विजय थापा
भर्जिनिया । निर्वाचन आयोगुुको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका आइपुगेका निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रवासी नेपालीलाई पनि मताधिकारमा सहभागी गराउने विषयमा नेपाली समुदायसँग छलफल गर्नुभएको छ ।
गैरआवासीय नेपाली सघले डिसी महानगर क्षेत्रमा गरेको कार्यक्रममा आयुक्त गुरुङले बिदेशमा रहेका नेपालीहरुलाई कसरी मताधिकार दिने भनि आयोगको दिर्घकालिन योजना रहेकोले चार वटा मुलुकको भ्रमण गर्न लागेको जानकारी दिनुभयो ।
सुझाव संकलन गर्न पहिलो अमेरिकालाई छनौट गरेको भन्दै उहाँले उपस्थित सबैमा नेपालको परिवेशमा उपयुक्त सुझाब दिन आग्रह गर्नुभएको थियो । करिब ३० लाख नेपाली १ सय ९ वटा देशमा छरिएर रहेको देखिएकाले भन्दै उहाँले नेपालको निर्वाचनमा कसरी मताधिकार दिने भन्ने उद्देश्यले आफू अध्ययन भ्रमणमा निस्केको जानकारी दिनुभयो ।
कार्यक्रममा आयोगका उपसचिवद्वय दिपककुमार श्रेष्ठ र सुभाष राईले १ सय ९ देशमा न्यूनतम १८ हजारदेखि ६ लाखसम्म नेपालीहरु रहेकाले उनीहरुलाई मताधिकारमा सहभागी गराउने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषिराम घिमिरेले निर्वाचन आयोगले मताधिकारका विषयमा गरेको छलफललाई उपलब्धिको संज्ञा दिनुभयो ।
यसैगरी, मेरिल्याण्ड र पेन्सिल्भेनियाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतले पनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
गैरआवासीय नेपाली संघ अमेरिकाका लागि नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले बाध्यताको कारण बिदेसिएका नेपालीहरुलाई मताधिकारबाट बन्चित गर्न नहुने बताउनुभयो । गत निर्वाचनमा झन्डै असी प्रतिसत मत खसेको चर्चा गर्दै उहाँले ३० लाख भन्दा ज्यादा नेपालीहरु बिदेशमा रहेकोले उनीहरु छुट्न गएकोले अर्को निर्वाचनमा उनीहरुलाई मताधिकार दिन जोडदार माग गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय सल्लाहकार रामचन्द्र खरेलले अमेरिकामा करिब तीन लाख पचास हजार नेपालीहरु भएको एनआरएनको २०१३ को आंकडाले देखाएकाले आउने संबिधानमा विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न माग गर्नुभयो ।
न्युयोर्कबाट साप्ताहिक रुपमा प्रकाशित हुने खसोखास साप्ताहिकका सम्पादक किशोर पन्थीले बिगतमा ४ बर्षसम्म संबिधान बनाउन नसकेको तितो अनुभूति सबै नेपालीले गरेकोले अब संबिधान बन्नेमा आफू बिश्वस्त रहेको उल्लेख गर्नुभयो ।















प्रतिक्रिया