बनेपा, १ साउन । झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान।
तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त बोलीचालीमा बुद्धचित्त मालाको बजारमूल्यले यसको महत्व मात्र बढाएको मात्र छैन, किसान र व्यवसायीलाई उत्तिकै असुरक्षित र आतंकितसमेत बनाएको छ।
काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटाभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न थालेका छन्।
व्यवसायी भने पैदल वा गाडीमा असुरक्षित महसुस गद हेलिकोप्टर चार्टर गरेर गाउँ पुग्न थालेका छन्।
मंगलबार अपराह्न शिखरअम्बोटेबाट १ सय ८१ किलो बोधिचित्त दाना ढुवानीका लागि स्थानीय तिलकबहादुर लामाले हेलिकोप्टर चार्टर गरे।
आइतबार मंगलटारबाट बोधिचित्तको माला लिएर बनेपातर्फ आउँदै गरेका व्यापारी राज दोङ बनेपा बुडोलमा लुटिएपछि व्यवसायीले असुरक्षा महसुस गरेका हुन्। गाउँमा ११ लाख रुपैयाँमा ८४ वटा माला किनेर टिपरमा बनेपा आउँदै गरेका लामाले ७२ वटा माला लुटिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
यस्तै, इलाका प्रहरी कार्यालय मंगलटारले पनि तिमालगाउँमा बोधिचित्तको दाना लुट्न खोज्ने तीनजनाको समूहलाई केही समयअघि पक्राउ गरेको थियो। बोधिचित्त प्रतिबन्धित वनस्पति नभएकाले प्रहरीले सार्वजनिक मुद्दा चलाएकोमा उनीहरु जनही १० हजार रुपैंया धरौटीमा छुटेका छन्।
बोधिचित्तका दाना र माला लुटपाट बढेपछि काभ्रेका प्रजिअ केदार न्यौपानेसहितको टोली हालै काभ्रे, तिमाल पुगेको थियो। टोलीमा जिल्ला वन कार्यालयका प्रमुख गणेश राय, जिल्ला प्रहरी प्रमुख अरुणकुमार बिसी, प्रमुख अनुसन्धान अधिकृत धनबहादुर बुढाथोकीसहित वन प्राविधिक थिए।
नागरिक दैनिकबाट















प्रतिक्रिया