काठमाडौँ, १ साउन । नेकपा एमालेले गत असार १९ गतेबाट जारी नवौँ महाधिवेशनको औपचारिक समापन बिहीवार गरेको छ ।
पार्टी मूख्यालयमा गरिएको समापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो पार्टी बनाउने प्रण व्यक्त गर्नुभयो ।
विहीबार बल्खुमा आयोजित महाधिवेशन समापन समारोहमा निर्धारित समयभन्दा करीव दुईघण्टा ढीलो पुग्नुभएका ओलीले पार्टी म्याराथुन दौड नभएको भन्दै सरदर पार्टीको हैसियतबाट माथि उठाउने दाबी पनि गर्नुभयो ।
तेस्रो स्थानमा पुगेको पार्टी दोस्रो स्थानमा आएको भन्दै उहाँले अब पार्टीलाई आफुले पहिलो स्थानमा पु¥याउने बताउनु भयो । उहाँ कार्यक्रममा निक्कै शिथिल देखिनु भएको थियो । लिखित मन्तव्य समेत उहाँले कष्टले पढ्नु भएको थियो ।
उहाँले नवौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै निर्वाचन मार्फत आएको मिश्रित परिणामलाई सकारात्मक भएको टिप्पणी गर्नुभयो । एक समूह मात्र विजयी हुँदा अर्को समूह पाखा लाग्ने भन्दै मिश्रित परिणामले पार्टीलाई बलियो बनाउने दाबी गर्नुभयो ।
निवर्तमान अध्यक्ष एवं बरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनमा भएको प्यानलबन्द्धी अस्थायी भएको भन्दै महाधिवेशनमा देखिएका फाटेका धाँजाहरु, कोरिएका रेसाहरु र देखिएका दागहरु अन्त्य गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णयपुस्तिका ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।
अध्यक्षमा झिनो मतले पराजित नेता माधवकुमार नेपालले चुनावमा भएका कतिपय गल्ती कमजोरीलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी मुख्यालयमा टेन्ट टाँगेर आयोजना गरिएको समापन समारोहमा नवनिर्वाचित केन्द्रीय सदस्य, नेता, कार्यकर्ता र पत्रकारलाई बस्न धौ–धौ परेको थियो । सपथग्रहण पनित्यतिक्कै अव्यवस्थित भएको थियो ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको छ ।













प्रतिक्रिया