‘एक्सक्युज मी’
मलाईनै पुकारे जस्तै एक महिलाको आवाज । यताउती हेर्दा त्यस्तो केहि देखिएन् । म आफ्नो बाटो लाग्न खोजे ।
‘कता हिँड्न लागेको बोलाउँदा पनि नसुन्ने यार ।’ पछाडीबाट एक युवतीले चपक्क मेरो हात समाती ।
मेरा लागि बिरानो ठाउँ दिल्ली । देख्नेबित्तिकै बोल्ने मेरा त्यस्ता आफन्त छैनन् । त्यसमा केटी । असम्भव ।
पछाडी फर्केर मैले उसलाई हेरे । थेप्चो नाक, चिम्सा आँखा, निलो पाइन्ट, सेतो टिसर्ट लगाएकी, बायाँ काँधमा ह्यान्ड ब्याग बोकेकी एक केटीको दायाँ हातले मेरो हात समातेको थियो ।
‘ओहो, सरी’ मेरो अनुहारमा हेरे पछि उसले मेरो हातबाट आफ्नो हात हटाई ।
‘कसलाई खोज्नु भएको ?’ के भन्ने के नभन्नेकाबीच मैले उसलाई सोध ।
‘कोही हैन,’ उ फछाडी फर्किएर आफ्नो बाटो लागि ।
मैले बोलाउन खोजे । तर आँट आएन । आखिर किन त्यो केटीले मेरो हात समाती ? को केटी हो त्यो ?
हारिद्वार जानु पर्ने मैले ग्रिनपार्क स्टेशनबाट आनन्दबिहार बसपार्कका लागि मेट्रो चढे ।
……………..
‘एक्सक्युज मी’
फेरि उस्तै आवाज । ग्रिनपार्क मेट्रो स्टेशनमा भेटिएकी केटी मेरो सिटको अगाडी उभिएकी थिई ।
‘मेरो झ्यालतिरको सीट हो ।’ पहिले भेट्दाको जस्तै उसको ब्यहोरा । बस एउटा ब्याग थप थियो ।
‘सरी’ भन्दै म ग्यालरी तिरको सीटमा सरे ।
‘हरिद्वार सम्मै हो ?’ साहस बटुलेर मैले सोधे ।
टाउको हल्लाउँदै उसले होको संकेत दिई ।
यात्रुले भरिएको उत्तर प्रदेश परिवहन निगमको वातानुकुलित बसले दिल्लीको आनन्दबिहार बसपार्कबाट हरिद्वारका लागि गति बढायो ।
‘खानु हुन्छ ?’ ह्यान्डब्यागबाट सुन्तलाको दाना निकाल्दै उसले मतिर बढाई ।
बसको ढोकैमा सबैले देखिनेगरि ‘अपरिचित व्यक्तिने दियाहुवा खाना मत खाना’ लेखिएको थियो । तर, उसले दिएको सुन्तला मैले ‘ठुकार्न’ सकिन् ।
‘तपाई नेपाली हो ?’ सुन्तला छोड्याउँदै उसले सोधी । उसको प्रश्न मलाई हाँस उठ्दो लाग्यो । तर हाँसिन । ‘हो, तपाई नी’
‘म त इन्डियन नेपाली हुँ ।’
‘कता बस्नु हुन्छ ?’
‘देहरादुन ।’
‘अनि हरिद्वारको बसमा किन नि ?’
‘हरिद्वार भएर जाने नी !’
‘मलाई त बसमा निद्रा लाग्छ । तपाई अप्ठेरो त मान्नु हुन्न नी,’ गाजियाबाद कटिसकेपछि उसले सोधी ।
‘केहि हुँदैन । तपाई ढुक्कले सुत्न सक्नु हुन्छ,’ मैले भने ।
…………………………
‘कहाँ पुगियो ?’ मेरो काखबाट टाउको उठाउँदै उसले सोधी ।
‘हरिद्वार पुग्दै छौं,’ बस रुड्की कटिसकेकाले मैले मुस्कुराउँदै भने ।
‘ओहो, धेरै सुतेछु’ छरपस्ट भएको आफ्नो कपाल मिलाउँदै उसले भनि, ‘तपाईलाई धेरै दुःख दिए है ।’
‘हैन हैन’ बास्तवमा मैले पनि उसबाट आनन्द लिएको थिए । उसले मेरो काखमा पल्टिदाको आनन्द । मेरो काखमा टाउको राख्दाको आनन्द । अनि बसको झ्यालबाट आउने हावाले उडेर उसका कपाले मेरा होठ छुँदा त आनन्दले सीमैै पार गथ्र्यो ।
एकछिनको मौनतापछि उसले मतिर हात बढाउँदै भनि, ‘आम आयशा थापा’
‘म प्रशान्त’ मैले भने ।
उ खितखिताई, ‘हामीले सँगै दिल्लीदेखि हरिद्वारको यात्रा सक्काउँदै छौं, तर परिचय बल्ल हुँदै छ ।’
जवाफमा म पनि मुस्कुराए ।
‘हरिद्वारमा कति दिनको बसाई हो ?’
‘तीन दिनको’
‘मेरो पनि,’ उसले मुस्कुराउँदै भनि, ‘त्यसो भए हाम्रो फेरि पनि भेट हुन्छ है ।’
‘तपाई चाहानुहुन्छ भने ।’
‘मैले मात्र हैन । तपाइले पनि चाहानुपर्यो’ ओठमा थप मुस्कान थप्दै उसले सोधी, ‘तपाइले यहाँको नम्बर लिनु भएको छ ?’
‘छैन,’ मैले भने ।
‘अनि कसरी भेट्ने त । त्यसो भए म तपापाईलाई एउटा सीमकार्ड दिन्छु । दुरुपयोग नगर्नु ल,’ समस्याको समाधान पनि उसैले गरि ।
‘यहाँबाट जानेदिन मलाई फिर्ता दिनु होला ।’
उसले ‘इयरसेल’ लेखिएको रातो रंगको सीमकार्ड मेरो मोवाईलमा राखिदिई । सँगै आफ्नो नम्बर पनि मेरो मोवाईलको कन्ट्याक्ट लिष्टमा सेभ गरि ।
‘भोली बिहान फोन गर्नु है,’ हरिद्वार बसपार्कमा बसबाट ओर्लिदा उसले भनि ।
हुन्छको संकेतमा मैले टाउको हल्लाए ।
‘मेट्रो स्टेशनको घटनाका लागि सरि ल’ उसले मुस्कुराउँदै मेरो कानमै आएर भनि ।
‘इट्स ओके,’ मैले जवाफ फर्काए ।
अटो रोकाएर उसले ब्याग राखेर बिदा मागी । म पनि अटो लिएर श्यामपुरतिर लागे । अटोले श्यामपुरको गन्तव्य पछ्याइरहेको थियो । मलाई भर्खरै छुट्टिएकी त्यो केटी रहस्मयी लागिरहेकी थिई । सँगै कन्फ्युजमा पनि थिए, भोली बिहान उसलाई फोन गर्ने कि नगर्ने ?
बाँकी अर्काे भागमा….















प्रतिक्रिया