प्रकाश सिलवाल / कालिका खड्का
काठमाडौँ, ३२ असार । नेकपा (एमाले) को नवौँ महाधिवेशनको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । तर राति ९:३० बजेसम्म पनि प्राविधिक कारणले मतपरिणाम औपचारिकरूपमा घोषणा हुन सकेन ।
औपचारिक घोषणाको प्रतिक्षामा रहेका पत्रकार र कार्यकर्ताहरू दशरथ रङ्गशालाबाट फर्केका थिए । केही उम्मेदवारको मत बराबर आएको तथा केहीको कूल मत जोड्दा प्राविधिक त्रुटी भएका कारण औपचारिक घोषणामा ढिलाइ भएको हो । यद्यपि, प्राप्त मतको अगुवाईका आधारमा विजयी हुने अधिकांश सदस्यलाई बाहिर कार्यकर्ताले अबिरमाला लगाएर बधाई दिइ रहेका थिए ।
एमालेका प्रचार प्रसार विभागका सचिव सूर्य थापाका अनुसार निर्वाचन आयोगले आफ्नो कामलाई जारी राखेकोले कतिबेला सकिन्छ भन्न कठिन भएको बताउनुभयो । प्रारम्भिक परिणामअनुसार केन्द्रीय कमिटीमा अध्यक्ष ओली समूहको बहुमत देखिएको छ । कूल ११५ पूर्ण केन्द्रीय सदस्यमा आफ्नो समूहको ६६ प्रतिशत स्थानमा सुरक्षित भएको दाबी ओली निकट विजयी केन्द्रीय सदस्य डा. राजन भट्राईले दाबी गर्नुभयो । वैकल्पिक केन्द्रीय सदस्यले केन्द्रीय कमिटीमा मताधिकार प्रयोग गर्न पाउँदैनन् । नेपाल समूहका विजयी केन्द्रीय सदस्य पशुपति चौलागाईले सबै परिणाम औपचारिकरूपमा घोषणा नभएकाले अहिले त्यसरी प्रतिशत निकाल्ने बेला नभएको प्रतिक्रिया दिनुभयो ।
असार २८ गतेदेखि सुरु भएको मतगणना आज सकिएको छ । महाधिवेशनको समापन कार्यक्रम भोलि बिहीबार एमाले केन्द्रीय कार्यालय, बल्खुमा तय गरिएको छ ।
दूई समूहका आधारमा निर्वाचन भएपनि परिणाम सन्तुलित आएको छ । १४ पदाधिकारीमा माधवकुमार नेपाल र केपी शर्मा ओली समूहका ७/७ जना विजयी भएका छन् भने केन्द्रीय कमिटीमा पनि बराबरीको हैसियत देखिएको छ । निवर्तमान अध्यक्ष झलनाथ खनाल स्वतः वरिष्ठ सदस्य हुनुभएको छ । उहाँ स्थायी कमिटीको सदस्य हुनुहुनेछ ।
खुल्ला जित्नेहरू
आयोगको स्रोतका अनुसार खुल्लातर्फ केन्द्रीय सदस्यमा विजयी हुनेमा पदाधिकारीमा पराजित हुनेहरू माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, प्रदिप नेपाल, लालबाबु पण्डित, किरण गुरुङ, शंकर पोखरेल, रघुजी पन्त, विष्णु रिमाल, परशुमेघी गुरुङ, वेदूराम भूषाल विजयी हुनुभएको छ । अध्यक्षमा पराजित नेता माधवकुमार नेपाल केन्द्रीय सदस्यमा अत्याधिक मतले विजयी हुनुभएको छ । उहाँपछि पदाधिकारीमा सचिव गोकर्णराज विष्टको अत्याधिक मत आएको थियो ।
त्यस्तै टंक कार्की, ठाकुर गैह्रे, डा. विजय पौडेल, अरुण नेपाल, गंगालाल तुलाधर, तुलबहादुर गुरुङ, नागेन्द्र चौधरी, युवराज कार्की, सोमप्रसाद पाण्डे, रविन्द्र अधिकारी, छविलाल विश्वकर्मा, रामनाथ ढकाल, सूर्य थापा, अग्नि खरेल, काशीनाथ अधिकारी, वृन्दा पाण्डे, महेन्द्र पाण्डे, भानुभक्त ढकाल, मुकुन्द न्यौपाने, दामोदर भण्डारी, डा राजन भट्राई पनि विजयी हुनु भएको छ ।
पराजित केही अनुहार
एमालेको निर्वाचनमा पदाधिकारीमा पराजित अधिकांश केन्द्रीय सदस्यमा विजयी भएपनि केही चर्चित हस्ती र बहालवाला मन्त्री पराजित भएका छन् । उपाध्यक्षका उम्मेदवार समेत रहका धर्मनाथ साह, सचिवका उम्मदेवार रघुवीर महासेठ, सचिवका उम्मेदवार केशवलाल श्रेष्ठ, स्वाथ्यमन्त्री खगराज अधिकारी, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, उद्योगमन्त्री कर्ण थापा, पूर्व केन्द्रीय सदस्य रामेश्वर फूयाँल, रामचन्द्र यादव, भानुभक्त जोशी, देवराज भार र ऊर्वादत्त पन्त, सभासद् टुकराज सिग्देल, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत, अनेरास्ववियुका पूर्व अध्यक्ष खिमलाल भट्राई, पूर्व सभासद् राजेन्द्र लोहनी, नारायण ढकाल, विदेश विभाग सचिव केशव पाण्डे, रामेछापका पूर्व अध्यक्ष कैलाश ढंगेल, युवा संघका पूर्व महासचिव निरज आचार्य, काभ्रेका जिल्ला अध्यक्ष गोकूल बास्कोटा, पूर्व सभासद टुका हमाल पनि पराजित हुनुभएको छ ।
महिलामा नयाँ बढी
१७ जना महिला पूर्ण सदस्यमा अधिकांश नयाँ अनुहार विजयी भएका छन् । विजयी हुनेमा रामकुमारी झाँक्री, राधा ज्ञवाली, पद्मा अर्याल, जयन्ती राई, गोमा देवकोटा, गरिमा शाह, सुजिता शाक्य, श्रीमाया थकाली, गौरा प्रसाई, सावित्रा भूषाल, सीता पौडेल, सीता गिरी ओली, सुशीला नेपाल, थममाया थापा, डा. शिवमाया तुम्बाहाम्फे, महिन लिम्बू, ममता गिरी हुनुहुन्छ । यस्तै पाँच वैकल्पिक सदस्यमा निरु पाल, रचना खड्का, सीता सुन्दास, मना केसी, निराह जैह्रे हुनुहुन्छ ।
खुल्लामा पाण्डे मात्र महिला
खुल्ला केन्द्रीय सदस्यमा एक मात्र महिला उम्मेदवार वृन्दा पाण्डे विजयी हुनुभएको छ । नुवाकोटमा जन्मेका उहाँ नवौं महाधिवेशन मूल आयोजक समितिअन्तर्गतको अभिलेख समितिका संयोजक हुनुहुन्छ ।
औपचारिक घोषणा बिहीबार दिउँसो
नेकपा एमालेले नवौं महाधिवेशनको समापन २०७१ साल साउन १ गते बिहिवार दिउसो १ बजे पार्टी कार्यालय बल्खुमा हुने जानकारी दिएको छ । महाधिवेशनबाट निर्वाचित अध्यषलगायत सवै पदाधिकारी र सदस्यहरुको बिवरण पनि सोही समारोहमा सार्वजनिक हुने एमालेले जनाएको छ ।
रासस
















प्रतिक्रिया