काठमाडौं, १ साउन । एमाले केन्द्रीय कमिटीमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्यानलले प्रस्ट बहुमत हासिल गरेको छ। केन्द्रीय पदाधिकारीमा बराबरी भए पनि बुधबार सकिएको मतगणनामा ओलीलाई सुविधाजनक बहुमत मिलेको हो।
एक सय १४ पूर्ण केन्द्रीय सदस्यमध्ये ओली प्यानलका ६६ र नेपाल प्यानलका ४८ जना निर्वाचित भएका छन्। राति अबेरसम्म विवाद भइरहेकाले यो संख्यामा एकदुई तलमाथि पर्न सक्ने एमालेका एक केन्द्रीय सदस्यले बताए। केन्द्रीय सदस्यमध्ये सबैभन्दा बढी मत एक हजार एक सय ११ मत पाएर माधवकुमार नेपाल विजयी भए।
चार दिनदेखि जारी मतगणना बुधबार रातिसम्म चलेको थियो। केही नाममा विवाद भएपछि निर्वाचन आयोगले दुई प्यानलका एकएकजना प्रतिनिधिसँग बेग्लै छलफल गरी टुंगो लगाउने कोसिस गरेको थियो। नेपाल प्यानलका वंशीधर मिश्रले जितेकोमा ओली पक्षका दामोदर भण्डारीलाई विजयी बनाउने कोसिस गरेको भन्दै विवाद परेको थियो।
मतगणना समयमा नसकिएकाले महाधिवेशन समापन घोषणा गर्न बुधबार ३ बजेका लागि राखिएको पत्रकार सम्मेलन बिहीबार ३ बजेका लागि सारिएको छ। एमालेको नवौं महाधिवेशन १४ दिनमा सकिनेछ।
ओली पक्षबाट एमालेको पदाधिकारी लडेका तीनजना केन्द्रीय कमिटी सदस्यमा पनि पराजित भएका छन्। उपाध्यक्षका उम्मेदवार धर्मनाथ साह, सचिवका उम्मेदवारद्वय केशवलाल श्रेष्ठ र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भए। केन्द्रीय कमिटीमा तीन मन्त्रीले हारे। ओली पक्षबाट उम्मेदवार बनेका स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा र नेपाल पक्षबाट लडेका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पराजित भए। अन्नपूर्ण पोष्ट दैनिकबाट















प्रतिक्रिया