७ कार्तिक २०८३, शनिबार

कति कमाउँछन् यी फुटबलर?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football Kheladi

काठमाडौं, १३ माघ । विश्वका ठूला क्लबका खेलाडीका फ्यान धेरै हुनु स्वाभाविकै हो । ती खेलाडी फुटबल मात्र खेल्दैनन्, विज्ञापनमा पनि देखिन्छन् । उनीहरूको जीवनशैलीबारे बुझ्न चाहने पनि उत्तिकै हुन्छन् । आखिर कसरी ‘मेन्टेन’ गर्छन् त फुटबलरले ? कति कमाउँछन् उनीहरू ? नयाँ पत्रिका दैनिकले एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट

१. क्रिस्टियानो रोनाल्डो
क्लब : रियल म्याड्रिड
आम्दानी : दुई लाख ८८ हजार पाउन्ड
पोर्चुगिज तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ६ जनवरीमा फिफा वर्ष उपाधि रक्षा गर्न सकेनन् । गत सिजन रियललाई कुनै उपाधि दिलाउन नसके पनि रोनाल्डो फुटबल क्षेत्रमा सर्वाधिक कमाइ गर्ने खेलाडी हुन् । ब्रिटिस मिडिया द मिररले जनाएअनुसार रोनाल्डोले गत वर्ष आठ करोड डलर आम्दानी गरेका थिए । विज्ञापन तथा ब्रान्ड एम्बेसेडरका रूपबाट पनि उनले मनग्य कमाउँछन् । उनी प्रतिसाता सर्वाधिक कमाइ गर्ने खेलाडीमा पनि अगाडि नै छन् । रोनाल्डोले रियलबाट प्रतिसाता दुई लाख ८८ हजार पाउन्ड थाप्छन् । रोनाल्डो विश्वचर्चित ब्रान्ड नाइक, कोकाकोला, क्यास्टोल, मोटोरोला र केएफसीसँग आबद्ध छन् ।

२. लियोनल मेसी
क्लब : बार्सिलोना
आम्दानी : दुई लाख ७५ हजार पाउन्ड
पाँचौँपटक फिफा वर्ष खेलाडी घोषित बार्सिलोनाका लियोनल मेसी दोस्रो बढी कमाउने फुटबलर हुन् । मैदानभित्र र बाहिर मेसीले रोनाल्डोलाई गोलदेखि धन आर्जन गर्नेसम्म पछ्याइरहेका छन् । गत वर्ष बार्सिलोनालाई पाँच उपाधि दिलाएका मेसीले ६ करोड ४७ लाख डलर कमाए । बार्सिलोनाका गोल मेसिन मेसीले खेलसँग आबद्ध विभिन्न खेल सामग्रीका विज्ञापन गर्छन् । यसबाट प्रतिवर्ष उनको आम्दानी बढिरहेको छ । ११ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका मेसीले प्रतिसाता दुई लाख ७५ हजार पाउन्ड खान्छन् । उनी एडिडास, पेप्सी, इए स्पोट्र्स र जिलेटसँग आबद्ध छन् ।

३. ज्लाटान इब्राहिमोभिक
क्लब : पिएसजी
आम्दानी : दुई लाख ५० हजार पाउन्ड
ज्लाटान इब्राहिमोभिक स्विडिस फुटबलकै लिजेन्डरका रूपमा स्थापित भइसकेका छन् । इंग्लिस तथा स्पेनिस लिगमा आफ्नो उपस्थिति दरिलो नदेखे पनि उनी फ्रेन्च लिग पिएसजीसँग आबद्ध भए । पिएसजीमा उनले प्रत्येक सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसैकारण, उनलाई पिएसजीकै सर्वाधिक महँगा खेलाडीका रूपमा चिनिन्छ । लगातार तीन सिजन पिएसजीलाई फ्रेन्च लिग एक उपाधि दिलाएका इब्राहिमोभिकले गत वर्ष चार करोड ४० हजार डलर कमाए । यो तथ्यांकअनुसार उनी तेस्रो बढी आम्दानी गर्ने फुटबलर हुन् । ३३ वर्षीय इब्राहिमोभिकले एज्याक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना र एसी मिलानमा पनि आफ्नो भविष्य चाहारे । तर, उनी ती क्लबमा सन्तुष्ट रहेनन् । पिएसजीमा उनी जमेका छन् । यसकारण पनि पिएसजीले उनलाई प्रतिसाता दुई लाख ५० हजार पाउन्ड दिएको छ । उनी एडिडास र नाइकसँग मात्र आबद्ध छन् ।

