत्रिन सक्ने युवक हुन्छ । उसको पशुपति क्षेत्रमा भविष्य खोज्ने क्रममा अवरोधका रुपमा उभिएको भष्मे डन (विवेक कार्की)को अवरोध छिचोलेर भेटेको सुनको औंठी वेचेर व्यापार गर्ने, व्यापार गरी साहुको ऋण तिर्ने र संघर्षका क्रममा भेटिएका मित बुवा, साइनो लगाइएकी आमा, अपरिचित प्रेमिका सवैलाई साथै राख्ने सपना सामान्य कारणबाट गुज्रिन्छ । त्यसपछि केही अप्रत्यासित घटनाहरुको सस्पेन्स् कहानीका रुपमा पशुपतिप्रसाद गुज्रिएको छ ।

फिल्मको सार यत्ति नै छ, तर दमदार छ । कतिपय मान्छेहरु उद्देश्यको डोको बोकेर सहर छिरेपनि उनीहरु सामान्य भ्रम र जाली सहरको अति सामान्य कारणको बन्धक हुन्छन् । फिल्म पशुपति क्षेत्रको आसपासभित्र नै सक्किएपनि उही ठाउँमा दर्शकलाई वाक्क लाग्ने कुनैपनि सिनहरु छैनन् ।

कास्ट
फिल्ममा कास्ट गरिएका सवै कलाकारहरुको प्रस्तुती वेजोड छ । फिल्मका नायकका रुपमा उभ्याइएका पात्र खगेन्द्रको प्रस्तुती, खलपात्रका रुपमा उभ्याउन खोजिएका विपिन कार्कीको प्रस्तुती बेजोड छ । नायिक वर्षा सिवाकोटीको सांकेतिक प्रस्तुती पनि दमदार देखिएको छ भने पशुपति क्षेत्रका हनुमानको रोलमा उभ्याइएका रविन्द्रसिंह बानियाँको भूमिकाले पशुपतिप्रसाद सोही क्षेत्रमा घुमिरहेको छ भन्ने बलियो उदाहरण बनेको छ । मित बुवाका रुपमा देखाइएका प्रकाश घिमिरेलगायत साना तथा मझौला भूमिकामा देखिएका सवैको अभिनय राम्रो छ । फिल्मका कास्टिगं डाइरेक्टरमा खोट लागउनसक्ने ठाउँ, अति नै कम छ । एकाध पात्रहरुका अभिनयबाहेक सवै कलाकारले भूमिकालाई न्याय गरेका छन् । वियोगान्त अन्त्यका रुपमा उभ्याइएको सामाजिक नाटकलाई बोकेको फिल्मका हर कलाकारको सुखद अभिनय फिल्ममा देख्न सकिन्छ ।

प्रविधि
नेपाली फिल्मले लिनसक्ने, धान्नसक्ने प्रविधिमा कुनै पनि खोट लगाउने ठाउँ छैन । फिल्मलाई वृत्तचित्रजसरी खिच्ने सुरुआत गरिएपनि फिल्म जसरी कुदाउन सक्ने प्राविधिक टोलीको काम चलाखीपूर्ण सफल छ ।

अन्ततः आदतले आवश्यकताको पहिचान गर्न सक्तैन तर पछुतो चाहीँ पक्कै बनाउँछ भन्ने सन्देश फिल्मले देखाएको छ । बदला लिने भावभन्दा पनि मान्छेको अन्त्य हृदयका लागि निक्कै पीडादाय हुन्छ भन्ने सन्देश फिल्मले दिन्छ । जव दर्शकले फिल्ममा आफुलाई पाउँछ, त्यसका हर पात्रमा दर्शकको आत्मा प्रवेश हुन्छ । फिल्म दर्शकले आफुलाई पाउने काल्पनिक चरित्र भएकै कारणले पनि पशुपति प्रसाद एउटा सफल नमूना हो । एउटी सुन्दर युवती देख्दा बहकिने मन, फक्रिने प्रेमदेखि आफन्तपनको दायीत्व, असल नागरिकले देखाउनसक्ने जिम्मेबारीपूर्ण सपनालाई फिल्म निर्देशकले निक्कै रोचक ढंगले प्रस्तुत गरेकै कारणले पशुपति प्रसाद, एउटा गतिलो फिल्म भन्न कुनै अप्ठ्यारो छैन । दर्शक नै फिल्मका न्यायाधीश भएका कारणले फिल्म रिलिज भएकै दिन आम दर्शकहरुको असामान्य अभिव्यक्ति सृजनात्मक कामको उत्कृष्ट उदाहरण हुन्छ । यसर्थ, इख र उत्साहको एउटा अभिव्यक्तिको नाटकीय, चारित्रक प्रस्तुती उत्कृष्ट कलाका रुपमा फिल्ममा समावेश छ । समाजको सामान्य कथालाई असामान्य ढंगबाट बुझ्नका लागि पनि पशुपति प्रसाद, हेर्नैपर्ने फिल्म हो ।

हेर्नुस् ट्रेलरः