काठमाडौं, १३ माघ । नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको चरम अभावले छटपटिएका उपत्यकावासीलाई सरकारले दाउरा वितरण गर्यो ।
चरम अभावका वेला वितरण गरिएको दाउरा निकै उपयोगी साबित भयो । तर, ग्यासको आपूर्ति केही सहज हुन थालेपछि भने दाउराका उपभोक्ता घट्न थालेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएयता उपत्यकामा झन्डै साढे १५ लाख किलो दाउरा खपत भएको छ । टिम्बर कर्पोरेसनका अनुसार २९ कात्तिकयता १५ लाख ४७ हजार तीन सय ४५ केजी दाउरा वितरण गरिएको छ । ग्यासको चरम अभाव भएपछि सरकारले २९ कात्तिकदेखि वैकल्पिक इन्धनका रूपमा उपत्यकामा दाउरा वितरण थालेको हो ।
अघिपछि राजधानीमा दाउराको प्रयोग प्राय: हुन छाडिसकेको थियो । राजधानीमा ग्यास तथा विद्युतीय उपकरणको प्रयोग गरेर खाना पकाउनेको संख्या बढी छ । तर, यसपटक नाकाबन्दीका वेला भने धेरैलाई दाउरा दु:खको साथी बन्यो । एकातिर नाकाबन्दीले ग्यास र मट्टीतेल नपाइएको र अर्कोतिर लोडसेडिङ बढेको वेला चुला बाल्ने र भान्छा चलाउने सहारा नै दाउरा बन्यो ।















प्रतिक्रिया