४. गेराथ बेल
क्लब : रियल म्याड्रिड
आम्दानी : दुई लाख पाउन्ड
सन् २०१२ मा स्पेनिस क्लब रियल म्याड्रिडले वेल्सका स्ट्राइकर गेराथ बेलमाथि जोखिम लियो । रियलले विश्वकीर्तिमानी रकममा बेललाई इंग्लिस क्लब टोटनह्यामबाट १० करोड डलरमा अनुबन्ध गर्‍यो । त्यसवेला बेलमाथि त्यति धेरै रकम खर्चनु रियलको मूर्खता भन्ने प्रतिक्रिया आएको थियो । तर, बेलले रियलको विश्वास जित्दै आफूलाई स्पेनिस क्लबमा स्थापित गराएका छन् । दुई वर्षअघि रियललाई च्याम्पियन्स लिग दिलाएका बेल तेस्रो बढी कमाउने फुटबलर बनेका छन् । उनले गत वर्ष तीन करोड ६४ लाख डलर आर्जन गरेका थिए । रियलमा रोनाल्डोपछि प्रतिसाता कमाउने खेलाडीमा उनी दोस्रा हुन् । रियलले बेललाई प्रतिसाता दुई लाख पाउन्ड दिएको छ । मेसी र रोनाल्डोका जस्ता ब्रान्डेड विज्ञापन उनीसँग छैनन् ।

५. राडमेल फाल्काउ
क्लब : चेल्सी
आम्दानी : दुई लाख ५० हजार पाउन्ड
कोलम्बियाका राडमेल फाल्काउ म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा जति चर्चित बने, तर उनले क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । अहिले फाल्काउ चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । तर, खासै उनी पहिलो रोजाइमा परेका छैनन् । फाल्काउले गत वर्ष तीन करोड ५४ लाख डलर आर्जन गरे । चेल्सीले उनलाई प्रतिसाता दुई लाख ५० हजार पाउन्ड दिएको छ । फाल्काउ कोलम्बियन ठूला विज्ञापन एजेन्सीसँग आबद्ध छन् । कोलम्बियामा उनको बजार राम्रो छ । गत वर्ष उनले कमाएको धनमध्ये आधा हिस्सा कोलिम्बियन विज्ञापनबाट आएको थियो ।

६. नेमार जुनियर
क्लब : बार्सिलोना
आम्दानी : दुई लाख २२ हजार पाउन्ड
ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियर भविष्य बनाउन युरोपियन बजारमा छिरेका हुन् । रियल म्याड्रिडले चर्को मूल्य तिर्दा पनि उनी बार्सिलोनासँग आबद्ध भए । बार्सिलोनामा नेमारको पहिलो सिजन खासै राम्रो भएन । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत वर्ष बार्सिलोनाले पाँच उपाधि जित्दा नेमारको योगदान पनि उल्लेखनीय रह्यो । गत वर्ष उनले तीन करोड ३४ लाख डलर आम्दानी गरे । बार्सिलोनाले उनलाई प्रतिसाता दुई लाख २२ हजार पाउन्ड दिएको छ । स्पेनिस लिगमा उनी चौथो महँगा खेलाडी पनि हुन् । नेमार पनि एडिडास र नाइकसँग आबद्ध छन् ।

