१४ कार्तिक २०८३, शनिबार

तराई मधेसका जनता देशभक्त सिपाही: एमाले महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-Pokheral
फाइल तस्वीर

विराटनगर, ७ माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले तराई मधेसका जनता सयौँ वर्षदेखि देशभक्त सिपाहीका रुपमा सीमाको रक्षा गर्दै आइरहेको बताउनुभएको छ ।

मोरङको पूर्वी नगरी रङ्गेलीमा आज सो पार्टीको भातृसंस्था युवासङ्घ नेपालद्वारा आयोजित तराई मधेस संवाद तथा जनजागरण कार्यक्रममा उहाँले मधेसमा संविधानको विषयमा भ्रम फैलाइएको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले नागरिकता, प्रदेशको सरकारी कामकाजको भाषालगायतका विषयमा मधेसी समुदायमा मधेसी मोर्चाले भ्रम फैलाएकाले यसलाई चिर्न कार्यकर्र्ता अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री तथा नेकपा (एमाले)का स्थायी समितिका सदस्य सत्यनारायण मण्डलले सिङ्गो मुलुक बन्द हडताल र नाकाबन्दीका कारण छटपटाइरहेको उल्लेख गर्दै जनताको अभिमतबाट संविधान बनेकाले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो ।

नेकपा (एमाले)का स्थायी समितिका सदस्य शङ्कर पोखरेलले नेपाल राष्ट्रको निर्माणमा पहाडी समुदायको जति योगदान छ उतिकै मधेसी समुदायको पनि योगदान रहेको उल्लेख गर्दै उहाँले राष्ट्रको समृद्धिमा जुट्न लागेका बेलामा मधेसी मोर्चाले जनतालाई अलमलाउन लागेको धारणा प्रकट गर्नुभयो ।

युवासङ्घ नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका केन्द्रीय सदस्यद्वय निरुदेवी पाल, जीवन घिमिरे, युवासङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहाडी, सो सङ्घका पूर्वअध्यक्ष महेश बस्नेत, सङ्घका कोसी इन्चार्ज रविन थापा र एमाले मोरङका अध्यक्ष महेश रेग्मीलगायतले जागरण कार्यक्रमबारे मन्तव्य दिनुभएको थियो । रासस