७. वायन रुनी
क्लब : म्यानचेस्टर युनाइटेड
आम्दानी : दुई लाख ५० हजार पाउन्ड
डेभिड बेकह्याम र माइकल ओवेनपछि वायन रुनीले बेलायती फुटबल नेतृत्व गरिरहेका छन् । रुनी म्यानचेस्टर युनाइटेडकै प्रमुख खेलाडीमा पर्छन् । प्रशिक्षक एलेक्स फर्गुसनले रुनीलाई युवा अवस्थामै अनुबन्ध गरेका थिए । युनाइटेडका लागि उतार–चढाव प्रदर्शन गरिरहेका रुनी सातौँ बढी कमाउने फुटबलरमा पर्छन् । उनले गत वर्ष दुई करोड ५४ लाख डलर कमाए । तर, प्रतिसाता कमाउने खेलाडीमा उनी तेस्रो स्थानमा पर्छन् । युनाइटेडले उनलाई प्रतिसाता दुई लाख ७५ हजार पाउन्ड दिएको छ । क्लबबाहेक रुनीले नाइक, नोकिया, फोर्ड र कोकाकोलाका विज्ञापनबाट पनि आम्दानी गर्छन् ।

८. सर्जियो अगुएरो
क्लब : म्यानचेस्टर सिटी
आम्दानी : दुई लाख ३० हजार पाउन्ड
अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले म्यानचेस्टर सिटीमै पूरै खेलजीवन भविष्य देखेका छन् । यसकारण उनले सिटीबाहेक अन्य क्लबको कल्पना पनि गर्दैनन् । पछिल्लो चारमध्ये दुई सिजन सिटीलाई प्रिमियर लिग च्याम्पियन बनाएका अगुएरो आठौँ बढी कमाउने फुटबलरमा पर्छन् । उनले गत वर्ष दुई करोड ३३ लाख डलर कमाए । सिटीकै गोल मेसिनका रूपमा चिनिने अगुएरो प्रतिसाता दुई लाख ३० हजार पाउन्ड थाप्छन् ।

९. याया टाउरे
क्लब : म्यानचेस्टर सिटी
आम्दानी : दुई लाख ३० हजार पाउन्ड
म्यानचेस्टर सिटीका स्ट्राइकर याया टाउरे इंग्लिस प्रिमियर लिगकै चर्चित अफ्रिकन खेलाडीमा पर्छन् । आइभोरी कोस्टका कप्तानसमेत रहेका टाउरे सन् २०१० देखि सिटीमा आबद्ध छन् । प्रत्येक सिजन सिटीका लागि गोल ठोकिरहेका टाउरेले गत वर्ष दुई करोड १७ लाख डलर कमाए । उनी सिटीबाट प्रतिसाता दुई लाख ३० हजार पाउन्ड लिन्छन् । प्रिमियर लिगमा टाउरे मात्र अफ्रिकन खेलाडीको प्रतिनिधित्व गर्दै प्रतिसाता बढी कमाइरहेका छन् । उनी पनि विश्वचर्चित नाइकसँग आबद्ध छन् ।

१०. लुइस सुआरेज
क्लब : बार्सिलोना
आम्दानी : दुई लाख पााच हजार पाउन्ड
बार्सिलोनाले दुई वर्षअघि प्रिमियर लिग लिभरपुलबाट लुइस सुआरेजलाई सात करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । बार्सिलोनाले अहिलेसम्म खेलाडी किन्दा बढी खर्चेका खेलाडी नै सुआरेज हुन् । सुआरेजले यस वर्ष गोलको वर्षा गरिरहेका छन् । गत वर्ष उनले दुई करोड १३ लाख डलर आर्जन गरे । बार्सिलोनाले उनलाई प्रतिसाता दुई लाख पाँच हजार पाउन्ड दिएको छ । सुआरेज पनि अन्य चर्चित खेलाडीले जस्तै एडिडासका उत्पादित सामग्रीको बजार प्रवद्र्धन गर्छन् ।